२०८१ श्रावण १२
                           

वडाध्यक्षले नेतृत्व लिन नसक्दा विकासे बजेट फ्रीज

२३ जेठ , सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ९ कदमबासमा वडाध्यक्षले आफ्नो पार्टीको कार्यकर्तालाई समेटेर उपभोक्ता समिति गठन गर्नुपर्ने भन्दै समिति गठन नगरेको स्थानीयले बताएका छन् । यस वडाभित्र संघ प्रदेश र स्थानीय योजनाहरु सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्नुपर्ने भएको हो । तर वडा नेतृत्व गरिरहेका जनप्रतिनिधिले नै विकास निमार्ण कार्यमा पार्टीगत रुपमा हस्तक्षेप देखाइएकाले समस्या भएको हो । यस ९ नं वडामा वडाध्यक्ष नेपाली कांग्रेसका बिमल श्रेष्ठले जितेका हुन् ।

उपभोक्ता समिति गठनका विषयमा नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले भने बारम्बार विवाद नगर्न सुझाव दिदै सहमतिमा जुट्न भनेका थिए । वडाध्यक्षले नेतृत्व लिन नसक्दा उपभोक्ता समिति गठन गर्न नसकिएको स्थानीयले बताउदै आएका छन् ।वडाध्यक्षले आव ७९/८० मा प्रदेशबाट आएको ७० लाख बजेटको खानेपानी योजना उपभोक्ता समिति मार्फत कार्यकर्तालाई जिम्मा लगाउन खोज्दा टेन्डर प्रक्रियामा जान नमाने पछि उपभोक्ता समिति गठन गर्न नसकिएको हो ।

यस वडामा आर्थिक वर्ष ८०/८१ मा पनि जितपुर खानेपानीका लागि प्रदेशबाट १० लाख र नगरपालिकाको दलित संजालको ८ लाख बजेट छुट्याइएको थियो । यी योजनाहरुमा प्राप्त बजेट काम गर्न गराउन नसक्दा फ्रिज भएको छ । उपभोक्ता समितिको अध्यक्ष आफनो पार्टीको फ्लेबर नहुने भएपछि समुदायका केहि ब्यक्तिलाई उक्साएर विवाद निकालेको  वडाध्यक्ष श्रेष्ठलाई आरोप छ ।

यस्तै प्रकृतिका समस्या वडा न २ मा पनि देखिएको छ ।नगरपालिकाबाट प्रकाशित सूचनामा उल्लेख भए बमोजिम वडा कार्यलयमा आवश्यक सिफारिस वा कागजात लिन जादा सेवाग्राहीलाई अभद्र ब्यवहार गर्ने गरेको स्थानिय कृष्ण श्रेष्ठले बताए । फरक विचारधारा वा फरक पार्टीमा आस्था राखेका कारण नकारात्मक ब्यवहार गरेको समेत स्थानिय कृष्ण श्रेष्ठको आरोप छ ।

यस २ नं वडाका जनप्रतिनिधिले नेतृत्व लिन नसक्दा खानेपानी योजनाका लागी परेका बजेट राज्यकै कोषमा फिर्ता गएको पाइएको छ । गत आ.व.७८/७९ मा भोटेफुल्पिङ कटुन्जे बेसिको खानेपानी योजनाका लागि ५० लाख बराबरको बजेट फ्रिज भएको थियो ।उपभोक्ता समितिमा आफ्नो कार्यकता राख्न नमिल्ने वातावरण हुने वित्तिकै समिति नै गठन नगर्ने र गाउँमा आएका विभिन्न योजनाका बजेट फिर्ता गएको विडम्बना रहेको स्थानीयको गुनासो छ । विभिन्न बाहनामा वडाको विकास पछि परेको भन्दै विकास प्रेमी वडाबासी चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्