२०८१ श्रावण १२
                           

संसदमा उठ्यो किसानले दुधको मुल्य नपाएको विषय

१० फागुन, काठमाडौं । लामो समयदेखि दुग्ध किसानले भुक्तानी नपाएको विषयले संसदमा प्रवेश पाएको छ । देश भरका किसानले दुध बेचेको पैसा नपाएको गुनासो गरिरहेका बेला बिहिबार संघीय संसद, प्रतिनिधि सभामा यो विषय उठान भएको हो । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा सुवोधले दुग्ध उत्पादक किसानको समस्या समाधानमा आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षग गराएका हुन ।

बैठकको शुन्य समयमा धारणा राख्दै सांसद सापकोटाले दुध बेचेर जिविकोपार्जन गर्ने किसानहरुले भदौदेखि भुक्तानी नपाएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराए । यस विषयमा सरकारले वेलैमा ध्यान दिनुपर्ने उनको भनाई छ । सांसद सापकोटाले २ हजार दुग्ध उत्पादक सहकारी, ३० हजार रोजगारदाता तथा ५ लाख घरधुरी प्रत्यक्ष लाभान्वित भएको तर किसानहरुले दुध बेचेवापत पाउनुपर्ने रकम डिडिसीले नदिएपछि गम्भिर मारमा परेको बताए । उनले भने, “सडकमा हाल दुध मात्र पोखिएका छन्, सर्वसाधारणको जनआक्रोश पोखियो भने सरकारले यसलाई थेग्न सक्दैन, त्यसैले वेलैमा ध्यानाकर्षित गर्न चाहन्छु ।”

यसैबिच सांसद सापकोटाले मंगलबार सिन्धुपाल्चोकको घुम्थाङबाट बाह्रबिसे जाने क्रममा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सो घटनाका घाइतेहरुको उचित स्वास्थ्य उपचारका लागि सरकारसमक्ष माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्