२०८१ श्रावण १२
                           

सांसद सापकोटाद्वारा जुगलको बिकट गुम्बा गाउँमा विद्युतीकरण उद्घाटन

१९ मंसिर, गुम्बा । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकास्थित बिकट गुम्बा गाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधि सभा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता माधव सापकोटा ‘सुबोध’ले मंगलबार विद्युतीकरण उद्घाटन गरेका हुन् । सांसद सापकोटाले गुम्बा गाउँमा आयोजित कार्यक्रममा विजुली बालेर कार्यक्रम सुभारम्भ गरे ।

गत बर्ष सुरु विद्युतीकरण कार्यक्रममार्फत जुगलका लेकाली गाउँहरु अम्बाखर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली बलेको छ । निवर्तमान सभामुख, माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटा र प्रतिनिधिसभा सदस्य माधब सापकोटाको बिशेष पहलमा जुगल गाउँपालिका ३ ( साबिकको गुम्बा गा. वि. स. ) को गुम्बा, क्याङसिङ र अम्बाखर्कमा बिजुली बलेपछि स्थानीय खुसी भएका छन् ।

जनप्रतिनिधि नहुँदै जुगल हिमाल आरोहणमा सहभागी भएका सापकोटाले सो क्षेत्रमा बिजुली बाल्ने प्रतिवद्धता चुनावताका गरेका थिए । सांसद भएको एक बर्षमा विजुली बाल्ने कार्यक्रम सुरु गर्न मंगलबार गुम्बामा रहेका सापकोटा सोमबारै हिमाली गाउँ तेम्बाथान पुगेका थिए । सांसद सापकोटालाई विद्युतीकरण सुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष रेशम स्याङबो, विद्युत प्राधिकरण लामोसाँघु वितरण केन्द्रका प्रमुख दिपक सापकोटा, माओवादीका जुगल गाउँपालिका अध्यक्ष इश्वर गुभाजु,पदम श्रेष्ठलगायतले साथ दिएका थिए ।

माथिल्लो भेगका गाउँहरु तेम्बाथान, दीपु र तेगामा विद्युतीकरणका लागि प्रसारण लाईन निर्माणको काम भइरहेको छ । यहि रफ्तारमा काम हुँदा आगामी बैशाखसम्म बाँकी तीनवटै गाउँमा बत्ति बल्ने गाउँपालिका अध्यक्ष स्याङबोले बताए । चर्चीत जुगल पर्यटकीय क्षेत्र हिमाल जाने बाबाखर्क, क्याङसिङ र गुम्बामा बिजुली बत्ति बलेपछि पर्यटकलाई समेत सजिलो हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्