२०८१ जेष्ठ २०

वागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयमा शक्ति र पैसाको चलखेल, बरिष्ठलाई थन्क्याएर कनिष्ठलाई जिम्मेवारी

मकवानपुर÷ बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले बरिष्ठ कर्मचारीहरुलाई थन्क्याएर कनिष्ठ कर्मचारीहरुलाई राजनीतिक आश्था र लाभका आधारमा जिम्मेवारी दिने गरी तयार गरेको प्रस्ताव मुख्यमन्त्री कार्यालयले फर्काएको छ । विगत दुई वर्ष देखि पहुँच र शक्तिका आधारमा प्रदेशको राजधानी रहेको मकवानपुर जिल्ला देखि अन्य थप तीनवटा जिल्ला निमित्तका भरमा चलिरहेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत खटाउने कानुनी ब्यवस्था प्रदेश वन तथा वातावरण मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रहेको छ । योग्यता पुगेका नवौ ंर दशौं तहका कर्मचारी हुँदा हुँदै तिनलाइ मन्त्रालय र निर्देशनालयमा थन्काएर प्रदेश राजधानी समेत रहेको मकवानपुर जिल्लामा समेत निमित्त डिभिजन वन कार्यालय प्रमुख राखिएको छ । योग्यता पुगेका कर्मचारी हुँदा हुँदै रसुवा र ललितपुरमा २ वर्ष भन्दा बढी देखि निमित्त डिभिजन वन कार्यालय प्रमुख राखिएको छ ।सिन्धुपाल्चोक डिभिजन वन कार्यालयमा समेत २ महिनासम्म कार्यालय प्रमुख रिक्त राखिएको छ ।

प्रदेश मन्त्रालयले नै तय गरेको नियम र पद्दती विपरित विगत २ वर्षदेखि ललितपुरमा निमित्त बनाईएका कनिष्ठ वन अधिकृत रामकुमार भण्डारीलाइ पुनः सिन्धुपाल्चोकमा निमित्त र कायम मुकायम डिभिजन वन कार्यालय प्रमुख बनाई पठाउने सिफारिस गरिएको छ । भण्डारीलाई निमित्तबाट निमित्तमा लैजान प्रदेश सरकारलाइ के बिछट्ट पर्न गयो ? वन तथा वातावरण मन्त्रालयकै कर्मचारीहरु समेत अचम्ममा परेको श्रोतले बतायो । वन तथा वातावरण मन्त्री मसिना खड्काका समस्या र चासोका बारेमा जानकारी लिन गरिएको ९८५१०९०१२१ मोवाईल नम्वर मन्त्री खड्काले उठाईनन । त्यस्तै सचिव धिरेन्द्र प्रधानले फोन काटिदिए ।

प्रवक्ता कृष्णबहादुर थापाका अनुसार शुरुमा संघबाट प्रदेशमा गएको कार्यालयमा कर्मचारी अपुग भएकाले निमित्त दिईएको हो । पछि कर्मचारीहरुको समायोजन, बढुवा, अवकाश भएका कारण बागमती प्रदेशका १३ वटै जिल्लामा प्रमुख बनाउन मिल्ने योग्यता भएका कर्मचारीहरुको संख्या भए पनि निमित्त दिनुको कारणबारे आफुलाई जानकारी नभएको बताए । ‘जिल्लामा रहेका डिभिजन वन कार्यालयहरुमा डिभिजनल अधिकृहरु वन तथा वातावरण मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री कार्यालयले खटाउने कानूनी ब्यवस्था छ’–प्रवक्ता थापाले भने–‘मन्त्रालयले जे सिफारिस ग¥यो मुख्यमन्त्री कार्यालयले त्यहि आधारमा नियुक्ति गर्ने हो । मन्त्रालयमा के समस्या प¥यो वा कसरी त्यस्तो सिफारिस भयो जानकारी छैन ।’

भाषण गर्दा वा कार्यक्रमहरुमा वन तथा वातावरण मन्त्री मसिना खड्का र सचिव प्रधानले राईट म्यान ईन राईट प्लेस र शुसानको अभ्यास शुरु गरेको बताउँदै आएका छन् । राजनीतिक दलमा नलागीकन जनतालाइ सेवा प्रवाह गर्नुपर्ने कर्मचारीहरुलाई राजनीतिक पार्टीको झोले बनाउने गरी मन्त्री र सचिव, मन्त्रालय तथा मुख्यमन्त्रीको कार्यालयले समेत बाध्य बनाए पछि वन तथा वातावरण मन्त्रालयका कर्मचारीहरु रिसले आगो भएका छन् ।

पैसाको विटो बुझाउने र राजनीतिक आस्थाका आधारमा जिम्मेवारी दिने निर्णयलाई मुख्यमन्त्री कार्यालयले रोक्नु पर्ने कर्मचारी संगठनका नेताहरुले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघले वन मन्त्रालयका कारण विभिन्न जिल्लामा समस्या देखिएको बताएको छ ।madanibeat.com 

प्रतिक्रिया दिनुहोस्