२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघकाे आसन्न अधिवेशन – काे-काे हुन् अध्यक्षका दाबेदार ?

चौतारा/ व्यापारी, व्यवसायी र उद्यमी संलग्न संस्था सिन्धुपाल्चोक उद्योग वाणिज्य संघकाे एघारौं अधिवेशन आउन डेड महिनामात्रै बाँकी छ । चैत ९ र १० गतेका लागि अधिवेशन ताेकिएकाे छ । संघकाे नेतृत्व लिन सतहमा हालसम्म तीन हस्ती देखापरेका छन् । आगामी नेतृत्वको लागि उनीहरुले आन्तरिक रुपमा तयारी गरेकाे पनि पाइएको छ । सबैले २८ ओं वार्षिक साधारणसभामा आ-आफ्नो एजेन्डा प्रस्तुत गर्ने तयारी गरेका छन् ।

वर्तमान अध्यक्ष राजकुमार बस्नेतले नदाेहाेर्याउने लगभग निश्चित भएपछि तीन हस्ती सतहमा देखिएका हुन् । मित्रराष्ट्र चीनबाट व्यापार गर्ने आयातकर्ता सुपरिचित व्यापारीहरुले अध्यक्षकाे दाबी गरेका हुन् । संघको सल्लाहकार समितिमा सह- सभापतिकाे भूमिकामा रहेका बुद्धराज बस्नेतले नेतृत्वमा आउने तयारी थालेका छन् । उनलाई अध्यक्ष राजकुमार बस्नेतकाे साथ रहने दाबी गरिएको छ । बुद्धराज व्यापारीमाझ लाेकप्रिय र मिलनसार पात्र हुन् । नवाैँ अधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित बस्नेतका लागि याे सुनाैलाे अवसर हाे । त्यसैगरी नरम बाेलीका धनी व्यवसायी शम्भु तिमल्सिनाले नेतृत्वमा आउन रुचि राखेका छन् । तिमल्सिना संघको महासचिव छन् । यता चीनबाट लामाे समयदेखि व्यापार गर्दै आएका अमृत कार्की पनि अध्यक्षका दाबेदार हुन् । उनी हाल संघको द्वितीय उपाध्यक्ष छन् । कार्कीलाई संघको निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले साथ दिने दाबी गरिएको छ । हामी सकभर सर्वसम्मत नेतृत्व बनाएर अगाडि जान्छौं , अध्यक्ष बस्नेतले भने, नेतृत्व लिन धेरै साथीहरू सक्षम भएकोले लाेकतान्त्रिक विधिबाट नेतृत्व आउने हुनसक्छ । कामकाे बाेझले गर्दा आफै चाहिँ दाेहाेरिन नचाहेको उनले प्रष्ट्याए ।

वरिष्ठ उपाध्यक्ष रामकाजी पाैडेल नेपालमा छैनन् । प्रथम उपाध्यक्ष उमेश कसजू हाइड्रोपावर व्यवसायी भएकोले नेतृत्वका लागि समय नपुग्नसक्छ । तृतीय उपाध्यक्ष सूर्यबहादुर कार्की प्रथम वा द्वितीय उपाध्यक्षका लागि तयारी गरेको बुझिएको छ । मानार्थ उपाध्यक्षद्वय जगन्नाथ चालिसे र दीलिपराज गिरीले लिन खाेजेकाे नेतृत्व के हाे भन्नेबारे हालसम्म सतहमा आएको छैन । महासचिवका लागि हालका सचिव ईश्वर गुभाजूले दाबी गर्ने स्राेतकाे दाबी छ । पछिल्लो समय व्यापारमा सक्रिय गुभाजू समाजसेवामा पनि क्रियाशील छन् । नेतृत्व सर्वसम्मत नहुँदा गुभाजु पनि अध्यक्ष लड्ने दाउमा छन् । त्यसैगरी वर्तमान काेषाध्यक्ष उमेश प्रधानले उपाध्यक्षमा दाबी गर्ने बताइएको छ । सह-काेषाध्यक्ष विचारी पराजुली सचिव बनेर नेतृत्व सम्हाल्न चाहन्छन् । व्यापारी र व्यवसायीबीच सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ हाँक्ने नयाँ नेतृत्वका लागि गरम बहस जारी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्