२०८१ श्रावण १२
                           

चौतारा नगरस्तरीय फुटबल प्रतियोगिताको नगरप्रमुख सापकोटाद्वारा उद्घाटन 

माघ १८, चौतारा–  दोस्रो चौतारा स्पोर्टिङ्ग क्लव नगरस्तरीय मावि ७ ए साइड फुटबल प्रतियोगिता विहिबार आजबाट सुरु भएको छ । प्रतियोगिताको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले खेल क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाले हासिल गरेको सफलता प्रति कृतज्ञता ब्यक्त गर्दै खेल सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।  प्रतियोगीताको पहिलो उद्घाटन खेल ज्ञान मन्दिर मावि र कदामबास मावि बिचको सम्पन्न भयो । ज्ञान मन्दिरले लगातार ४ गोल गर्दा कदामबास माविले खाता खोल्न सकेन ।  प्रतियोगितामा १४ वटा माध्यामिक विद्यालयहरुले सहभागीता जनाएका छन् ।

चौतारा स्पोर्टिङ्ग क्लवका आयोजनामा आज बिहीबारदेखि सदरमुकाम चौताराको मिनि रंगशालामा प्रतियोगिता सुरु भएको हो। यो प्रतियोगिता माघ २० गते  शनिबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता विद्यालयले उपाधिसहित नगद पुरस्कार ३० हजार रुपैयाँ जित्ने छ । उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार हात पार्ने छ ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारमा ट्रफी प्रदान गरिने आयोजक चौतारा स्पोर्टिङ्गले जनाएको छ ।

युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले चौतारा स्पोर्टिङ्गले गत वर्षदेखि चौतारा नगरपालिका स्तरीय यो प्रतियोगिता आयोजना गरिएको आयोजक चौतारा स्पोर्टिङ्गका राकेश रानाले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्