२०८१ श्रावण १२
                           

तेम्बाथाङमा होमस्टे सञ्चाल सम्बन्धी तालिम सम्पन्न

 

काठमाडौंबाट नजिकको जुगल हिमालको काखमा रहेको विभिन्न पर्यटकीय स्थलहरूको पर्यटन प्रबर्द्धन गर्ने र पर्यटकीय मार्ग निर्माण गरि समृद्ध जुगलको आधार तय गर्नका लागि जुगल गाउँपालिकाको आयोजनामा जुगल गाउँपालिका र जिविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन परियोजना (STLRP)अन्तर्गत होमस्टे ( घरबास) अभिमुखीकरण तथा आतिथ्यता तालिम वडा नं. ३ को तेम्बाथाङमा सम्पन्न भएको छ।

माघ १० गतेबाट १४ गतेसम्म सञ्चालित तालिमको समापन कार्यक्रम नेकपा माओवादी केन्द्र को बाग्मती प्रदेश अध्यक्ष तथा बाग्मती प्रदेशसभा सदस्य माननीय सरल सहयात्री पौडेल र जुगल गाउँपालिकाको अध्यक्ष रेशम स्याङ्बो उपस्थितिमा समापन भएको छ।

होमस्टे सम्बन्धि तालिममा गुम्बाथाङ, तेम्बाथाङ, दिपु, तेगा लगायत गाउँबाट करिब ३५ जनाको तालिममा सक्रिय सहभागीता रहेको जुगल गाउँपालिकाको पर्यटन प्रबर्द्धनको अभियन्ता तथा जुगल गाउँपालिका पर्यटन समितिकाे अध्यक्ष होमस्टे सञ्चालन तालिमको समन्वयकर्ता मिलन तामाङले जानकारी दिनुभयो।

होमस्टे महासंघ नेपालको संस्थापक अध्यक्ष भिम केसी, होमस्टे महासंघ नेपालको कोषाध्यक्ष सुरज बास्तोला र होमस्टे महासंघ बाग्मति प्रदेश सदस्य मनिषा श्रेष्ठ को सहजीकरणमा तालिमको सञ्चालन भएको थियो । तालिमबाट होमस्टे सञ्चालन गर्नका लागि स्थानीय स्तरबाट उत्पादन भएको र बाहिर बाट आयात गर्नुपर्ने खाद्य वस्तुबाट २६ परिकारका खानाहरूको प्रयोगात्मक रूपमा सिकाइ भएको छ।

२०७४ साल माघ २२ गते हिमालयन जाभा बौद्धमा जुगल पर्यटन प्रबर्द्धनको अभियन्ता मिलन तामाङको समन्वयमा तत्कालीन माननीयद्वय युवराज दुलाल, निमा लामा, नेकपा (माओवादी केन्द्र)को युवा नेता तथा सगरमाथा आरोही सरल सहयात्री पौडेल र सगरमाथा आरोहि माया गुरूङ बसेर जुगल हिमाल आरोहणको बारेमा र जुगल क्षेत्रको पर्यटन प्रबर्द्धनकाे लागि गरेको छलफल कै मार्गबाट यो सुरूवात भएको पर्यटन प्रबर्द्धनकाे अभियन्ता मिलन तामाङले बताउनुभयो।

माननीय सरल सहयात्री पौडेल ज्युले जुगल गाउँपालिकाको सबैभन्दा बढी सम्भावनाको क्षेत्र पर्यटन रहेकोले जुगल हिमालको बेसक्याम्प सम्म सहज आवतजावत गर्ने पदमार्ग निर्माण गर्ने, बाग्मती प्रदेशबाट यश क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि दिर्घकालिन योजना नै निर्माण गरि काम गर्नेगरी लाग्नका लागी आफू प्रतिबद्ध रहेको र सिन्धुपाल्चोकको पर्यटन प्रबर्द्धनका लागि भैरवकुण्ड, जुगल बेस क्याम्प, पाँचपोखरी लगायत पर्यटकीय क्षेत्रमा पदमार्ग तयार गरेर दिगो पर्यटकीय विकासलाई जोड्नुपर्ने बताउनुभयो।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो ज्युले स्थानीय सरकारको सबैभन्दा बढी प्राथमिकता पर्यटन विकासमा रहेको र सँगसँगै अन्य विकासका क्रियाकलाप लैजान गाउँपालिकाले काम गरिरहेको बताउनुभयो। तेम्बाथाङ माथिका वस्तीको शिक्षा र स्वास्थका लागि गाउँपालिकाले काम गरिरहेकाेमा आगामी दिनमा आधारभुत तहको शिक्षा र बर्थिङ सेन्टर सहितको स्वास्थ सुविधा यसै बर्षबाट सुरू गर्ने बताउनुभयो।

यस क्षेत्रमा रहेको स्याबलपोखरी, पेमाछल, नेपेमछल , जुगल बेस क्याम्प लगायतको क्षेत्रको विकास गर्दा समग्र जुगलको विकासमा टेवा पुग्ने र दिगो रूपमा पर्यटकिय गन्तव्य रूपमा जुगल बेस क्याम्प बन्नेगरि क्रमश पुर्वाधार विकासका काम गर्ने माननीय सरल सहयात्री पौडेल बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्