२०८० फाल्गुन १४

जसले जे भने पनि पत्याइदिने भयौं है हामी

 

जाजरकोटतिर भूकम्प गयो । भूकम्पपीडित चिसोका कारण मृत्युवरण गर्न बाध्य छन् । मानवीय समवेदना पनि भुत्ते भएकै हो त ? हैन भने किन छुँदैन यस्ता घटनाले ? वैदेशिक रोजगारका लागि बिदेसिनेहरूको लर्को दिनानुदिन चर्को बन्दै गएको छ । सरकार रोजगार सिर्जना गर्नुभन्दा पनि रेमिट्यान्सको रंगिन सपना बुन्दै चिरनिद्रामा मस्त छ । नक्कली भुटानी शरणार्थीको फायल खोलेर वाहवाही कमाएका गृहमन्त्री सुन काण्डपछि आफैँ सुनसान भएर कता हराए कुन्नि ? ‘हुने मात्र भए अन्दाजी वर्ष ६५ को अविवाहित एकल पुरुष सिंहदरबारमा गृह मन्त्रालयबाट हराएको हुँदा कतै भेटिए नजिकको प्रहरी कार्यालय वा सिंहदरबारमा बुझाइदिनुहोला’ भनेर कुनै पत्रिकाले सूचना जारी गर्दा पनि फरक नपर्ने भइसक्यो । सडकमा सरकार छैन । सदनमा प्रतिपक्ष छैन । भइहाले पनि पाखुरा सुक्र्याउनेभन्दा अरु गतिविधि देखिँदैन । अहिले त झन ‘बेला न कुबेला बजिनएला’ भन्ने नेपाल भाषाको उखानजस्तै संकल्प यात्रा देश दौडाहमा निस्केको छ । यो दौडाहाले न त जनताको मुखमा दूध पर्नेछ, न त दही नै !

एउटा अर्को झुण्ड छ कार्यकर्ता नाउँ गरेका अन्धभक्तहरूको । सबैभन्दा खत्तम र खराब । आफ्ना नेताको पादलाई अत्तर भनेर हिँड्ने यो जातका कारण पनि नेताहरूमा कहिल्यै चेत आउन सकेन । अझ दुर्भाग्यको कुरा त राम्रा नेता पनि यिनै खत्तम कार्यकर्ताको दवाव र प्रभावको खोंचमा परेर खोरण्डे बन्दै गएका छन् । नयाँ भनिएका दलका कार्यकर्ता झन् यो रोग र महारोगबाट कहाँ अछुतो छन् र ? सिंहदरबार आगो लगाइदिन्छु भन्दा ठीक–ठीक भन्दै पर्रर ताली ठोक्ने ठेउकाहरूको पनि मुलुकमा कमी छैन ।

चोरमाथि चक्कर लगाउँदै अर्को एउटा चोर फेरि पनि राजनीतिक वृत्तमा देखिएको छ । मार्सी चामलले बनाएको बियर कारखाना खोलेर सामाजिक सञ्जालमा अरुमाथि मनोमानी आरोप लगाउँदै हिँड्ने पात्र । एकातिर राजतन्त्र फर्काउने र अर्कोतिर ऋणीहरूको ऋण मिनाहा गरिदिने भन्दै भाषण फलाक्दै हिँड्ने । मानौँ उनी २१ औं शताव्दीको शंखधर साख्वा नै हुन् जसले रातारात ऋणमोचन गरिदिन्छन् जस्तो ।

उफ उदेकलाग्दो त यस्तैका पछि लागेका छन् मान्छेहरू । सोच्दा र देख्ता पनि रिंगटा नै लागेर आउँछ । हैन बेबकुफ पनि कति बन्न सक्छन् हो नेपाली जनता ? जसले जेभन्दा पनि पत्याइदिने, हुरुक्कै भइदिने । कुनै बेला सर्वमान्य नेता भनेर चिनिएका स्व. गणेशमान सिंहले भनेका थिए, नेपाली जनता भेडा हुन् भनेर । भलै त्यो कालमा उनले काठमाडौंको जनतालाई लक्षित गर्दै भनेका थिए तर अहिलेको माहोल हेर्ने हो भने सबै नेपाली भेडा, सबै भेडा नेपाली भएको तीतो यथार्थता स्वीकार गर्नु नै पर्ने हुन्छ । बरा जनतालाई पनि के भन्नु र ? ०४८ सालमा कांग्रेसले केही गर्ला कि भनेर ठूलो भयस् भनी आशीर्वाद दिए । लास्टमा कांग्रेस त बिग्रेस् भन्न बाध्य बनाए ।

त्यसपछि एमाले जिन्दावाद भन्दै ज्यान फालेर हिँडे । उल्टो जनतालाई थाङ्नामा सुताए । दश वर्ष युद्ध लडेर मुलुकमा युगान्तकारी परिवर्तन ल्याउँछ कि भनेर फेरि माओवादीलाई ठूलो दल बनाइदिए । मुलुकलाई झन् दलदलमा फसाए । पुराना दलबाट वाक्क, दिक्क, हाक्क, थुक्क अनि प्याक्क भएका जनताले हेरौं न त भनेर नयाँ भनिएका रास्वपालाई ठिक्कको मत दिए । अहिले त्यसबाट पनि जनता दिक्क हुन थाले । घण्टी–घण्टी भनेर घण्टी बजाएका जनताले आफूले बजाएको घण्टीको आवाज प्रतिदिन बेसुरा बन्दै उही पुरानै दलकै लय र तालमा कथक नाच्न थालेपछि अहिले घण्टी बजाउने जनताले घण्टीलाई पनि घाँडो ठान्न थालेका छन् । घण्टागाउँको मुखियाको मनोमौजीले अहिले रास्वपाले पनि जनताको आकांक्षामाथि लोप्पा खुवाइदिने छाँट देखिँदै छ ।

यतै भद्रगोल, उतै भद्रगोल, जताततै भद्रगोल । भद्रगोलकै बीचमा गोल हुन्छ भन्थे, तर ‘यो त सब भन्ने कुरा हो’ भन्ने गीत मात्र जस्तो भएको छ । हैन भने प्रजातन्त्र पुनःस्थापना भएको देखि अहिलेसम्मको ३४ वर्षभित्र किन केही नाप्न सकेनन् ? भद्रगोलको बीचमा गोल गर्ने, कोही माइकालाल किन जन्मिन सकेन ? गोल गर्ला–गर्लाजस्तो गर्ने लाष्टमा म्याच फिक्सिङ गरेर आफ्नै पोष्टमा आत्मघाती गोल किन हान्छन् यी नेताले ? प्रश्न बग्रेल्ती छन् । जनताले प्रश्न सोधिरहेका छन् तर नाजवाफ छन् नेताहरू । तेस्रोपटक प्रचण्ड प्रधानमन्त्री भएपछि थोरै आशा पलाएको थियो । तर, पहिलो पार्टीबाट तेस्रो भएर लगातार ओह्रालो यात्रामा रहेर पनि प्रचण्डले पाठ सिक्न नसकेपछि अब केही लछारपाटो लाग्दैन भन्ने प्रष्ट भइसक्यो । भुरेटाकुर पार्टीहरूको चालढाल पनि बेहाल । दलहरूप्रतिको विश्वास प्रतिदिन घट्दो छ । नैराश्यताको बादल मडारिएको छ ।

यसैको फाइदा उठाएर यतिखेर राजावादीहरू धमिलो पानीमा माछा मार्न खोज्दै छन् । एउटा जाबो दुर्गा प्रसाईंसँग सिंगो राज्य तर्संदै छ । राजा आऊ देश बचाउ भन्नेहरूको लर्को प्रतिदिन बढ्दो छ । यो हाम्रै कारणले गर्दा हो भन्ने नेताहरूमा न आत्मग्लानि छ, न आत्मसमीक्षा, न त चेत नै । बरु उल्टै प्रसाईंको आन्दोलन तुहिएको भन्दै दिल्लगी गर्नमा व्यस्त छन् । भलै प्रसाईंको आन्दोलन आगो भएर दन्किन सकेन तर हेक्टरका हेक्टर जंगल सखाप पार्न मशालको जरुरत पर्दैन ।

एक काँटी सलाई भए पनि काफी हुन्छ । प्रसाईंको आन्दोलन अहिलेलाई एक काँटी सलार्ईजस्तै भएको छ र कुनै बेला डडेलो बनेर सल्कन सक्छ । त्यतिखेर न्याउरी मारी पछुतो गर्नुको कुनै तुक रहनेवाला छैन । इतिहास साक्षी छ राणाशासन सखाप पार्नका लागि प्रारम्भमै लखन थापाको विद्रोह फगत एक काँटी सलार्ई थियो र कालान्तरमा राणा शासन ध्वस्त भएरै छोड्यो । समय अहिले त्यो १९ औं शताब्दीको पनि हैन ।

विज्ञान र प्रविधिको युग छ । त्यसैले पनि एउटा व्यवस्थालाई बलि चढाउन हिजोजस्तै १०४ वा तीसौं वर्ष लाग्ने छैन । खराब ऋणी दुर्गा प्रसाईंको पछाडि त हजाराँै मान्छे ओहिरिन्छन् भने कल्पना गरौं यो व्यवस्था साँच्चिकै ढाल्ने हो भने के त्यति नै समय लाग्ला ? त्यसैले पनि राजनीतिको यो राउण्डमा यतिखेरका दल र तिनका नेता डेञ्जर जोनमा परेका छन् । जनता जज भएर चर्तिकला हेर्दै छन् ।

 

प्रतिक्रिया दिनुहोस्