२०८३ जेष्ठ ३१

विश्व रक्तदाता दिवस २०२६ को अवसरमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व रक्तदाता दिवस २०२६ को अवसरमा ब्लड डोनर्स एसोसिएसन नेपालद्वारा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
विश्व रक्तदाता दिवसलाई भव्य तथा प्रभावकारी रूपमा मनाउने उद्देश्यका साथ संस्थाले एक सातादेखि देशव्यापी रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जनचेतनामूलक अभियान, चित्रकला प्रतियोगिता, साइकल र्याली, रक्तदान कार्यक्रम लगायत रक्तदानको महत्व तथा सुरक्षित रगतको आवश्यकताबारे सचेतना अभिवृद्धि गर्ने विविध गतिविधिहरू आयोजना गरिएका थिए ।
जुन १४ अर्थात् विश्व रक्तदाता दिवसका अवसरमा आयोजित मूल समारोह ब्लड डोनर्स एसोसिएसन नेपालका अध्यक्ष तथा विश्व रक्तदाता दिवस मूल समारोह आयोजक समितिका अध्यक्ष राजेश काजी श्रेष्ठको सभापतित्वमा काठमाडौंमा सम्पन्न भएको थियो । कार्यक्रममा रक्तदान तथा रक्तसञ्चार सेवाको क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व, सामाजिक अभियन्ता तथा संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


समारोहमा नियमित रूपमा रक्तदान गर्दै आएका रक्तदाता तथा रक्तदान अभियानलाई निरन्तर सहयोग पुर्‍याउँदै आएका विभिन्न व्यक्ति र संस्थाहरूलाई सम्मान, कदर तथा धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले रक्तदानलाई मानव सेवाको उत्कृष्ट उदाहरणका रूपमा उल्लेख गर्दै सुरक्षित रगतको सुनिश्चितताका लागि सबै नागरिकलाई स्वेच्छिक रक्तदानमा सहभागी हुन आग्रह गरेका थिए ।
कार्यक्रममा रक्तदान अभियानलाई अझ प्रभावकारी, व्यवस्थित र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि जनचेतनामूलक तथा रक्तदान प्रवर्द्धनका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्