२०८१ आश्विन २
                           

बुवाको मुख हेर्ने दिनको अवसरमा माओवादी केन्द्रद्वारा वृद्धवृद्धासँग भेटघाट 

अशोक पराजुली/सुकुटे

कुशे औंशी (बुवाको मुख हेर्ने दिन) को अवसरमा नेकपा ( माओवादी केन्द्र ) चौतारा साँगाचोकगढी १० नम्बर वडा कमिटीले आफ्नो पार्टी अभियानलाई भिन्न ढङ्गले जनतासँग जोडेर अभियान अगाडि बढाएको छ ।

कुशे औंशी (बुवाको मुख हेर्ने दिन) को अवसरमा वडा कमिटीले वडा भित्रका झन्डै २ सय जेष्ठ नागरिकसँग प्रत्येक्ष भेटघाट गरेर जेष्ठ नागरिकहरुलाई मिठाइ तथा शिरमा टोपी पहिर्याएर सम्मान सहित भेटघाट गरेको हो ।

माओवादी केन्द्रको अभियान टोली आज बुवाको मुख हेर्ने दिन आफ्नै घर आँगनमा आएर भेटघाट गर्दा कतिपय वृद्धवृद्धाले आफ्नै छोराछोरी भेट्न आएको अनुभुति भएको भन्दै भक्कानिएर रोएका थिए । “आज औंशि आफ्ना छोराछोरी फर्केर आएनन् तर तपाईंहरू यति धेरै जना मलाई भेट्न आउनु भो,म धेरै खुशी भए ।” जल्केनीका एक वृद्धले आँखाबाट आँसु झार्दै खुशीको अनुभुति व्यक्त गरे । अभियानबाट धेरै वृद्धवृद्धा प्रभावित भएको र खुशी भएको अभियन्ता गोविन्द पाठकले आफ्नो अनुभुति सुनाए ।

पार्टीको वडा कमिटीले पार्टी अभियानलाई साँस्कृतिक पर्बहरुसँग पनि जोड्ने र वृद्धवृद्धाको सम्मान पनि हुने हिसाबले कार्यक्रम बनाएकोले यो कार्यक्रम सामाजिक रुपमा निकै नै महत्त्वपूर्ण र सन्देशमुलक भएको माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा नगरको अभियान संयोजक गंगा पराजुलीले बताइन् । उनले “आज बुवाको मुख हेर्ने दिन भन्ने चलन छ । त्यसैले हामीले पार्टी अभियान अन्तर्गत आज झन्डै २ सय हाम्रा अभिभावक बुवा आमा सँग भेटघाट साक्षात्कार गर्ने अवसर मिल्यो । वृद्ध बुवा आमा सँग भेटघाट गर्न पाउँदा छुट्टै आनन्दको अनुभुति हुने रहेछ । ”

अभियान अन्तर्गत वडा भित्रका सुकुटे, साठिमुरे, कार्किटार, खत्रीथोक, जल्केनी, हर्रे र देउराली लगाएत गाउँका वृद्धवृद्धालाई सम्बन्धित ठाउँमा नै गएर भेटघाट गरिएको वडा पार्टीका अभियान संयोजक दधिराम पराजुलीले बताए ।

माओवादी केन्द्रले भदौ १६ गतेदेखि मङ्सिर १५ गतेसम्म पार्टीको ३ महिने “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” जनजनमा माओवादी,घरघरमा माओवादी अभियान अगाडि बढाएको छ । अभियान अन्तर्गत देशभर माओवादी केन्द्रका विविध कार्यक्रमहरु संचालन भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्