२०३६ सालमा साँगाचोकको रानाथोकमा जन्मेका पूर्णबहादुर नेपालीले विद्यालयमा आधारभूत शिक्षा पनि लिएनन् । तत् समयको राज्य व्यवस्था, कथित जातीय दलन अनि अभिभावकको चेतनाको लैश एवम् आर्थिक दुरावस्थाको कारणले हुनसक्छ उनी विद्यालय र क्याम्पस पसेनन् ।
बालपनमा बाबुको बालीघरेको साक्षी भइरहे, दीक्षित भए । आमालाई बस्तुभाउमा हेरालु, सहकर्मी भइरहे । भएको थोरै बारी र बारी मानककै भलबाढी आउँदा मात्र रोप्न सकिने टारी खेतमा बाउसे गर्दा गर्दै उनको विवाह भयो । क्रमशः ४ सन्तान र पत्नीको दायित्वले उनलाई स्वदेशमा बसिरहन दिएन । उनी परदेशमा मजदुर हुन पुगे मलेसिया ।
तर दैवको खेला । उनी मलेसियामा हाडछाला घोटिरहे र घरमा बालबच्चा पत्नीका लागि कमाई पठाइरहे । यता पत्नीले घा गरिन् । उनी ४ सन्तान छाडेर अन्तै हिँडिन । घर आउँदा ६ वर्ष मलेसियाको बसाइको कमाइ उल्टो तीन लाख ऋण रह्यो । उनी देश आए । माऊलाई चीलले लगेपछि विचल्ली भएर दैलाठेलामा अभिभावक कुरीरहेका चल्चाल्ली झै केटाकेटी र रित्व घर । र अनि पूर्णबहादुर अपूर्ण भए ।
भन्छन् नि आगोले पोल्दा आगोले सेकाइन्छ । पहिली पत्नीबाट दग्घ पूर्णबहादुरको जीवनमा “सोमाया” आइन् मल्हम बनेर । उनले पूर्णबहादुरको पत्नीले छाडेर गएका ४ केटाकेटी स्याहरिन् । आफू आमा बन्ने उनको मनसुवा भने थिएन र पनि एउटा सन्तान जन्मियो । खाटा बस्तै आयो पूर्णबहादुरको घाऊमा ।
तर
सकुनको निःश्वासको थालनी मात्र के भएको थियो उनको एउटा सन्तान १६ वर्षको छोराले आत्मदाह गर्यो ।
पूर्णबहादुर गार्मेन्टमा पसे । दुखजिलो जीवन चलाउन थाले । जाँडरक्सी चुरोट विँढी नखाएका पूर्णबहादुरलाई अचानक शरीर सुन्निने लक्षण देखा पर्यो । दिनभर सिलाई मेसिनमा खुट्टा झुण्डाएर होला भन्ने ठाने ।
अति भयो काम गर्न सकेनन् । घर गए । अनेक थोक गरे । २० को १९ भएन । र एकदिन ढले । अस्पताल पुग्दा थाहा लाग्यो उनको दुवै मृगौला निष्क्रिय भएछन् (किडनी फेल) ।
यतिवेला पूर्णबहादुर हप्ताको २ पटक डाईलासिस गराइरहेका छन् । अब मृगौला प्रत्यारोपण नगरे जीवन सास कतिञ्जेल रहन्छ त्यतिञ्जेल अस्पतालको बास हो । मृगौला प्रत्यारोपण गर्न नेपालमा ७ लाख लाग्छ । डोनर पत्नी सोमाया तयार छिन् छैन त पैसा छैन ।
विवश पूर्णबहादुर डायलिसिसका लागि हप्ताको २ दिन अस्पताल हुन्छन् । डायलिसिस गरेपछि अर्को दिन थलै परे जस्तो हुन्छन् । र पर्सीपल्ट बाट फेरि मजदुरीमा जुट्छन् । २ दिन पछि दोस्रो पटकको डालासिसका लागि अस्पताल र क्रमशः यहि निरन्तरता ।
हप्ताको २ दिने मजदुरीले पूर्णबहादुरले कसोरी ४ सन्तान पत्नी घर आफ्नो ओखतीको खर्च गरेर ७ लाख कहिले जुटाउलान् ?।
उनी भन्छन् “सर मर्न मन छैन”
यसबीच मुलुकमा भएका परिवर्तन, आर्दशका यमानका कुराहरु, संविधानका डिगम्बर गफहरु सम्झिएँ ।
मैले खाली आमरण अनशन बस्ने गोविन्द डाक्टरलाई पनि सम्झिएँ । यिनै पूर्णबहादुर र उसको परिवारको मतबाट सत्तासिन नेताहरुको उपचारका लागि भएका विदेश शयरहरु पनि सम्झिएँ । केके हो केके ।
म त असंतुलित बन्दै गएछु । शायद मानसिक विचलनको झञ्झा । मभित्र हुण्डरी मच्चिरहेछ ।
मैले आफूलाई कुनै जादु र तिलस्मी पात्र पनि सम्झिएँ, चलचित्रमा झै आख्यानहरुमा झै । केहि भएन । के हुन्थ्यो ।
जीवन चलचित्र कहाँ हो र ? म तिलस्मी पात्र कहाँ हुँ र ? म कुनै तिलस्मी पात्र पनि हैन । न म सतपात्र नै हुँ । म त पेशेवर एउटा सामान्य लेखक न हुँ । मलाई त पूर्णबहादुरहरुको दर्द र चित्कारहरु कारुणीक ढंगबाट पाठक र स्रोतालाई पस्किएर वाह ! वाही लुट्नु छ । १५ प्रतिशत कर काटेर पूर्णबहादुरको कथाबाट पारिश्रमिक थाप्नु छ ।
एक पात्र हो मेरा लागि ऊ । ऊ जस्तै नजाने कैयौको मर्मलाई भेद गरेर मैले आख्यान, कविता, गीत बनाएको छु, बनाउने छु । ती लेखिन्छन् । पात्रहरु एकै हुँदैनन् । फेरिरहन्छन् । कसाइले रेट्ने सबै घाँटी उस्तै हो, सेरेनीको चेहेराको के अर्थ र ?
पानीको अभावमा चीरा परेको खेतको पाटोको चीरा झै उनको आँखामा मैले मेरो एउटा मधुरो फोटो देखें । यसपल्ट पूर्णबहादुरको आर्तनादसंग मेरो नाममा आँसु पनि झारेको थियो । म आफूलाई धिकार्छु । मैले दिएका केही थान स्टेशनरीले उनका बालबच्चालाई र केही सय रुपैयाले उनलाई के हुन्छ र उनको पहाड झै विशाल वेदनामा ।
हो म केवल करुणा बेच्छु । मान्छे रोएर पनि खुशी हुन्छन् र म रुवाएर पनि हुन्न ।
एउटा कीरो, रेशम कीरोले पनि आफ्नो जीवनकालमा २/३ मिटर कपडा दिएर मर्छ रे । म किन फगत कीरा समान पनि कारुणीक हुन सकिँन । मन भाउन्न हुन्छ । उही चिन्तन दौडन्छ- मान्छे रोएर पनि खुशी हुन्छन् र म रुवाएर पनि हुन्न ।
प्रतिक्रिया दिनुहोस्