२०८१ श्रावण १२
                           

कहिले हुन्छ तातोपानी नाकाबाट निकासी खुला ?

सिन्धुपाल्चोक तातोपानी ,२२ माघ , रामकृष्ण थापा- –०७२ सालयता तातोपानी नाकाबाट निकासी बन्द छ । अनियमित रुपमा पैठारी भइरहेपनि निकासी हुन नपाउँदा व्यापार घाटा बढेको सरकारी तथ्यांक छ । आयात–निर्यात दुवै सुचालू कहिले हुन्छ ? यसबारे तातोपानी नाकासंवद्ध केही व्यापारी र सरकारी निकायले सकारात्मक प्रतिक्रिया दिएका छन् ।चीन स्वशासित तिब्बतको खासा चलायमान हुन थालेको छ । खासा, रमिते र लाप्टाङमा बस्ने स्थानीय यसपालीको चिनियाँ ल्होसारमा घर फर्किएका छन् । भूकम्पले क्षतिग्रस्त घर, भवन र सडकको पुनर्निर्माण सम्पन्न भएको छ ।

नेपालपटि पनि आयात–निर्यात हुनसक्ने सबै व्यवस्थापन पूरा भइसकेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानिधि केसीले बताए । ‘औपचारिक जानकारी नभएपनि नाकाबाट छिट्टै निकासी खुल्ने सम्भावना छ,’ उनले भने, ‘दुवै देशको भन्सार कर्मचारीबीच एक चरण वार्ता सम्पन्न भएको छ ।’ नेपाल–चीन उच्च अधिकारीबीच छलफल भएर समझदारी भए तत्काल निकासी खुला हुनसक्ने उनले प्रष्ट्याए । चिनियाँ स्रोतका अनुसार निकासी खुला हुन कम्तीमा पाँच महिना अझै लाग्छ । जुन÷जुलाइबाट नाका खुल्ने अवस्था रहेको स्रोत बताउँछ ।

१५ जेठ, ०७६ मा आयातमात्रै खुला रहेको तातोपानीबाट अधिकांश व्यापारी पलायन भइसकेका छन् । सिल्क ट्रान्सपोर्ट कम्पनीले एकलौटी क्यारिङ गरिरहेको छ । यद्यपि, दैनिक बढीमा १० गाडी सामान आयात हुने भएकोले ट्रान्सपोर्ट कम्पनीहरु घाटामा छन् । बिगतमा क्यारिङ गर्ने १४ सय कन्टेनर र तीसँग आवद्ध जनशक्ति बेरोजगार छन् । सीमा क्षेत्रका स्थानीय गाउँ छोडेर बिदेश पलायन भएका छन् । चीनपटि सिल्क, आडो, मुसा, खासा र नेपालपटि सिल्क, रेवाङ र नमस्ते ट्रान्सपोर्ट कम्पनी छन् ।

तर, ती सबै कम्पनी अहिले घाटामा छन् । भोटेकोसी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पा नेपाल–चीनका उच्च सरकारी अधिाकारीबीच माथिल्लो तहमा समझदारी नबनी निकासी नखुल्ने बताउँछन् । ‘खासामा त्यहाँका स्थानीय आएको र आयात–निर्यातका लागि वातावरण बनेको संकेत छ । तर, अझै निश्चित छैन,’ उनले भने ।
नेपालबाट हस्तकला र खाद्यसामग्री चीन निकासी हुन्छ । खासा, न्यालम, सिगात्से र ल्हासामा नेपाली बजारका सामग्री राम्रो मूल्यमा बिक्री हुन्छ । तातोपानी खुला हुँदा तिब्बतको कैलाशमान सरोबर जाने धार्मिक पर्यटकलाई सेवा पु¥याएबापत, पारि लिपिङबाट झोलेपोके सामान ल्याउँदा र स्थानीय होटेल व्यवसाय गरेर सीमावासीले राम्रो आम्दानी गर्न सक्छन् ।

नाकामा लामो समय व्यापार गरेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष दोर्जे लामाले निकासी सामग्री तयारी अवस्थामा रहेको बताए । अब नाकाबाट निकासी पनि खुल्ने सम्भावना रहेको बताउँदै लामाले भने, ‘हामी व्यवसायी निकासी बस्तु उत्पादन र संकलनमा क्रियाशील छौँ ।’ आयात–निर्यात सुचारु गराउन राजनीतिक नेता, व्यवसायी र सरकारी निकाय निरन्तर लागिरहेका छन् । पछिल्लो समय सम्बन्धित संघीय क्षेत्रका सांसद माधव सापकोटाको नेतृत्वमा व्यापारी–व्यवसायीको टिमले सरकारका उच्चतहसँग तातोपानी नाकाबारे घनिभूत छलफल चलाइरहेको छ । हामीले निरन्तर नेपाल सरकारमार्फत् चीन पक्षलाई दबाब सिर्जना गरेका छौँ ।

केही सकारात्मक संकेत देखिएका पनि छन्, व्यापारी, व्यवसायीको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले भने ।

 

प्रतिक्रिया दिनुहोस्