२०८२ असार २
                           

चौ.सा.गढी नगरको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम (तस्वीर)

सिन्धुपाल्चोक ,१६ माघ
सम्झना कार्की  – चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिक क्लिनिक तथा स्वास्थ्य परिक्षण  कार्यक्रमको शिविर आज  स्वास्थ्य कार्यलय ,साकिने र वडा न ३ वडा कार्यलय भवन ,किटिनेमा संचालन गरेको छ । नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम पौष १२ गते देखी ठुलोसिरुवारी बाट  सुरु भएको उक्त शिविर आज साकिने र किटिनेमा गरिएको छ ।

नगरपालिकाले जेष्ठ नागरिकहरुलाई समुदायमानै पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियानलाई निरन्तर संचालन गर्दै आएको छ । जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यका साथ नगरका रहेका नागरिकहरुलाई टोल–टोलमा स्वास्थ्यकर्मीको टोली पुगेर सेवा दिन थालेको नगरपालिकाले जनाएको छ ।

जेष्ठ नागरिक स्वास्थ्य परीक्षण अभियानको क्रममा वडा नम्बर २ र ३ मा सोमबार नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाको उपस्थितिमा २ सय २४ जनाको स्वास्थ्य परीक्षण गरीएको हो । नगर स्वास्थ्य शाखा प्रमुख शिव पुरीका अनुसार १ सय ८४ जनाको सुगर परीक्षणका क्रममा १४ जनामा सुगरको मात्रा बढेको पहिचान भएको छ । यस्तै ९५ जनाको आँखा परीक्षणका क्रममा १ जनामा मोतियाविन्दु भेटिएको छ । २ वर्ष मुनिका २५ जना बालबालिकाको पाखुराको नाप लिएकोमा २ जनामा कुपोषण भेटिएको स्वास्थ्य शाखा प्रमुख पुरीले बताउनुभयो । उक्त शिविर मंगलबार कदमबास , वुधबार पिपलडाँडा र विहिबार चौतारामा संचालन हुने भएको छ । अभियानसँगै चेतना अभावका साथै आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य चौकीबाट धेरै टाढाको दूरीमा रहेका जेष्ठ नागरिकहरुले सेवा लिएका छन् ।

ज्येष्ठ नागरिकले उपचारका लागि सास्ती भोग्न थालेपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गर्दै २५ लाख रकम विनियोजन समेत गरेको छ । आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्था नभएका बिरामी पहिचान गर्दै विशेष कार्यक्रम समेत ल्याउने मेयर सापकोटाको योजना छ ।

शिविर मार्फत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रोग र समस्या पहिचान गर्ने गरेको छ । आवश्यकता अनुसार उनीहरूलाई निःशुल्क औषधिसमेत बाँडिने र अन्यत्र रेफर गर्ने गरिएको छ । औषधोपचार नपाएका अशक्त, अपांगता भएका ज्येष्ठ नागरिकको टोलमै पुगेर उपचार र स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति भएको स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्