२०८१ जेष्ठ ९

रोगबाट बच्न स्वस्थ जीवन शैलीमा ध्यान दिन आवश्यक

बैशाख १९, सिन्धुपाल्चोक । सबै नागरिकले रोगबाट बच्न स्वस्थ जीवन शैलीमा ध्यान दिन आवश्यक रहेको भन्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चौताराले सचेतना कार्यक्रम गरेको छ । सिन्धुपाल्चोकका सदरमुकाम चौतारामा रहेका आमा समुह, शिक्षक तथा विभिन्न पेशा व्यवसायमा आवद्ध महिला तथा पुरुषहरूलाई स्वस्थ जीवन प्रवर्द्धन कार्यक्रममा सहभागी गराइएको हो ।

उनिहरुलाई स्वस्थकर आहार र खानपानका साथै शारिरिक व्यायामको फाइदाबारे जानकारी दिइएको छ । अहिलेको परि भेषमा मानिसको ब्यस्त जीवनशैली, अर्गानिक खानाको कम प्रयोग, विषादी हालेका फलफुल र मदिरा सेवन, प्रदुषण र शारिरिक व्यायाम नहुदा विभिन्न रोगको सिकार बन्न पुगेको छ ।

यसै सन्दर्भमा सबैले आफ्नो भान्सामा अर्गानिक खानेकुरा, विषादीमुक्त  फलफुल तथा सागसब्जी प्रयोग गर्ने, शारिरिक कसरत हुने क्रियाकलापमा सक्रिय रहने र सन्तुलित आहारमा ध्यान दिन सकेमा रोगको जोखिम कम भइ स्वस्थ हुने चिकित्सालयका डाक्टरले बताए ।

हामी स्वस्थ हुनका लागी स्वस्थकर खानेकुरा मात्रा छान्ने र अस्वस्थकर खानेकुरा सधै त्याग्नुपर्ने आयुर्वेदका डाक्टरले बताएका छन् । बाहिर पाइने तयारी खानेकुरा र पत्रु खानाको प्रयोगले मानिसलाई विभिन्न किसिमका रोग निम्तिने जोखिम बढी हुनेगर्छ ।

मानिसले स्वस्थ तथा सन्तुलित आहार शारिरिक क्रियाकलाप अनुसार खाएमा उचाइ अनुसारको तौल , मधुमेह, उच्च रक्तचाप लगायतका नसर्ने रोग नियन्त्रण गर्न सकिने डाक्टरहरु बताउछन् ।खासगरी आफ्नो ठाउँमा उपलब्ध रहेका अन्न तथा फलफूल र सागसब्जी खानु उत्तम हुने चिकित्सालयका प्रमुख डाक्टर अन्जु कार्कीले बताइन् । स्वस्थ जीवन प्रवर्द्धन कार्यक्रममा आयुर्वेद औषधी र त्यसको प्रयोग बारे पनि सिकाइएको थियो । साथै सहभागीहरुको प्रेसर र सुगर जाँच समेत गरिएको छ ।

स्वस्थ जीवन जीउन झकझकाउने र सचेत गराउने उदेश्य यस चिकित्सालयले यसअघि पनि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चौतारामा नियमित सेवा संगै प्रत्येक मंगलबार मुख्यमन्त्री जनता स्वास्थ्य र पथ्य आहार कार्यक्रम चलिरहेको डाक्टर कार्कीले बताइन् । जिल्लामा १२ स्थानिय तह मध्य १० पालिकामा सरकारी आयुर्वेद संस्था सन्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्