२०८१ बैशाख ७

रोजगारीका लागि माल्टा जाने नेपालीको सङ्ख्या बढ्दै

मंसिर २६ ÷रोजगारीका लागि माल्टा जाने नेपालीको सङ्ख्या गत ५ वर्षमा २१ गुणाले बढेको छ । ५ वर्ष अघि ६ सय २ जना नेपाली रोजगारीका लागि माल्टा गएकोमा चालु आर्थिक वर्षको ३ महिनामा नै ३ हजार २ सय ३९ जना नेपाली रोजगारीका लागि माल्टा पुगिसकेका वैदेशिक रोजगार विभागले जनाएको छ ।
यसरी माल्टा जानेमा अधिकांश पुरूष रहेको विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार गत साउनमा ५ सय ५४ जना, भदौमा १ हजार ४ सय २१ जना, असोजमा १ हजार २ सय ७२ जना रोजगारीका लागि माल्टा पुगेको विभागका सुचना अधिकारी कृष्णप्रसाद भुसालले बताउनुभयो । जसमा झण्डै २५ प्रतिशत महिला छन् ।
युरोपेली देश माल्टाबाट वैदेशिक रोजगारीमा नेपाली श्रमिकको लागि माग पनि बढिरहेको र राम्रो सेवा सुविधा र श्रम कानुनको कारण नेपाली नागरिक रोजगारीका लागि माल्टा जाने गरेको उहाँको भनाइ छ । माल्टा जान बढीमा ६ लाख रुपैँया लाग्ने विभागले जनाएको छ ।
तर माल्टा पुगेकाहरूले भने तोकिएको रकमभन्दा ३ गुणा बढी रकम म्यानपावरलाई बुझाउनु परेको बताउने गरेका छन् । तोकिएभन्दा बढी शुल्क मागे प्रमाणसहित विभागमा उजुरी गर्न विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्