विश्वभर कोरना भाइरस (कोभिड–१९)को संक्रमणको महामारी डढेलो जसरी फैलिइरहेको बेला कम्युनिष्ट सरकार भएको भियतनाममा भने संक्रमण अपेक्षाकृत कम छ । संक्रमण फैलिन नदिएको र मृतकको संख्यालाई पनि रोक्न सफल भएको भन्दै भियतनामको प्रशंसा भइरहेको छ ।
कोरोना भाइरस संक्रमणको उदगम राष्ट्र चीनसँग सीमा जोडिए पनि कोरोना संक्रमित भियतनाममा निकै थोरै छन् । आइतबार २९ मार्चसम्म जम्मा १७९ जना संक्रमित छन् भने एक जनाको पनि मृत्यु भएको छैन ।
वास्तवमा भियतनामले आफ्नो जनसंख्यालाई कोरोना भाइरसविरुद्धको लडाइँमा होमिदिएको छ । मानिसहरुलाई बलपूर्वक क्वारेन्टाइनमा राखिएको छ । कुनै व्यक्तिलाई कोरोना संक्रमणको शंका लाग्नासाथ जबरजस्ती क्वारेन्टाइन राखिन्छ । यस्तै एकजना महिला होची मिन्ह क्षेत्रको सरकारी सुविधायुक्त एक क्वारेन्टाइनमा छिन् ।
अप्ठेरो स्थिति
जब लान आन्ह (वास्तविक नाम गोप्य राखिएको) अष्ट्रेलियामा रहेका आफन्तसँग दुई हप्ता बसेर फर्किइन् । उनलाई तत्कालै होची मिन्ह सिटीमा रहेको नेसनल युनिभर्सिटीमा बनाइएको सरकारी सुविधायुक्त क्वारेन्टाइनमा लगेर राखियो ।
उनले बीबीसी भियतनामसँग क्वारेन्टाइनमा कस्ता कस्ता कुराहरुको सामना गर्नुपर्यो भन्ने कुराको जानकारी दिएकी छन् । उनले भनिन्, ‘म आउँदा यहाँको शौचालय कालैकालो फोहोरैफोहर थियो । सिंकमा पनि पानी जमेको थियो ।’
उनले थपिन्, ‘भाग्यवश दुर्गन्ध त फैलिएको थिएन तर साह्रै फोहर थियो । ओछ्यान पनि खिया लागेको जस्तो फोहर थियो । जताततै धुलो र माकुराको जालो लागेको थियो । पहिलो रातमा सबैलाई एउटा दरी मात्र दिइयो । डसना, सिरानी केही पनि पाइएन । गर्मी थियो कोठामा एउटा मात्र पंखा थियो ।’
उनका अनुसार यस्तो खराब स्थितिमा यहाँ सँगै बसेकाहरुलाई कतै कोरोना भाइरस त छैन भन्ने अर्को डर पनि थियो । उनी भन्छिन्, ‘हामीलाई अरु सुविधा चाहिएको थिएन, तर सरसफाइ हुनुपर्थ्यो ।’
महँगो परीक्षण, संक्रमण पुष्टि नभए पनि आइसोलेसनमा
भियतनाम सरकारले कोरोना भाइरसविरुद्धको लडाइँ सुरु गर्यो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सामान्य नागरिकहरुलाई यो लडाइँमा परिचालन गरियो ।
तर, भियतनामको रणनीति दक्षिण कोरिया जस्तो धनी एशियाली देशभन्दा फरक थियो । यहाँ महँगो परीक्षण प्रविधि अपनाइएको छ । ठूलो संख्यामा मानिसहरुको स्वास्थ्य जाँच गरिएको छ र जनतालाई नै जासुसको रुपमा परिचालन गरिएको छ ।
भियतनाममा धेरै जनसंख्या छ । यहाँ ९.६ करोड मानिस बस्छन् । यहाँको कम्युनिष्ट सरकारले कोरोना भाइरसलाई कडाइका साथ रोक्ने निर्णय गर्यो । सरकारले विदेशबाट आएका हरेक व्यक्तिलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय पहिले नै गरेको थियो ।
विदेशबाट आएकाहरुलाई खोज्दै क्वारेन्टाइनमा पठाउँदै गर्ने क्रममा तीन जना व्रिटिश युवतीहरुलाई लोन्ग वेमा रहेको एक होस्टेलमा फेला पारियो । उनीहरु मार्च महिनाको सुरुमा भियतनाम आएका थिए । यो फ्लाइटमा एक जना युवती कोरोना भाइरस संक्रमित भएको पत्ता लागेको थियो । त्यसैले ती तीन जना ब्रिटिश युवती भाग्न नपाउन् भनेर पहिले नै उनीहरु बसेको स्थानमा प्रहरी खटाइएको थियो ।
यी तीनैजना युवती २० देखि ३० वर्षसम्मका थिए । उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमित नभएको पत्ता लाग्यो । तर, पनि उनीहरुलाई थप १२ दिन आइसोलेसनमा लगेर राखियो ।
तीमध्येकी एक युवती एलिस पार्करले भनिन्, ‘मलाई शरणार्थी शिविरको एक अस्पतालमा राखिएको थियो र रातिमा मलाई एकदम डर लाग्थ्यो ।’
लकडाउन नगरी कोरोनामा काबु
भियतनामले अन्य युरोपेली देशहरुले जस्तै देश लकडाउन गरेको छैन । तर कोरोनाबाट प्रभावित धेरै जनालाई क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा २१ हजारभन्दा बढी छन् र ३९ हजार जति मानिस सेल्फ आइसोलेसनमा छन् ।
विदेशबाट आएकाहरुबाट संक्रमण फैलिने खतरा देखेपछि सरकारले झन् कडाइ गर्यो । २२ मार्चदेखि सबै विदेशी नागरिकहरुलाई भियतनाम प्रवेशमा प्रतिबन्ध लगाइयो ।
छिमेकीबाट छिमेकीको निगरानी
हालसम्म पनि कोरोनामा संक्रमितको संख्या सीमित बनाउन सफल भएपछि भियतनामको प्रशंसा भइरहेको छ । युनिभर्सिटी अफ न्यू साउथ वेल्स क्यानबेराका प्रोफेसर कार्ल थायरले भियतनामको सफलताको सन्दर्भमा फाइनान्सियल टाइम्ससँग भनेका छन्, ‘भियतनाममा गतिशील समुदाय छ र यहाँ एक दलीय राज्य छ ।’
भियतनामका जनतालाई कोरोना रोकथामको काममा खटाइएको छ । उनीहरुले आ–आफ्ना छिमेकीहरुको निगरानी गरिरहन्छन् । यदि कसैलाई कोरोना संक्रमितको शंका लाग्नासाथ जबरजस्ती क्वारेन्टाइनमा पठाइने भएकाले कसैले रोग लुकाउँछ कि भन्ने डर छ । त्यसैले नजिकका छिमेकीहरुले एकअर्काको निगरानी गर्छन् । कोही विदेशी नागरिक आएमा तत्काल सरकारी निकायमा खबर गर्छन् ।
सरकारले जबरजस्ती क्वारेन्टाइनमा राखेर मानिसहरुको व्यक्तिगत स्वतन्त्रतामा दखल दिएको छ कि भन्ने चिन्ता छ । तर मिडियाहरुले भने देशभक्तिपूर्ण सन्देशलाई प्राथमिकताका साथ प्रचारप्रसार गरिरहेका छन् । र सरकारले भन्दै आएको छ– आगामी दिनहरुमा आउनसक्ने हजारौं सम्भावित समस्याको समाधान गर्न आफूले आफैंलाई तयार पार्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्