२०८१ श्रावण १२
                           

सुकुटे महोत्सव हुने, प्रचण्डले उद्घाटन गर्ने तय

सुकुटे- ‘सुकुटे महोत्सवमा जाऔं, भ्रमण वर्ष २०२० सफल पारौ’ भन्ने नाराको साथ प्रथम सुकुटे महोत्सव २०७६ हुने भएको छ । फागुन १५ बाट १८ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । महोत्सव अवधिभर २० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० मा सिन्धुपाल्चोकमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार र प्रबर्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक संस्था सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । बुधबार सुकुटेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले सिन्धुपाल्चोकको सुकुटे क्षेत्रका जलयात्रालाई केन्द्रमा राखी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी तथा सुनकोशी गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न महोत्सवको आयोजना गरिएको बताए ।

महोत्सवलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पर्यटन मन्त्री योगेश भटराई लगायतको टोलीले २० वटा डुङ्गाबाट र्याफ्टिङ गर्दै जेट बोर्ड, प्याराग्लाइडिङ, साइकलिङ र वेलुनसहित ड्रोनको प्रयोग गरी कार्यक्रम उद्घाटन गरिने जनाईएको छ । उद्घाटनकै दिन साँगाचोकगढीबाट कार्यक्रम स्थलसम्म साइक्लिङ, कपिलेश्व महादेव मन्दिर बलेफीबाट सुकुटेसम्म दौड समेत गरिने जनाईएको छ । विविध सांस्कृतिक कार्यक्रमसहित गरिने महोत्सवमा तामाङ संस्कृती र झाँकी प्रदर्शन, नेवारी संस्कृती र धिमे बाजा, माझी समुदायको विशेष नाच, खैंजडी भजन र कलाकारहरुले विशेष प्रस्तुतीसमेत देखाउनेछन् ।

त्यस्तै सरसफाइ तथा जागरण कार्यक्रम, पालिका स्तरीय दोहोरी गीत प्रतियोगिता, लामोसाँघु–तामाखानी पदमार्गमा हाइकिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, विभिन्न विषयमा कार्यशाला, सिन्धुपाल्चोक र पर्यटन विषयमा पालिकास्तरीय वक्तित्वकला, जनप्रतिनिधि तथा कर्मचारीहरुबीच भलिवल प्रतियोगिता, राष्ट्रिय स्तरीय र्याफ्टिङ प्रतिस्पर्धा, पत्रकार महासंघ, गैसस महासंघ बीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता लगायतको कार्यक्रम तय गरिएको सुकुटे महोत्सव २०७६ सचिवालयले जनाएको छ ।

महोत्सवकैबीच सिन्धुपाल्चोकको पर्यटकीय केन्द्र सुकुटेलाई पर्यटकीय ‘हव’को रुपमा विकास गर्न सुकुटे पर्यटन घोषणा–पत्र जारी गरी र पर्यटन विकासमा प्रतिवद्धता समेत जनाईने छ । महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण र बिक्रि वितरणको व्यवस्थापन, कदमवासबाट व्यावसायिक प्याराग्लाइडिङको शुरुवात गर्ने, स्थानीय उत्पादन र स्थानीय संस्कृती झल्कने मौलिक कुराहरुको प्रदर्शनी समेत गरिने जनाईएको छ ।

महोत्सव सम्मपन्न गर्न ५० देखि ६० लाखसम्म सचिवालयले प्रारम्भीक अनुमान निकालेको छ । महोत्सवबाट ५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ । महोत्सवको समापन सभामुख अग्नीप्रसाद सापकोटाले गर्ने बताईएको छ ।

पत्रकार सम्मेलनमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, महोत्सव आयोजक सचिवालय समितिका संयोजक चन्द्रप्रसाद सापकोटालगायतले महोत्सवको बारे प्रस्ट्याउँदै पत्रकारको जिज्ञासालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्