२०८१ श्रावण १२
                           

बेलायतमा दोस्रो पुस्ताकी पहिलो ब्यारेष्टर बन्दै सिन्धु चेली स्नेहा

चौतारा- बेलायतमा दोस्रो पुस्ताकी पहिलो ब्यारेष्टर बन्नको लागि स्नेहा शाक्य श्रेष्ठ भर्खरै बेलायतको इनर टेम्पल बारको सदस्य भएकी छिन् ।

चौतारा सिन्धुपाल्चोक स्थायी घर भएका पिता अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ र बाग्लुङ मूल थलो भएकी आमा मिनु शाक्यसँगै दुई दशकदेखि बेलायत बस्दै आएकी स्नेहा यसै वर्ष सिटी ल कलेजबाट बार प्रोफेसनल ट्रेनिङ कोर्स (बिपीटिसी) मा उच्च अंक (८०.४०%) प्राप्त गरि ब्यारेष्टर बन्न अन्तिम तयारी पुपिलेज गर्न योग्य भएकी हुन् । अब केहि समय अन्य कानुनी फर्ममा कामको अनुभव प्राप्तगरे पछि उनी आफैं प्रक्टिसिङ ब्यारेष्टर बन्नेछिन् । यस अगाडि प्रोफेसर डाक्टर सूर्य सुबेदी तथा देबेन्द्र श्रेष्ठ बेलायतमा ब्यारेष्टरको रुपमा कार्यरत छन् ।

कक्षा २ सम्मको शिक्षा नेपालमै हासिल गरेर बाँकी अध्ययन गर्न बेलायत पुगेकी स्नाहाले विद्यालय शिक्षा वर्दिग र स्लाओ ग्रामर तथा उच्च शिक्षा युनिभर्सिटी अफ एसेक्सबाट एलएलबि, किंग्स कलेजबाट एलएलएम उर्तीण गरेकी छिन् । उनले लण्डनस्थित प्रसिद्ध किंग्स कलेजको एलएलएमको शोधका निम्ती नेपालमा निकै चर्चा पाएको कर्णेल कुमार लामाको विषयमा अनुसन्धान गर्न लामो समय नेपालका विभिन्न स्थानमा गएर सरोकारवाला र विज्ञहरुसँग कुराकानी गरेकी थिइन् ।

बेलायतमा कानुनी पेशालाई सम्मानीत पेशाकारुपमा लिइन्छ । सो कक्षा तयारीका लागी चाहिने लगन र मेहनतका कारण पनि कानुनी पेशाको कदर अन्य मुलूकहरुका तुलनामा बेलायतमा धेरै नै गर्व गर्ने बिषयका रुपमा लिइन्छ । संसारको न्याय इतिहासको उद्गमस्थल भएको स्थान म्याग्नाकार्टाको सेरोफेरोमा रहेर विद्यार्थी जीवन बिताउन पाउनु र माता पिताको प्रेरणाका कारण पनि आपूmलाई कानूनीक्षेत्रमा आउने अवसर भएको स्नेहा बताउँछिन् । बेलायतमा पनि नेपाली कानुन ब्यबसायीहरुको उल्लेख्य उपस्थिति रहेको छ । ब्रिटेन नेपाल लयर्स एशोशियशनको पहल कदमीमा नेपालीहरुले त्यहाँको बारको परीक्षा दिन सक्ने भएका छन् । ब्रिटेनबाट शिक्षा प्राप्त गरेका नयाँ पुस्तामा कानुन विषयमा धेरै युवाहरुको संलग्नता हुनु खुशीको बिषय भएको जानकारहरु बताउँछन् ।

सानै उमेर देखि नै संगित कलामा रुची भएकी स्नेहाले डग्रिटन हाइ स्कुल एक्स फ्याक्टरमा पहिलो स्थान, सन् २००८ मा लण्डनमा आयोजना भएको भ्वाइस अफ द इयर नेपालमा पहिलो, युकेको एक्स फ्याक्टर लगायत दर्जनौ नेपाली अंग्रेजी तथा भारतीय सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रतिभा देखाउदै आएकी छिन् । उनले संगीतकार अनिल शाही र न्ह्यु बज्राचार्यसँग चारवटा गीतहरु समेत रेकर्ड गराएकी छिन् । भविष्यमा पनि पेशाका साथसाथै रुचिको रुपमा गायनलाई पनि अगाडि बढाउने सोच स्नेहाको छ ।

प्रतिक्रिया दिनुहोस्