२०८१ आश्विन २६
                           

‘जीवन उपयोगी शिक्षाको सुरुवात गरेका छौं’ मन्त्री दुलाल

चौतारा- प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारले नीति बनाएरै जीवन उपयोगी शिक्षाको सुरुवात गरेको बताएका छन् ।

सेतिदेवी माध्यमिक विद्यालय स्याउलेकोे ६७औं वार्षिकोत्सव एवम् २०औं पूर्व विद्यार्थी भेलाको अवसरमा शुक्रबार मन्त्री दुलालले प्राविधिक, व्यवसायीक र जीवनोपयोगी शिक्षासहित विद्यार्थीहरुलाई श्रमप्रति आस्था बढाउँदै दक्ष जनशक्ति उत्पादन गर्नको लागि सरकारले नयाँ शिक्षा नीति ल्याएको बताएका हुन् । ‘पुरानो शिक्षाले रोजगार दिएन, उत्पादनमुखी बनाएन, पुरानो शिक्षाले बेरोजगार मात्रै उत्पादन गर्यो’, मन्त्री दुलालले भने– ‘त्यसैले शिक्षामा आमूल परिवर्तन गर्ने गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन गर्ने नीति ल्याएको हौं ।’

सरकारले के गर्छ भनेर चिन्ता नलिन आग्रह गर्दै उनले अहिलेको आवश्यकता गुणस्तरीय शिक्षा दिन शिक्षासँग सम्बधित सबै तप्का लाग्नुपर्ने बताए । पढ्नुमात्रै ठूलो कुरा नभएको बताउँदै मन्त्री दुलालले प्राविधिक ज्ञान अनिवार्य भएको बताए । ‘पढ्नुमात्रै ठूलो कुरा होईन, ज्ञानलाई व्यवहारमा लागु गर्नुपनि अहिलेको तत्कालिन आवश्यकता हो,’ मन्त्री दुलाले भने– ‘त्यसको लागि गुणस्तरीय शिक्षा प्रदान गरिनु पर्दछ, त्यसमा शिक्षकहरुले ध्यान दिन जरुरी छ ।’ स्वरोजगार, उद्यमी युवा जनशक्ति उत्पादन गर्ने शिक्षा प्रदान गर्न शिक्षहरुलाई आग्रह गर्दै दुलालले विद्यालयको जिम्मेवारी स्थानीय सरकारलाई भएको र प्रदेश सरकारले विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन विद्यालय शिक्षा गुणस्तर सुद्रिढिकरण कार्यक्रम सुरु गरेको बताए ।

विद्यालयलाई भवन आवश्यक रहेको जानकारी प्राप्त भएको बताउँदै मन्त्री दुलालले यहि वर्ष भित्र भवन निर्माणको लागि प्रदेश सरकारले आवश्यक पहल गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सरकारले विद्यालय भवन बनाईदिन्छ, विद्यालयमा नर्स पनि उपलब्ध गराउँछ, कम्युटर प्रयोगशाला, विज्ञान प्रयोगशालाको लागि सहयोग गर्छ’, उनले भने– ‘तर भौतिक सुविधा सम्पन्नसँगसँगै शिक्षाको गुणस्तर बढाउन पनि तपाईहरु अग्रसर हुनुपर्छ ।’

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शालिकराम ओलीले विद्यालयको प्रगति विवरणका साथै आगामी योजना प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको वार्षिकोत्सवमा विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउनुहुने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको थापा बुक्स अवार्ड विशाल अधिकारी र प्रनिता श्रेष्ठलाई प्रदान गरिएको छ । एसईई परीक्षा २०७५ मा सहभागि भई सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद् दुईहजार, मेडलसहित अवार्ड प्रदान गरिएको थापा बुक्स स्टोरका प्रोपाईटर कुमार थापाले जानकारी दिए । एसईई परीक्षा सहभागि भई अधिकारी र श्रेष्ठले ३.२ जिपिए प्राप्त गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्