२०८१ पुष २९
                           

सिन्धुपाल्चोकमा बालविवाह न्युनिकरण र रोकथामका लागि सरोकारवाला बिच छलफल

सिन्धुपाल्चोक । बिहे गर्ने उमेर नपुगी अर्थात् शारीरिक र मानसिक रूपमा सबल हुन नपाई कम उमेरमा समाजमा अझै बालविवाह गर्ने क्रम नरोकिएको तथ्य उजागर भएको छ ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा मंगलबार जिल्ला स्तरीय सरोकारवालाहरु सँग बालविवाह न्युनिकरण तथा रोकथाम सम्बन्धी गरीएको अन्तरक्रियामा सरोकारवालाले कानुनले मात्रै बालविवाह हटाउन नसक्ने बताउदै सचेतना अझ बढाउनुपर्ने तर्क गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा ग्रामीण महिला सिर्जनशील परिवार र आदिवासी जनजाती महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा भएको जिल्ला स्तरको छलफल कार्यक्रममा समाजमा विद्यमान रुढीवादी परम्परा, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोग लगायतका कारण बाल विवाह हुने क्रम जारी रहेको निस्कर्ष निकालिएको हो ।

कार्यक्रमको सहजिकरण गर्दै सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमा शंकर यादवले ७४ स्थानमा भएको प्रहरी सर्वेक्षणमा ७३ प्रतिशतले बालविवाह गरेको तथ्याङक बताउदै प्रहरीमा भने उजुरी आउन छाडेको बताउनुभयो । नेपाल बार एसोसियसन सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र थिङले सामान्यतः बालविवाहका घटनाहरुको प्रहरीमा सम्म उजुरी आइपुग्दा जबरजस्ती करणी तिर मोडिने गरेको भन्दै चिन्ता ब्यक्त गनुभयो ।

उहाँले विवाहको सवालमा नेपालको कानुन संसोधन हुन आवस्यक रहेको औंल्याउंदै विवाहको लागि १८ वर्ष उत्तम उमेर हुुनुपर्ने तर्क पनि गर्नुभयो ।
नेपालमा मुलुकी ऐन, २०२० ले कम उमेरमा हुने विवाहलाई निषेध गर्न उमेरको हदबन्दी लगाएको थियो । अहिले त्यो उमेर हद २० वर्ष पु¥याइएको छ । कानुनले २० वर्ष नपुगी गरीएको विवाहलाई मान्यता दिदैन ।

तर वडा कार्यालयमा बालविवाह पश्चात जन्मिएको बच्चाको जन्मदर्ता गर्न समेत पन्जिकरण विभागको प्रणालीको कारण असम्भव भएको कार्यक्रममा सहभागी सुनकोशी ७ का वडा अध्यक्ष इश्वर तिमल्सिनाले तर्क गर्नुभयो । यस्तो अवस्थामा अन्य अभिभावकहरुलाई सूचक राखेर बच्चाको जन्मदर्ता गर्न सकिने कानुनी प्रावधान रहेको अधिवक्ता प्रेम कुमार श्रेष्ठले बताउनुभयो ।

ग्रामीण महिला सिर्जनशील परिवारका कार्यकारी निर्देशक राजु घतानीले समाजमा गहिरोसँग जरा गाडेर बसेका यस्ता परम्परालाई कानुनले मात्रै हटाउन नसक्ने बताउँदै परिवार तहमा सचेतनाको स्तर बढाउन परियोजनाले काम गरीरहेको उल्लेख गनुभयो ।

अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समितिका उप प्रमुख पदम नाथ नेपालको प्रमुख आतिथ्यता तथा आदिवासी जनजाती महिला उत्थान केन्द सिन्धुपाल्चोककी अध्यक्ष पानमाया तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्