२०८१ श्रावण १२
                           

सीमामा चारतारे होटल सञ्चालन हुँदै

सीमामा चारतारे होटल सञ्चालन हुँदै

तातोपानी/ सिन्धुपाल्चोकमा पहिलो पटक सुविधा सम्पन्न चारतारे होटल स्थापना भएको छ । तातोपानी नाकाको मार्मिङ स्थित नयाँपुलमा भोटेकोसी हेली रिसोर्ट एण्ड स्पा प्रालि स्थापना भएको हो ।
५० रोपनी क्षेत्रफलमा निर्माणाधीन होटलको ८० प्रतिशत काम सकिएको छ । ०७७ वैशाख देखि पहिलो फेज सञ्चालन गर्ने तयारीमा रहेको होटलका डाइरेक्टर छिरिङ शेर्पाले बताए । ५० रोपनी क्षेत्रफल थपेर २०८० सम्ममा होटललाई पाँचतारे बनाउने लक्ष्य छ ।
छिमेकी देश चीन, भारत र पश्चिमा मुलुकबाट आउने पर्यटकलाई होटलमा उच्च कोटीको सुविधा उपलब्ध गराइने छ । प्लेनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका विदेशी पाहुनालाई एअरपोर्टबाटै हेलिकोप्टरमा चढाएर होटल पु¥याइने प्याकेज छ । हेलिकोप्टर चढेर होटल पुगेका पर्यटकलाई हेलीमै राखेर भोटेकोसीको भैरवकुण्ड, देउढुंगा र दोलखा जिल्लाको कालिञ्चोक लगायत अग्लो स्थानको साइटसिन गराइनेछ । हेलिकोप्टर चढेर हिमाली क्षेत्रको दृश्यावलोकन सहितको दुई दिने प्याकेज होटेलले उपलब्ध गराउने शेर्पाले बताए ।
पूर्व एमालेबाट भोटेकोसी गाउँपालिकामा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका शेर्पाले स्थानीयलाई रोजगार दिने उद्देश्यले होटलमा लगानी गरेको बताए । ‘दुई सय जति स्थानीय युवालाई रोजगार दिने मेरो योजना छ,’ उनले भने, ‘लाष्ट रिसोर्टमा बन्जी गर्न आउने पर्यटक, तिब्बतको कैलाश मानसरोवर जाने भारतीय तिर्थालु र खासाबाट बाह्रबिसेसम्म घुम्न आउने चिनियाँ पर्यटकलाई सुविधायुक्त होटल चाहिएको थियो । त्यो आवश्यकता हाम्रो होटलले पूरा गर्छ ।’ होटलमा काम गर्ने स्टाफ सबै स्थानीय हुने उनले सुनाए ।
शेर्पासहित एक दर्जन उद्यमी मिलेर एक अर्बभन्दा बढी लगानीमा स्थापना भइरहेको होटलमा हेलीसहित साहसिक खेलको पनि सुविधा उपलब्ध हुनेछ । होटलबाट भोटेकोसी नदी र हिमाली दृश्य दुवै एकसाथ हेर्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्