२०८१ श्रावण १२
                           

आकाशले ल्याए ‘पार्टी डान्स’ (भिडियोसहित)

चौतारा- इन्द्रावती गाउँपालिका– ६ सल्लेमा जन्मिएका आकाश शाह नेपाली सांगीतिक क्षेत्रमा स्थापित छन् । उनले पछिल्लोपटक ‘पार्टी डान्स’ बोलको भीडियो बजारमा सार्वजनीक गरेका छन् ।

मूलत उनी दृष्टिविहिन हुन् । तर सांगीतिक क्षेत्रमा अब्बल रुपमा स्थापित छन् । उनको यो गीतलाई एजे फिल्मी टिभीले बजारमा ल्याएको हो । जसको मूख्य भूमिकामा शिव क्षेत्री र पवित्रा कार्कीले रहेका छन् । अविनाश ठकुरीको निर्देशनमा बनेको म्युजिक भिडियोमा संगीत र स्वर आकाश शाहकै रहेको छ । शब्द भने विकाश घलेको रहेको छ ।

नेपाली संगीतलाई आफ्नै स्वर, शब्द र संगीतमा ५ वटा गीत प्रदान गरिसकेका शाहले ८ भन्दा बढी गीतमा शब्द र संगीत भरिसकेका छन् । उनको पछिल्लो गीत र म्युजिक भिडियो ‘पार्टी डान्स’ लाई दर्शक स्रोताले खुबै रुचाएका छन् ।
आधुनिक पपलाई आफ्नो क्षेत्र बनाएका शाहको पहिलो गीत ‘मेरो माया’ हो । यसलाई २०७२ सालमा उनले बजारमा ल्याएका थिए । त्यसपछि ‘आँशुले आँखा भिजेपनि’, ‘तिमीले’ र ‘कम्पनीमा मायालाई’ बजारमा ल्याए । दर्शक स्रोताले आफ्नो गीतलाई माया गरेको उनी सुनाउँछन् ।

२ छोरी र श्रीमतिको साथमा रहँदै आएको शाह पेशाले शिक्षक हुन् । चौताराको बनदेवी माविमा अध्यापनरत शाहले भर्खरै शिक्षक सेवा आयोगबाट प्राथमिक तहमा नाम समेत निकालेका छन् । लगाव र मेहनतले आफूलाई सफलता दिँदै आएको उनको ठम्याई छ ।

उनी जन्मजातै दृष्टिविहिन होईनन् । ‘म सात कक्षामा पढ्थें’, दृष्टिविहिन हुनुको कारण उनी खुलाउँछन्– ‘घाँस दाउरा जाँदा मेरो आँखामा खिर्राको दुध पर्यो, मेरो आँखा हेर्न नहुने भयो, उपचार लागि थुप्रै अस्पताल पुगें तर उपचार हुन सकेन । विस्तारै मेरो आँखाको दृष्टि गुम्यो ।’

दृष्टिविहिन हुन पुगेपछि शाह धरानको ज्ञानचक्षु विद्यालयमा कक्षा ८ मा भर्ना भए शाह । ८ कक्षा उत्र्तीण गरेपछि अमरसिंह उमाविमा भर्ना भए र एसएलसी दिए । प्रथम श्रेणीमा उत्र्तीण गरे । ‘दृष्टिविहिन भएर पनि एसएलसी प्रथम श्रेणीमा पास गरेकामा थुप्रैले हौसला र प्रेरणा दिए’, उनी सुनाउँछन् । अहिले त्रिभुवन विश्व विद्यालयमा एमएड गर्दैछन् शाह ।
२०६५ सालदेखि बनदेवी माविमा अध्यापन गराउँदै आएका शाह धरान अध्ययन गर्दाताका नै संगीत क्षेत्रमा लागेको बताउँछन् ।

‘विद्यालयमा हुने विभिन्न कार्यक्रममा म गीत गाउँथें’, उनी विगततिर फर्कन्छन्– ‘कस्तो राम्रो गाएको भन्दै शिक्षक र साथीहरुले हौसला दिन्थे ।’ त्यसपछि आफू संगीत क्षेत्रमानै लाग्छु भनेर अगाडि बढेको उनले बताए ।

गान्दर्भ संगीत साधना केन्द्रबाट संगीत कक्षा लिएको उनले ललितकला क्याम्पसमा समेत संगीतको अध्ययन गरे । शब्द संयोजन गर्न र संगीत भर्न रुचाउने उनले गिटार, हार्मोनियम, किबोर्ड र मादल मज्जाले बनाउँछन् । ‘फुर्सदको बेला संगीत साधना गर्छु’, उनी भन्छन्– ‘मलाई हार्मोनियम बजाएर गीत गुन्गुनाउन खुबै आनन्द आउँछ ।’

दृष्टिविहिन कलाकारहरुलाई सरकारले उपेक्षा गरेकोका उनी सन्तुष्ट छैनन् । ‘हामीजस्तालाई सरकारले केहि सहुलियत दिनुपर्छ’, उनी भन्छन्– ‘गीत रेकर्डिङ, गर्न र भीडियो बनाउन हामीलाई समस्या छ, त्यसप्रति सरकारले ध्यान दिनुपर्छ ।’ छिट्टै अर्को गीत र भिडियो सार्वजनीक गर्ने सोचमा रहेको शाह आफू बाँचेसम्म संगीत क्षेत्रमा लागिरहने बताउँछन् ।

हेर्नुहोस् आकाश शाहको ‘पार्टी डान्स’ :

https://youtu.be/5fHzsKX6VHI

प्रतिक्रिया दिनुहोस्