यू–१६ राष्ट्रिय फुटबल टिमको खेलाडी छनोटमा ‘योग्य’ खेलाडीलाई बाहिर राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीका छोरालाई राष्ट्रिय टिममा समावेश गरिएको खुल्न आएको छ ।
एएफसी च्याम्पियनसिप छनोट खेल्न जोर्डन पुगेको नेपाली टिममा पहिलो रोजाईमा खेल्दै आएको गोलकिपर रोशन नेपाललाई बाहिर राख्दै वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङको छोरालाई टिममा राखिएको खुल्न आएको छ ।
यू–१६ राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै जोर्डन उडेका पथ्युङहाङ नेम्वाङ वरिष्ठ उपाध्यक्ष पंकज विक्रमका छोरा हुन् ।
जोर्डनमा सम्पन्न यू–१६ एएफसी च्याम्पियनसिप छनोटमा नेपालले दुई हार, एक जित र एक बराबरी खेलेको थियो । पहिलो खेलमा घरेलु टोली जोर्डनसंग ७–० ले पराजित नेपालले दोस्रो खेलमा कुवेतसंग १-१ को बराबरी खेलेको थियो ।
यस्तै तेस्रो खेलमा नेपाल ताजिकिस्तानसंग ७–० ले पराजित हुँदा अन्तिम खेलमा श्रीलंकालाई ३-० ले हराएको थियो । एन्फाको खेलाडी छनोट कमिटिले उत्कृष्ट गोलकिपर रोशनलाई टिमबाट बाहिर राख्दै उपाध्यक्षका छोरालाई नेपालको प्रतिनिधित्व गराएर जोर्डन पठाएको हो ।
रोशनले अघिल्लो संकरणको साफ यू–१५ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका थिए । एन्फा एकेडेमीका उत्पादन समेत रहेका रोशन विभिन्न उमेर समूहमा पहिलो रोजाईको गोलकिपरको रुपमा रहदै आएका थिए ।
तर,भारतमा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपमा समेत रोशनलाई टिममा राखिएको थिएन् । यू–१५ च्याम्पियनसिपको छनोट अघि नै उनलाई टिम बाहिर राखिएको थियो ।
‘टिममा नपरेपछि एन्फामा बुझेको थिए । तर बिहान बिहान एन्फा मैदानमा एक्लै अभ्यास गरेको कारण देखाएर कारबाही स्वरुप टिमबाट निकालेको जवाफ पाए ।’ रोशनले भने ।
एन्फा स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष नेम्बाङका छोरालाई टिममा राख्ने योजना सहित नियमित एन्फा एकेडेमीबाट खेलिरहेका रोशनलाई बिहान अभ्यास गरेको आरोपमा कारबाही गरेर एकेडेमीबाट निकालिएको हो ।
प्रतिक्रिया दिनुहोस्