दिपक खत्री ÷असार १७, नेपाल खुला दिसामुक्त घोषणा गरेको पनि ३ वर्ष बढी भइसकेको छ । व्यक्तिहरुले आफ्नो घरमा शौचालय बनाएको भएपनि बजार तथा मानिसको भिडभाड हुने स्थानमा सरकारले सार्वजनिक शौचालयको व्यवस्था गर्न नसक्दा यसले पुर्णता पाउन सकेको देखिदैन ।
सिन्धुपाल्चोक सदरमुकाम समेत रहेको मुख्य बजार चौतारामा एउटा पनि सार्वजनिक शौचालय छैन । मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा जिल्लाभरीबाट सरकारी कामकाज तथा दैनिक आवश्यकताका साम्रगी किनमेल गर्न आउनेहरुले शौच गर्न खुल्ला स्थान या चीया खाजा खाने वाहानामा होटल छिर्नुपर्छ । जिल्लाको मुटु समेत मानिने चौतारा बजारमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट बजार आएका र प्रशासन, मालपोत जस्ता कार्यालयमा काम लिएर आएकाहरुले समस्या हुने गरेको बताउछन् ।
बजारमा शौंच लागेपछि वास बसेको होटल वा कोठा पुग्ने सम्भावना नभएकोले धेरै मानिसहरु शान्त ठाउँ खोजेर विसर्जन गर्ने गरेको देखिन्छ । चौतारा बसपार्क अगाडी एउटा शौचालय रहेपनि हाल सो शौचालय प्रयोग गर्न सकिने अवस्थाको छैन । उक्त शौचालयमा पानीको उचित व्यस्थापन नहुँदा शौचालय हुनु र नहुनुको कुनै अर्थ छैन । शौचालयको ढोका पनि भत्किएको छ । यसअघि चौतारा टुडिखेलमा निमार्ण गरिएको शौचालय समेत भत्काएर मिनि रगंशाला निमार्ण गर्न थालिएको छ । सवारी साधनबाट घण्टौको यात्रा गरेर बस काउन्टर क्षेत्रमा यात्रु ओर्लिएपछि शौचालय नहुँदा निक्कै पिडा भोग्नु परेको छ ।
पुर्वजहरुले भोट गएर आउदा थकाइ मार्ने चौतारीको लामो ईतिहास बोकेको चौतारा बजारमा अहिलेसम्म पनि कुनै मुख्य बजारमा सार्वजनिक शौचालय नहुनु लज्जाको विषय बनेको छ । नगर क्षेत्रभित्र सार्वजनिक शौचालय र स्वच्छ खानेपानीको ब्यवस्था गर्न नगरपालिकालाई स्थानियले पटक पटक ध्यानाकर्षण गराउने गरेका छन् । सार्वजनिक शौचालय नहुदा समस्या उत्पन्न भएकोले मुख्य बजारमा ब्यबस्थित शौचालय बनाउन प्राथमिकता दिने चौतारा साँगाचोकगढी नगरपालिका बताउछ । श्रोत जुटाएर र अन्य कार्यालय सँग समन्वय गरेर सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उप प्रमुख सिता थापाको भनाई छ ।
सिन्धुपाल्चोक जिल्लामा नै व्यवस्थित शौचालय नहुँदा सर्वसाधारणहरुले समस्या भोग्नु परेको छ । नेपाललाइ खुला दिशामुक्त घोषण भए पनि कार्यान्वयमा यो लागू हुन सकेको छैन । मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत तत्व हो । निजीका साथसाथै सार्वजनिक शौचालय हुनु व्यवस्थित बजारको उदाहरण पनि हो ।
प्रतिक्रिया दिनुहोस्