२०८२ असार २०

स्वास्थ्य परीक्षणलाई तिब्र बनाउँदै नगरपालिका

चौतारा- कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण नियन्त्रणका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो १४ वटै वडामा नागरिकको स्वास्थ्य परीक्षणलाई तिब्रता दिएको छ ।

स्वास्थ्य परीक्षण अभियानको पहिलो चरणमा विदेशबाट आएकाहरु र उनीहरुको परिवारको स्वास्थ्य परीक्षण गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शुक्रबारसम्ममा नगरपालिका भित्रका ८, ९, १०, १२, १३, १४ नम्वर वडाहरुमा स्वस्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिए । विभिन्न देशमा काम गरी फर्केका १२ र देशभित्रका विभिन्न स्थानबाट आएका ८ परिवारका ८७ जनाको स्वास्थ्य परीक्षण गरिसकिएको शाखाले जनाएको छ । अन्य वडाहरुमा क्रमशः स्वास्थ्य परीक्षण गरिने जनाईएको छ ।

परीक्षण गरिएकाहरुको स्वास्थ्य स्थिति सामान्य रहेको जाँच कार्यमा संलग्न चौतारा अस्पतालका मेडिकल अधिकृत डा. निश्चल बोगटीले जानकारी दिए । ‘परीक्षण गरिएकाहरुको स्वास्थ्यमा सामान्य रहेका पाएका छौं’, डा. बोगटीले भने– ‘हामीले उहाँहरुलाई होम क्वारेन्टाइनमा सुरक्षित रहन सल्लाह दिने गरेका छौं ।’

स्वास्थ्य परीक्षणका लागि चौतारा साँगाचोक नगरपालिकाको प्रमुख एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बागमती प्रदेश सल्लाहकार समितिका सदस्य अमानसिं तामाङसहित चिकित्सकको टोली प्रत्येक स्वास्थ्य केन्द्रहरुमा पुग्ने गरेको छ । तामाङले स्वास्थ्य परीक्षणका लागि आएकाहरुलाई कोरोनाका कारण खाद्यान्नको अभाव हुन सक्ने भन्दै कृषि पेशालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाब दिने गरेका छन् । ‘नेपालमा कोरोना भाइसरका कारण सबै वैदेशिक नाकाहरु बन्द छ, अझैं केहि महिना बन्द हुन सक्ने सम्भावना छ’, प्रमुख तामाङले भने– ‘अहिले भण्डारण भएका खाद्यान्नले बढीमा ५ महिना टिक्छ त्यसपछि भोकम रीको अवस्था आउन सक्छ, त्यसैले सबै नगरबासीले कृषि उत्पादनमा जोड दिई आत्मनिर्भर बन्न सक्नुपर्दछ ।’

मानिसहरुले राहतको अपेक्षा गरिरहेका भन्दै तामाङले यो समय राहत लिने नभई आफैं कृषि उत्पादनमा लाग्नुपर्ने बताए । ‘नगरले खाद्यान्न दिने होईन, नगरबासीहरुलाई कृषि उत्पादनको लागि बीउ र मलको व्यवस्था गर्ने छ’, तामाङले भने– ‘यसलाई सहि सदुपयोग गर्न सकियो भने हामी कसैको भरमा बाँच्नु पर्दैन र हामीले उत्पादन गरेको खाद्यान्नलाई बजारमा लगि बेच्न समेत सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्