२०८३ मंसिर १०

#16DaysOfActivism: आज मेरो मन किन भारी छ?

आकृती घले-

सँधैको जस्तै सामान्य दिन।

बिहान चिया खाँदै फेसबुक स्क्रोल गरिरहेकी थिएँ। अचानक एउटा समाचार आँखामा पर्यो।

मुटु हल्लाउने…आँखाभरि आँसु ल्याउने…रगत उमाल्ने।

माया, दया, क्रोध, आफूले केही गर्न नसकेको हिन्नताबोध, लाचारी र पश्चाताप एकैचोटि महसुस गराउने।

एउटी आमा।

आफ्नो काखमा रहेको सानो शिशुलाई स्तनपन गरैरहेकी आमा।

सामान्यतया यो संसारकै सबैभन्दा कोमल दृश्य हुनुपर्थ्यो। ममता, सुरक्षा, स्नेह र जीवनको निरन्तरताको प्रतीक।

तर त्यो दृश्यले मलाई शान्त बनाएन।त्यो दृश्यले मेरो मुटु चिर्यो।

किनकि त्यो आमा १४ वर्षकी बालिका रहिछिन्।

१४ वर्ष!!!

जुन उमेरमा एउटा बच्चाले विद्यालय जानुपर्ने हो, साथीहरूसँग खेल्नुपर्ने हो, सपना देख्नुपर्ने हो, भविष्य बनाउने कुरा सोच्नुपर्ने हो। त्यही उमेरमा उनी बालविवाहको शिकार भइन्। गर्भ बोक्न बाध्य भइन्। सुत्केरी भइन्। मातृत्व र आफ्नै ससुराबाट बारम्बार बलात्कार !!

सुत्केरी अवस्थामा पाउनुपर्ने माया, साथ, सहयोग र संरक्षण त कति टाढाको कुरा भयो, उनी हिंसा, शोषण र अपमानको चक्रभित्र थिचिइरहेकी रहिछिन्। जुन समयमा म तातो चियाको स्वाद लिँदै, घामको न्यानोपन महसुस गर्दै, आज के खाने, के लगाउने, अफिसमा के गर्ने भन्ने सामान्य स्वतन्त्रताहरू उपभोग गरिरहेकी थिएँ, त्यही समयमा एउटी बालिका भने आफ्नो बाल्यकाल हराएको, आफ्नो शरीरमाथिको अधिकार खोसिएको र आफ्नो आवाज दबाइएको पीडा बोकेर बाँचिरहेकी थिइन्। आफ्ना रोजाइहरूको बारेमा सोच्ने स्वतन्त्रतामा थिएँ, तर उनी भने आफ्नै जीवनबारे निर्णय गर्ने अधिकारसमेत खोसिएको अवस्थाबाट गुज्रिरहेकी थिइन्। यही असमान यथार्थले आज मेरो मन असाध्यै भारी बनाएको छ।

म बारम्बार सोचिरहेकी छु,

एउटी १४ वर्षकी सुत्केरी बालिकाले आखिर कति पीडा सहनुपर्छ?

कति पटक उसको बाल्यकाल मारिनुपर्छ?

कति पटक उसको मानवता खोसिनुपर्छ?

आज उनको समाचार सिंगो नेपाली समाजले हेर्दै छ।चिया चौतारीदेखि सामाजिक सञ्जालसम्म उनी ताताताता बहसको विषय बनेकी छिन्। सबैले उनको अनुहार देखेका छन्।उनको तस्बिर देखेका छन्। तर मैले एउटा कुरा देखिनँ। कसैले त्यो बालीकाको पहिचान लुकाएको देखिनँ। कसैले उसको गोपनीयताको संरक्षण गरेको देखिनँ।कसैले सार्वजनिक रूपमा ती अपराधीहरूको अनुहार देखाएको देखिनँ।

तर जसले उनलाई यो अवस्थामा पुर्‍याए, ती अपराधीहरूको बारेमा भने हामी कति कुरा गरिरहेका छौँ? १३ वर्षकी बालिकालाई विवाह गर्न दिने परिवार, १३ वर्षकी बालिकासँग विवाह गर्ने २२ वर्षे युवक, त्यो विवाहलाई स्वीकार्ने परिवार, “घरभित्रको कुरा हो” भनेर मौन बस्ने समाज, सुत्केरी बालिकामाथि यौन हिंसा गर्ने ससुरा र पीडितको परिचय, अनुहार र तस्बिर जथाभावी फैलाइदिने हाम्रो संवेदनाहीन डिजिटल समाज पनि दोषी छ।

महिला। त्यसमाथि बालिका।त्यो पनि एक सुत्केरी आमा। न्ह त उनीसंग केही पावर छ, न्ह त उनको लागी लडीदिने आवाज उठाउने कोही छ?उनको गोपनीयता भंग गरिँदा कसलाई के नै फरक पर्ने हो र?

उसैको बदनाम हुन्छ। दुई-चार दिन मान्छेहरू चिया पसलमा कुरा गर्छन्, सामाजिक सञ्जालमा बहस गर्छन्, अनि बिस्तारै अर्को समाचारले यो घटना छोपिदिन्छ। तर समाजले बिर्सिए पनि ती बालिका र उनका शिशुले बोक्नुपर्ने पीडा, अपमान र आघात भने वर्षौँसम्म मेटिँदैन। हिंसा कहिल्यै एक्लो अपराधीले मात्र सम्भव बनाउँदैन।हिंसा सम्भव हुन्छ, जब अरू सबै मौन बस्छन्।यही मौनताले हजारौँ बालिकालाई सन्देश दिन्छ:

“बोलेर के हुन्छ?”

“अन्ततः दोष त तिमीमाथि नै आउने हो।”

र यही नै सबैभन्दा खतरनाक कुरा हो। यही कारणले धेरै छोरीहरू आफूमाथि भएको हिंसा बरु चुपचाप सहन्छु भन्ने मानसिक दबाबमा बाँच्छन्।

आजको यो समाचारले मेरो मन असाध्यै भारी भएको छ।

काखमा रहेको त्यो अबोध शिशु…र यति सानो उमेरमा यो सबै एकैचोटि झेलिरहेकी ती बालिका आमा…म त्यहाँ एउटी बालिकाले भोगेको यौन शोषण र यौन हिंसा मात्र देख्दिनँ। म त्यहाँ अन्याय देख्छु। शक्ति सम्बन्धको क्रूर दुरुपयोग देख्छु। संरक्षण गर्नुपर्नेहरू नै पीडक बनेको यथार्थ देख्छु। र एउटा सिंगो समाजको असफलता देख्छु।

हामीले र हरेक समाजले फेरि पनि सम्झिन र बुझ्न जरुरी छ कि,

पीडित कहिल्यै दोषी हुँदैन। उनले लगाएको कपडा, उनको व्यवहार, उनको निर्णय, उनको हाउभाउ, उनको अवस्था वा उनको परिस्थितिको आधारमा हिंसालाई उचित ठहर गर्न सकिँदैन, हुँदैन र मिल्दै मिल्दैन। कसैले पनि कुनै बहानामा अर्को व्यक्तिको अधिकार हनन गर्न पाउँदैन, हुँदैन र मिल्दै मिल्दैन।

आज म जे महसुस गरिरहेकी छु, त्यो मेरो संवेदनशीलता हो र म एक्लैले सबै बालिकाहरूलाई बचाउन सक्दिनँ। म एक्लैले सम्पूर्ण समाज परिवर्तन गर्न सक्दिनँ। तर अरू गर्न नसके पनि म उनीहरूको पीडा महसुस गर्न सक्छु। उनीहरूको पक्षमा आवाज उठाउन सक्छु। मौन बस्न अस्वीकार गर्न सक्छु।

किनकि धेरै पटक हिंसाले शक्ति अपराधीको हातबाट मात्र पाउँदैन, हाम्रो मौनताबाट पनि पाउँछ।

आज हामी सबैले आफ्नो ठाउँबाट आवाज उठाउने हो भने, प्रश्न गर्ने हो भने, खबरदारी गर्ने हो भने, प्रतिकार गर्ने हो भने हिंसा गर्नेहरूको सातो जान्छ। उनीहरूले समाज मौन छ भन्ने विश्वास गुमाउँछन्।सायद हामीले हरेक पीडितलाई बचाउन नसकौँला।

तर अपराधीहरूलाई सहज वातावरण भने दिनु हुँदैन।

बालिकामाथिको यौन हिंसा कुनै पारिवारिक विषय होइन, अपराध हो।

बालविवाह संस्कार होइन, हिंसा हो।

र,

मौनता कहिलेकाहीँ तटस्थता होइन, अपराधीको पक्षमा उभिनु हो।

आज त्यो १४ वर्षे बालिकाका लागि आवाज उठाऔँ।

उनीका लागि मात्र होइन, बोल्न नपाएका, बोल्न नदिइएका, र बोलेपछि झन् दोषी ठहर गरिएका हजारौँ बालिकाहरूका लागि आवाज उठाऔँ। किनकि कुनै पनि बालिकाले बाल्यकालको ठाउँमा मातृत्व, विद्यालयको ठाउँमा पीडा, र सपनाको ठाउँमा हिंसा बोक्न बाध्य हुनु हुँदैन। हाम्रा समाजहरूमा अझै पनि बलात्कृत बालिकाले आफू निर्दोष भएको प्रमाण दिनुपर्छ, तर बलात्कारीले अपराधी नभएको प्रमाण दिनुपर्दैन। यो केवल कानुनी होइन, हाम्रो सामूहिक नैतिक असफलता पनि हो।

प्रतिक्रिया दिनुहोस्