२०८३ मंसिर ९

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, सार्वजनिक यातायातमा सचेतनामूलक स्टिकर

चौतारा/ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका स्थित टुँडिखेलमा सार्वजनिक यातायातका साधनमा सचेतनामूलक स्टिकर टाँसिएको छ।

चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा विभिन्न संघसंस्था तथा सञ्जालको समन्वय र प्रहरीको साझेदारीमा कार्यक्रम गरिएको हो।

सार्वजनिक यातायातका साधनमा टाँसिएका स्टिकरमार्फत ‘लैङ्गिक हिंसा सहँदैनौँ, हिंसा गर्दैनौँ र हिंसा भएको अवस्थामा उजुरी तथा खबरदारी गर्छौँ’ भन्ने सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा बालविवाहलगायत सबै प्रकारका हिंसा, विभेद र सामाजिक कुरीतिविरुद्ध एकजुट हुनसमेत आह्वान गरिएको थियो।

नगरपालिकाका अनुसार अभियानलाई सार्वजनिक यातायातमा मात्र सीमित नराखी नगरपालिका क्षेत्रका वडा, टोल र बस्तीहरूसम्म विस्तार गरिनेछ। आगामी दिनमा अपाङ्गता दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछन्।

विगतका वर्षमा सञ्चालन गरिएका यस्ता कार्यक्रमबाट प्रभावकारी नतिजा प्राप्त भएको र समुदायबाट सकारात्मक सुझाव आएकाले ती अनुभवलाई आत्मसात् गर्दै यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख सीता थापाले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी सचेतना, सामाजिक जागरण, पीडितको न्यायमा पहुँच र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। उनले हिंसाविरुद्ध आवाज उठाउन, घटनाबारे उजुरी गर्न र आवश्यक खबरदारी गर्न सबैलाई आग्रह गर्दै हिंसामुक्त, सुरक्षित तथा समानतामूलक समाज निर्माणका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्