२०८३ जेष्ठ १४

कैदीबन्दीदेखि कर्मचारीसम्मको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न

चौतारा | चौतारा अस्पताल सिन्धुपाल्चोकको आयोजना र ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोक जिल्ला शाखाको सहकार्यमा गणतन्त्र दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चौतारा टुँडिखेल परिसरमा आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो ।


कार्यक्रममा जम्मा ३१ जनाले रक्तदान गरेका थिए । जसमध्ये १० जना जिल्ला कारागार सिन्धुपाल्चोकका कैदीबन्दीहरूले समेत रक्तदान गरी सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले स्वयं रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।


प्रमुख जिल्ला अधिकारी घिमिरेले रक्तदान जीवनदानसँग जोडिएको महान कार्य भएको उल्लेख गर्दै समाजमा मानवता, सहयोग र सद्भावको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिँदै आपतकालीन अवस्थामा रगतको अभाव हुन नदिन सबै नागरिक सचेत हुनुपर्ने धारणा राखे ।अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष केशवराज गिरीले चौतारा अस्पतालले स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको बताए । त्यस्तै भरखरै मात्र चौतारा अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रूपमा जिम्मेवारी लिएका डा. विवेक भण्डारीले रक्तदानले एक व्यक्तिको मात्र नभई अनेकौं जीवन बचाउन सक्ने बताए । उनले नियमित रक्तदान स्वास्थ्यका दृष्टिले पनि लाभदायक रहेको उल्लेख गर्दै युवापुस्तालाई रक्तदान अभियानमा सक्रिय रूपमा जोडिन आग्रह समेत गरे ।


कार्यक्रमका दिन नै जन्मदिन परेको अस्पतालका कर्मचारी तथा नियमित रक्तदाता ध्रुव आचार्यको जन्मोत्सव विशेष रूपमा मनाइएको छ । रक्तदान कार्यक्रमको अवसर पारेर कार्यक्रम स्थलमै ब्लोदानको आयोजनामा उनको जन्मदिन उत्साहपूर्ण वातावरणमा मनाइएको हो । सामाजिक सेवासँगै मानव जीवन बचाउने कार्यमा निरन्तर योगदान दिँदै आएका आचार्यलाई आयोजक संस्थाले सम्मानसमेत व्यक्त गरेको थियो । उक्त क्षणले रक्तदान जस्तो पवित्र कार्यसँग व्यक्तिगत खुशीलाई जोड्दै अझ प्रेरणादायी वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन् ।
त्यसैगरी ब्लोदान सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजूका अनुसार रक्तदानमार्फत संकलित रगत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरूको आवश्यकताका लागि प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्