सिन्धुपाल्चोक। नेपाली सांगीतिक क्षेत्रमा गायन, गीत लेखन, संगीत सिर्जना र व्यवस्थापनमार्फत आफ्नो पहिचान बनाउँदै आएका कलाकार हुन्, चन्द्रसिंह घले । सिन्धुपाल्चोकसँग जोडिएका घलेले प्रेम, वियोग, वैदेशिक रोजगारीको पीडा र जन्मभूमिप्रतिको भावनालाई गीत-संगीतमार्फत प्रस्तुत गर्दै आएका छन् ।
गायकसँगै गीतकार तथा संगीतकारका रूपमा सक्रिय घलेका ‘जय जन्मभूमि, जय सिन्धुभूमि’, ‘लाहुरे’, ‘घले राजा घले रानी’ र ‘सहारा बनी’ लगायतका सांगीतिक सिर्जना सार्वजनिक भएका छन् ।
सन् २०१९ मा सार्वजनिक ‘जय जन्मभूमि, जय सिन्धुभूमि’ मा वरिष्ठ गायक प्रेमध्वज प्रधानसँगै घले र मीना सिंहको स्वर रहेको छ । सिन्धुपाल्चोकको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक पहिचान समेटिएको उक्त सिर्जनामा घलेले संगीत दिएका थिए ।
त्यस्तै, गायिका रानी शाक्यसँगको सहकार्यमा सार्वजनिक ‘लाहुरे’ गीतले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पीडा प्रस्तुत गर्छ । चर्चित गायिका मेलिना राईसँगको सहकार्यमा सार्वजनिक ‘घले राजा घले रानी’ पनि उनका उल्लेखनीय सिर्जनामध्ये एक हो ।
घलेले वि.स २०८२ सालमा ‘प्रेमध्वज- किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत पुरस्कार’ प्राप्त गरेका थिए । गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले सिन्धुपाल्चोकको चौतारामा आयोजित कार्यक्रममा उनलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो ।
यसका अतिरिक्त, घलेका उनले वि.स २०७५ सालमा ‘सहारा बनी’ बोलको गीतबाट सर्वोत्कृष्ट पप गायक विधामा राष्ट्रिय अवार्डसमेत प्राप्त गरेका छन् ।
गायन र संगीत सिर्जनामा मात्र सीमित नरहेका घले नेपालको चर्चित संगीत कम्पनी एसियन म्युजिक नेपालका मार्केटिङ म्यानेजर तथा सिन्धु कला मन्दिरका अध्यक्ष समेत रहेको छन् । यी जिम्मेवारीमार्फत उनी संगीतको बजार व्यवस्थापनसँगै स्थानीय कला, संस्कृति र कलाकारहरूको प्रवर्द्धनमा पनि संलग्न छन् ।
नेपाली संगीतका स्थापित कलाकारहरूसँग सहकार्य गर्दै आएका घलेले जन्मभूमिको पहिचान र सामाजिक विषयवस्तुलाई आफ्ना सिर्जनामा स्थान दिदै आएका छन् ।
सांगीतिक सिर्जना, राष्ट्रिय स्तरका सम्मान तथा संस्थागत जिम्मेवारीलाई सँगसँगै अघि बढाइरहेका चन्द्रसिंह घले सिन्धुपाल्चोकसँग जोडिएका सक्रिय सांगीतिक व्यक्तित्वका रूपमा परिचित छन् ।




