२०८३ मंसिर ५

गौराती मेलाको अवसरमा चौतारामा रक्तदान कार्यक्रम आयोजना हुँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल गौराती मेला अवसर पारेर चौतारामा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । देशभर देखिँदै आएको रगत अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिका-६, स्थित गौराती मन्दिरमा प्रत्येक वर्ष कात्तिक पूर्णिमाका अवसरमा लाग्ने गौराती मेला जिल्लाकै ठूलो धार्मिक मेलामध्ये एक हो। यस वर्ष मंसिर ८ गते परेको मेलाको अवसरमा सामाजिक सेवाको भावनासहित रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान), सिन्धुपाल्चोक शाखाको आयोजना तथा कर्मचारी मिलन केन्द्रको सहआयोजनामा हुने रक्तदान कार्यक्रम मंसिर ८ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चौतारास्थित टुँडिखेलको फल्चामा सञ्चालन हुनेछ ।

ब्लोदान सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष सुरेश कसजूले रक्तदान कार्यक्रममा सहभागी भई मानवीय सेवामा योगदान पुर्‍याउन सबैमा आग्रह गरेका छन् । उनले रक्तदानले आवश्यक परेका बिरामीको जीवन बचाउन महत्वपूर्ण सहयोग पुर्‍याउने भएकाले मेलामा आउने श्रद्धालु, स्थानीयवासी तथा इच्छुक सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्