२०८१ श्रावण १२
                           

जनयुद्धमा लामबद्ध हुन सहिद बुढाथोकीको योगदान महत्वपूर्ण : उपाध्यक्ष सापकोटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जनयुद्धमा लामबद्ध हुन सहिद ईश्वरकृष्ण बुढाथोकीको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जनयुद्धमा लामबद्ध हुन सहिद ईश्वरकृष्ण बुढाथोकीको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

 

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ पिपलडाँडामा जनयुद्धका सहिद ईश्वरकृष्ण बुढाथोकी (कञ्चन प्रियदर्शी) का पिताको श्रद्धाञ्जली कार्यक्रममा निवर्तमान सभामुख समेत रहेका सापकोटाले प्रियदर्शीको योगदान स्मरण गरेका हुन् । गृहजिल्लामा भएको सो कार्यक्रममा उनले २०५२ सालमा जनयुद्ध सुरु गर्ने बेलाका राजनीतिक घटनाक्रमसमेत सम्झिए । सहिद कन्चनका पिता बालकृष्ण बुढाथोकीको निधन भएको १३ औं दिनमा आयोजित शोक सभामा उपाध्यक्ष सापकोटाले कुविण्डेमा महिलाका चुरा पोते फुटाइएको विषयलाई ‘स्टेप नाघेको’ संज्ञा दिदै सो विषयलाई सहिद कञ्चन प्रियदर्शीले ‘कुविण्डेमा जनमोर्चाको चुरा पोतेको क्रान्ति’ शीर्षकमा गरेको आलोचनात्मक टिप्पणी अहिले पनि मननयोग्य रहेको बताए । ‘कन्चन प्रियदर्शीसँग धेरै राम्रो सम्बन्ध थियो, समर्थक र शुभचिन्तक भइसक्नु भएको थियो, आलोचनाको बोध हुँदै गयो, ठिक कुरा उठाएपछि त्यसलाई नमानी सुखै छैन’ उनले भने । सापकोटाले जनयुद्धमा लामबद्ध हुन अद्भूत चेतनाको प्रादुर्भाव गराउन प्रियदर्शीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै महान छोराका पिता बालकृष्ण बुढाथोकीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ पिपलडाँडाका युवा ईश्वर कृष्ण बुढाथोकी (कञ्चन प्रियदर्शी) एक सशक्त पत्रकार मात्रै नभएर चर्चीत साहित्यकार समेत थिए । आफ्नो तिखो कलमले दमनकारी सत्ताको नाकैमा ठुंग्न सक्ने अद्भूत क्षमताका चिन्तन पत्रकारिताकै क्रममा माओवादी आन्दोलनमा पूर्णकालिन भएर समाहित भएका थिए ।

 

वि.स. २०५९ बैशाख १६ गते चौतारास्थित नयाँ श्रीनाथ गणका सेनाले बलेफी गाउँपालिकाको जलविरे बजारबाट ढाँडेतर्फ जाने क्रममा ३२ बर्षिय उनलाई साँघुबोटे नजिकै निशस्त्र हिँडिरहेको अवस्थामा लखेटेर गोली हानेर मारेको थियो । आमा लक्ष्मी र बाबु बालकृष्णका छोरा उनको जन्म २०२६ साल भदौ १७ गते भएको थियो । उनका श्रीमती शोभा र एक छोरी छन् । माओवादी आन्दोलनका लाग्नु अघि नै समाज परिवर्तनमा फरक पहिचान बनाउन सफल उनी सिन्धुपाल्चोकको जनपक्षिय पत्रकारिता र साहित्यमा सँधै स्मरणीय र सम्मानित छन् ।

उनका पिताको श्रद्धाञ्जली सभामा माओवादी केन्द्रका नेता एवं चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, प्रतिनिधि सभा सदस्य एवं युवा नेता माधव सापकोटा, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं युवा नेता युवराज दुलाल, बागमती प्रदेश सभा सदस्य समेत रहेका माओवादी बागमती पार्टी अध्यक्ष सरल सहयात्री पौडेल, सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख गोविन्द पराजुली लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्