२०८३ आश्विन १७

सहकारीमा बेथितिमाथि नगर प्रमुख सापकोटाको प्रहार, उज्यालो सहकारीको पारदर्शिताको प्रशंसा

चौतारा । उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा सम्पन्न भए पनि संस्थाको नयाँ नेतृत्व चयनका लागि सातोैँ अधिवेशन भने जारी रहेको छ । वडा अध्यक्ष शिव श्रेष्ठ लगायत वित्तीय क्षेत्र संग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख सापकोटाले लामो समयदेखि निरन्तर र व्यवस्थित रूपमा सहकारी सञ्चालन गर्दै आएकोमा उज्यालो बचत तथा ऋण सहकारीको प्रशंसा समेत गरे । उनले संस्थाले आफ्ना सदस्यप्रति पारदर्शी र जवाफदेही भएर काम गर्नु सकारात्मक पक्ष भएको बताए ।


सहकारी क्षेत्रमा पछिल्लो समय राष्ट्रिय स्तरमै उठेका अनियमितता तथा ठगीसम्बन्धी विषयप्रति टिप्पणी गर्दै नगर प्रमुख सापकोटाले सहकारी संस्थाहरूमा नियमन, पारदर्शिता र जवाफदेहिता अझ बलियो बनाउनुपर्ने धारणा राखे । राष्ट्रिय राजनीतिमा चर्चामा रहेका सहकारीसम्बन्धी विवादलाई संकेत गर्दै उनले राज्यको निगरानी र अनुसन्धान प्रभावकारी हुनुपर्नेमा जोड दिए । उनले उज्यालो सहकारीजस्ता संस्थाले आफ्नो कामकारबाहीमा कायम राखेको पारदर्शिताबाट अन्य सहकारीले पनि सिक्नुपर्ने बताए ।


साधारणसभामा संस्थाको आर्थिक अवस्थाबारे कोषाध्यक्ष ललित रानाले जानकारी गराएका थिए । उनका अनुसार संस्थामा हाल ९१५ जना पुरुष र १ हजार ४० जना महिला गरी कुल १ हजार ९५५ जना शेयर सदस्य रहेका छन् ।
संस्थाको शेयर पुँजी ११ करोड ७१ लाख १० हजार २ सय रुपैयाँ रहेको छ भने कर्जा लगानीमा रहेको रकम २२ करोड ५५ लाख २७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थामा १८ करोड ५१ लाख ६६ हजार ६ सय ५६ रुपैयाँ निक्षेप रहेको जानकारी दिइएको छ ।


साधारणसभा सम्पन्न भएसँगै अहिले संस्थाको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको छ । शेयर सदस्यहरूले मतदानमार्फत आगामी कार्यकालका लागि अध्यक्षसहित सञ्चालक समिति चयन गर्नेछन् ।
अध्यक्ष पदका लागि ललित राना र मीन बस्नेतले उम्मेदवारी दिएका छन् । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहेकाले नेतृत्वको टुंगो भने मतदानपछि मात्रै लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्