२०८१ श्रावण १२
                           

चितवनले उचाल्यो भदौरे गणेश कप

चौतारा- चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारीमा सञ्चालन भएको बागमती प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि चितवनले जितेको छ ।

फाईनलमा प्रवेश गरेको टीम रामेछापलाई हराउँदै चितवनले भदौरे गणेश कप जितेको हो । चितवन र रामेछापबीच भएको फाईनल खेलमा २५–२०,२५–२३ र २५–२४ को सोझो सेटमा रामेछापलाई पराजीत उपाधि जित्न सफल भएको हो । उपाधि जितेसँगै चितवनले नगद २ लाख २० हजार २० रुपैयासहित ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको रामेछापले १ लाख १ हजार १० रुपैंयाको साथै ट्रफी र मेडलमा चित्त बुझाएको छ ।

खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका चितवनको जर्सी नं. ६ का दुर्गाबहादुर मगर उत्कृष्ट खेलाडी बन्न सफल भए । उनलाई ट्रफीसहित नगद ५ हजार रुपैंया प्राप्त गरे । त्यस्तै उत्कृष्ट स्पाईकर रामेछापका जर्सी नं. ६ का खेलाडी सुजन खड्का, उत्कृष्ट सेटर चितवनका जर्सी नं. ३ का रामबहादुर थापा मगर, उत्कृष्ट सर्भर रामेछापका जर्सी नं. ९ का दिपक थापा, उत्कृष्ट ब्लकर चितवनका जर्सी नं. ७ का ओमकुमार कार्की, उत्कृष्ट लिबेरो चितवनका जर्सी नंं ११ का चिन्तामणी चौधरी बन्न सफल भए उनीहरुलाई ट्रफीसहित नगद् ५ हजार रुपैया प्रदान गरिएको थियो । उत्कृष्ट कोचको उपाधि चितवनको तर्फबाट रमेशचन्द विकले प्राप्त गरे ।

विजेता र उपविजेता बनेको टीमलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ट्रफी, चेक, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

भदौरे गणेश सामाजिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सहआयोजनामा भएको प्रथम भदौरे गणेश कप पुस २६ बाट सुरु भएको थियो । यो पुरस्कार राशी सिन्धुपाल्चोक जिल्लामै भलिबल खेलको सबैभन्दा ठूलो राशीको खेल थियो । खेलमा ११ जिल्लाका खेलाडीहरुले सहभागिता जनाएका थिए । भ्रमण वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न पर्यटकीय स्थलको प्रचार व्यानर राखिएको थियो भने खेलाडीलाई पनि होमस्टेमा बस्ने व्यवस्था मिलाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्