चौतारा/ जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आर्थिक वर्ष २०८२/८३ को समीक्षा तथा योजना तर्जुमा कार्यक्रम बिहीबारदेखि चौतारामा सुरु भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्, महामारी तथा विभिन्न रोगको नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका अझ महत्वपूर्ण बन्दै गएको बताउनुभयो।
विकसित राष्ट्रका गतिविधिका कारण जलवायु परिवर्तनको असर नेपालजस्ता विकासोन्मुख देशले समेत भोग्नुपरेको उल्लेख गर्दै उहाँले विपद्पछिको स्वास्थ्य जोखिम न्यूनीकरणमा स्वास्थ्यकर्मी अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तथा निजी स्वास्थ्य संस्थाले मापदण्ड पालना नगरेको विषयसमेत उठाइएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अनुगमनका क्रममा दर्जनभन्दा बढी निजी स्वास्थ्य संस्थालाई सिल गरिएको जानकारी दिनुभयो। उहाँले नियम तथा मापदण्ड पालना गरी सञ्चालनका लागि योग्य बनेका संस्थालाई पुनः सञ्चालनको अनुमति दिन सकिने बताउँदै मापदण्ड पूरा नगर्ने संस्थालाई स्थायी रूपमा बन्द गरिने उल्लेख गर्नुभयो।
सिन्धुपाल्चोकको स्वास्थ्य सेवा सुधारका लागि प्रदेशस्तरबाट आवश्यक सहयोग उपलब्ध गराउने बागमती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक वसन्त अधिकारीले बताउनुभयो। जिल्लालाई स्वास्थ्य सेवामैत्री बनाउन स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि तथा आवश्यक व्यवस्थापनमा सहयोग गरिने उहाँको भनाइ थियो।
चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक भण्डारीले जिल्लामै जटिल रोगको उपचार सम्भव बनाउन थप उपकरण तथा दक्ष जनशक्तिको आवश्यकता रहेको बताउनुभयो। माथिल्लो निकायबाट आवश्यक स्रोतसाधनको व्यवस्थापन हुनुपर्ने उल्लेख गर्दै उहाँले अस्पतालले बिरामीलाई सहज सेवा प्रदान गरिरहेको बताउनुभयो। जिल्लाका अन्य स्वास्थ्य संस्थाले पनि सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउनुपर्ने उहाँको भनाइ थियो।
जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मीको सहभागितामा सुरु भएको कार्यक्रममा प्रत्येक पालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका स्वास्थ्यसम्बन्धी कामको छुट्टाछुट्टै प्रस्तुतीकरण गर्नेछन्।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि, चुनौती तथा कमजोरीको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि आवश्यक योजना तथा कार्यक्रम तय गरिने जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा पालिकाहरूबीच स्वास्थ्य सेवासम्बन्धी अनुभव आदानप्रदान गर्नुका साथै नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने स्वास्थ्य कार्यक्रमको योजना तर्जुमा गरिनेछ।
उद्घाटन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीपक अर्याल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. रुपेश तिमल्सिनालगायतले स्वास्थ्य सेवा सुधारका विषयमा धारणा राख्नुभएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले सहभागी तथा अतिथिलाई धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत निशान सापकोटाले गर्नुभएको थियो।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका सरोकारवाला, गैरसरकारी संस्थाका प्रतिनिधि तथा जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ।





प्रतिक्रिया दिनुहोस्