सिन्धुपाल्चोक । चाडपर्व नजिकिँदै गर्दा चौतारा साँगाचोकगढी नगरपालिकाले बजार क्षेत्रमा सञ्चालनमा रहेका मासु पसल तथा बधशालाको अनुगमनलाई तीव्रता दिएको छ । उपप्रमुख सीता थापाको नेतृत्वमा बुधबार अनुगमन टोलीले वडा नं. ५ र ७ मा सञ्चालित ११ वटा मासु पसल र २ वटा बधशालाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मासु पसलको सरसफाइ, मासु राख्ने तथा बिक्री गर्ने स्थानको अवस्था, बधशालाको व्यवस्थापन लगायतका विषयमा निरीक्षण गरिएको थियो । उपभोक्ताले दैनिक उपभोग गर्ने खाद्य वस्तुको गुणस्तर र स्वच्छता कायम गराउनु अनुगमनको मुख्य उद्देश्य रहेको नगरपालिकाले जनाएको छ ।
अनुगमन टोलीमा वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठ, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेल, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका प्रतिनिधिलगायत सहभागी थिए ।
अनुगमनका क्रममा अधिकांश मासु पसलमा सरसफाइको पक्षमा अझै सुधार आवश्यक देखिएको उपप्रमुख थापाले बताइन् । बधशालाहरूलाई पनि व्यवस्थित र स्वच्छ बनाउनुपर्ने उनको भनाइ छ । नगरपालिकाले विभिन्न समयमा अनुदान तथा सहयोग उपलब्ध गराउँदै आए पनि अपेक्षाअनुसार मासु पसलहरू व्यवस्थित हुन नसकेको उनको भनाइ छ ।

चाडपर्वको समयमा मासुको खपत सामान्य दिनको तुलनामा बढ्ने भएकाले यस्ता अनुगमनको सामाजिक र स्वास्थ्यसम्बन्धी महत्त्व अझ बढ्ने गर्छ । अस्वच्छ वातावरणमा मासु बिक्री वितरण हुँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले पसल सञ्चालकले सरसफाइ, सुरक्षित भण्डारण र स्वच्छ बिक्री प्रणालीमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।उपप्रमुख थापाले आगामी दिनमा खाद्य विज्ञसहितको टोली बनाएर थप अनुगमन गर्नुपर्ने आवश्यकता रहेको समेत बताइन् । अनुगमनलाई केवल कमजोरी औंल्याउने कार्यका रूपमा नभई व्यवसायीलाई आवश्यक सुधारका लागि सचेत गराउने र उपभोक्तालाई सुरक्षित खाद्य सामग्री उपलब्ध गराउने अभियानका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।
चाडपर्वमा बजारमा खाद्य वस्तुको माग बढ्ने भएकाले नियमित अनुगमन, व्यवसायीको जिम्मेवारी र उपभोक्ताको सचेतना तीनै पक्षलाई सँगसँगै अघि बढाउन सके स्वच्छ तथा सुरक्षित खाद्य उपभोगको वातावरण बनाउन सकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्