२०८१ श्रावण १२
                           

नाका नखुल्दा व्यापारिक सामग्री सिगात्सेमै रोकिए

नाका नखुल्दा व्यापारिक सामग्री सिगात्सेमै रोकिए

रामकृष्ण थापा – १२ माघदेखि बन्द तातोपानी र रसुवा नाका कहिले खुल्ने निश्चित भएको छैन । चाइनिज नयाँ वर्ष (स्प्रिङ फेस्टिभल) का लागि चिनिया भन्सार बन्द भएपछि रसुवा र तातोपानी भन्सार पनि बन्द भएका थिए ।
दुवै नाका बन्द भएको २५ दिन भयो । सीमामा नेपाली कन्टेनर लाइन लाएर बसेका छन् । भन्सार, अध्यागमन र क्वारेन्टाइनमा कर्मचारी छैनन् । चिनिया पर्वपछि नियमित रुपमा खुल्नुपर्ने नाका बन्द छ । दुवै नाकामा मानवीय गतिविधि सुनसान छ । चीनको उहान सहरमा फैलिएको कोरोना भाइरसको त्रासले नाकालाई प्रभावित बनाएको हो ।
नेपालका लागि चीनको मेनल्याण्डबाट सामग्री बोकेर आउने ठूला कन्टेनर ल्हासा हुँदै तिब्बतको दोस्रो ठूलो सहर सिगात्से आइरहेका छन् । स्याउ, लसुन, प्याज र रेडिमेड सामान बोकेर ल्हासाबाट छुटेका चिनिया कन्टेनर जाङ्मुपोर्ट (खासा क्षेत्र) मा ४०, न्यालममा ५० र केरुङ आसपासमा पनि ४० गाडी रोकिएका छन् । नेपाल चेम्बर अफ कमर्श भोटेकोसीका अध्यक्ष फुनु शेर्पाले दिएको जानकारीअनुसार करौडौं मूल्यको फलफूल खासा र केरुङ क्षेत्रमा अलपत्र परेको छ । चीनको विभिन्न व्यापारिक सहरमा पुगेर नेपाली व्यापारीले खरिद गरेको पर्याप्त रेडिमेड सामान सिगात्से सहरमा आइपुगेको शेर्पाले बताए । ‘नाका बन्द हुँदा साबिक आठ सय पर्ने डेलिसियस स्याउ कार्टुनको १५ सय पुगेको छ,’ शेर्पाले भने, ‘नाका चाँडै नखुल्ने हो भने स्याउ, लसुन र कपडाको भाउ दोब्बरले बढ्छ ।’
तिब्बत क्षेत्र सुरक्षित
चीन स्वशासित तिब्बतमा कोरोना भाइरसको संक्रमण छैन । सिगात्से सहरमा भन्सार क्लियरिङ एजेण्ट सोनाम पाल्डेनले नयाँ पत्रिकासँग फोनमा कुरा गर्दै भने, ‘चीन सरकारले केरुङ र खासा नाका सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।’ कोरोना भाइरस फैलिन नदिन चीन सरकार सचेत रहेको उनले सुनाएँ । ‘कोरोना भाइरस फैलिएको उहान र स्याउ पाइने टियानसुन सहरको दूरी निकै टाढा छ । सरकारले एक सहरबाट अर्को सहर जाने सडक नै बन्द गरेकोले भाइरस फैलिँदैन,’ पाल्डेनले भने । चीनको मेन ल्याण्डबाट तिब्बत प्रोभिन्स प्रवेश गर्दा कन्टेनर चालक र व्यापारीलाई सरकारले पटकपटक स्वास्थ्य परीक्षण गरेर हेल्थ सर्टिफिकेट दिने गरेको छ । तिब्बत प्रवेश गरेपछि सिगात्सेसम्म आउन १० ठाउँमा क्वारेन्टाइन र स्वास्थ्य परीक्षण गरिन्छ । सिगात्से आएपछि पनि आठ दिन त्यहाँको क्वारेन्टाइन बसेपछि बल्ल केरुङ र खासाको सीमा क्षेत्रसम्म कन्टेनर चलाउन तिब्बत सरकारले अनुमति दिन्छ । व्यापार सुरु गर्न कुनै समस्या नभएको पाल्डेनले स्पष्ट पारेका छन् । फलफूल र रेडिमेड सामान बोकेका कन्टेनर सिगात्से सहरमा भएकोले नेपालपटि जुन नाका पहिला खुल्छ त्यतैबाट सामान लाने तयारी गरिएको उनले बताए । चिनिया पर्व स्प्रिङ फेस्टिभल सकिएको र तिब्बत प्रोभिन्समा ग्याल्पो ल्होसार मनाइरहेकोले हाल भन्सार सञ्चालन भएको छैन । ल्होसार सकेपछि चिनिया भन्सार नियमितरुपमा खुला हुन्छ ।
नाकामा यस्तो तयारी
२५ दिनदेखि बन्द तातोपानी र रसुवागढी नाकामा मानवीय चहलपहल ठप्प छ । वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सीमाको स्वास्थ्य अवस्थाबारे चासो राखेर दुबै नाकाको निरीक्षण गरिसकेका छन् । आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीको युनिट राख्ने तयारी भइरहेको उनले बताएका छन् ।
रसुवागढी नाकामा चाँडै नै नयाँ भवन बनाएर हेल्थ डेस्क राख्ने र स्क्रिनिङको कामलाई अगाडि बढाउने योजना रहेको दुलालले सुनाए । ‘नाका चाँडै खोल्नुपर्छ,’ उनले भने, ‘जोखिमको विश्लेषण गरेपछि उचित समयमा दुवै नाका सञ्चालनमा आउँछन् ।’ तातोपानी नाकामा भने भन्सारको पुरानो भवनमा हेल्थ डेस्क सञ्चालन गरिएको छ । भाइरस परीक्षण गर्ने ल्याबसहित उपकरण र आवश्यक स्वास्थ्यकर्मीको टोली नाकामा पठाउने तयारी गरिएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्