दिपक खत्री,सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भएको जेन–जी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सरकारको जिम्मेवारीमा रहेका व्यक्तिहरूले नै लुकाएको आरोप लगाएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा नेपाली कम्युनिष्ट पार्टी बाह्रबिसे नगर कमिटीले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले भदौ २४ गते भएको विध्वंसात्मक घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरे। उनले जेन–जी पुस्ताले उठाएका माग र आन्दोलनलाई बदनाम गर्ने गरी आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनले आन्दोलनका क्रममा भएका घटना, आगजनी, तोडफोड तथा अन्य विध्वंसका पछाडि को–को संलग्न थिए भन्ने विषय स्पष्ट हुनुपर्ने बताए। त्यसका लागि छानबिनबाट प्राप्त तथ्य र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।प्रचण्डले सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले नै छानबिन प्रतिवेदन लुकाएर घटनाको वास्तविकता बाहिर आउन नदिएको आरोप लगाए। उनले जेन–जी आन्दोलनमा सहभागी युवाहरूको भावना र उद्देश्यलाई अलग ढंगले बुझ्नुपर्ने धारणा राखे। गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। घटनाबारे सरकारले गठन गरेको जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। सभामा नेकपा सहसंयोजक माधव कुमार नेपाल, केन्द्रीय कार्यसंयोजन समितिका सदस्यहरू अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल लगायत केन्द्रीय नेताहरु माधव सापकोटा, युवराज दुलाल बागमती प्रदेश, जिल्ला तथा पालिका तहका नेता(कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । जिल्ला सल्लाहकार दिवंगत गंगादेवी पौडेल तथा गत २०८३ भाद्र १० गते रसुवा नाकामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा बाह्रबिसे नगरपालिका–८, मानेश्वारामा आयोजित श्रद्धाञ्जली सभामा नेताहरू उपस्थित भएका हुन्।दिवंगत गंगादेवी पौडेल बामती प्रदेशका आन्तरिक मामला तथा योजना मन्त्री सरल सहयात्री पौडेलकी आमा हुन् ।
प्रतिक्रिया दिनुहोस्