काठमाडौं | ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को दुईदिने कार्ययोजना बैठक जहरसिंहपौवामा सम्पन्न भएको छ । साउन २९ र ३० गते भएको बैठकमा ब्लोदानले आगामी दिनमा गर्ने काम र स्वयंसेवी रक्तदान अभियानलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरिएको थियो ।
ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा अध्यक्ष श्रेष्ठले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर अघि बढ्नुपर्ने विषयमा कार्यपत्र प्रस्तुत गरे । श्रेष्ठले स्वयंसेवी रक्तदानसम्बन्धी छुट्टै कानून तथा नीति-नियम बनाउन पहल गर्नुपर्ने बताए । उनले देशका विभिन्न रक्तसञ्चार सेवासँग समन्वय गर्दै अघि बढ्ने र रक्तसञ्चार सेवामा डिजिटल बोर्ड राख्न पहल गर्नुपर्ने पनि बताए ।

त्यस्तै, उपाध्यक्ष उज्वल के.सी.ले डोनर पिन, रनिङ शिल्ड तथा अन्य मापदण्डबारे कार्यपत्र प्रस्तुत गरे । ब्लोदानले हरेक वर्ष विशेषगरी विश्व रक्तदाता दिवसको अवसरमा स्वयंसेवी रक्तदातालाई डोनर पिन र रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थालाई रनिङ शिल्डबाट सम्मान गर्दै आएको भन्दै उनले अब त्यसलाई समयअनुसार परिवर्तन गर्नुपर्ने बताए ।
के.सी.ले रक्तदानमा योगदान पुर्याउने नयाँ क्षेत्र पहिचान गरी त्यसअनुसार सम्मान र प्रोत्साहनका कार्यक्रम अघि बढाउनुपर्ने बताए ।
महासचिव मचाकाजी महर्जनले ब्लोदानले गर्दै आएका कार्यक्रमलाई समयअनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताए । उनले स्वयंसेवी रक्तदानसम्बन्धी विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गराउन पहल गर्ने, जिल्ला शाखा तथा क्षेत्रीय र नगर समितिलाई सक्रिय बनाउने र नयाँ तरिकाबाट कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरे ।
बैठकमा प्रस्तुत कार्ययोजनामाथि उपस्थित पदाधिकारी तथा सदस्यहरूले आआफ्नो धारणा राख्दै सुझाव दिएका थिए । बैठकमा भएका छलफल तथा सुझावहरू केन्द्रीय सचिव शंकर महर्जन र सदस्य खेलनाथ सिग्देलले टिपोट गरेका थिए ।
दुईदिने बैठकमा आएका सुझाव र छलफलका आधारमा ब्लोदानले आगामी दिनमा स्वयंसेवी रक्तदान अभियानलाई थप व्यवस्थित बनाउँदै विभिन्न निकाय र रक्तसञ्चार सेवासँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्