सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख नियुक्तिको विषयले यतिबेला सामाजिक सञ्जालदेखि क्याम्पस परिसरसम्म तताएको छ । शैक्षिक संस्था ज्ञानको केन्द्र हो कि राजनीतिक भागबण्डाको थलो ? भन्ने प्रश्न फेरि एकपटक सतहमा छताछुल्ल भएको छ । नियुक्ति प्रक्रियामाथि उठेका प्रश्नहरूले पारदर्शिता, योग्यता र संस्थागत विश्वसनीयतामाथि गम्भीर बहस सिर्जना भने गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमावलीले क्याम्पस प्रमुख नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यता र खुला प्रतिस्पर्धात्मक प्रक्रियाको स्पष्ट व्यवस्था गरेको छ । तर, चौतारा बहुमुखी क्याम्पसमा भने ती मापदण्डलाई बेवास्ता गर्दै राजेन्द्रकुमार श्रेष्ठलाई क्याम्पस प्रमुख नियुक्त गरिएको आरोप सार्वजनिक रूपमा उठाइएको छ ।
क्याम्पसका निवर्तमान स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति अमृत श्रेष्ठलगायतले नियुक्ति प्रक्रियाको वैधानिकता, आवश्यक योग्यता र पारदर्शितामाथि प्रश्न उठाएका छन् । उनीहरूले खुला विज्ञापन नगरी प्रतिस्पर्धाबिना, योग्यताको मापदण्डविपरीत राजेन्द्रकुमार श्रेष्ठलाई प्रमुखका रूपमा नियुक्त गरिएकोप्रति आपत्ति र आक्रोश जनाएका हुन् ।
क्याम्पस सञ्चालन समिति अध्यक्ष इञ्जिनियर गम्भीरलाल श्रेष्ठमाथि आफ्नै राजनीतिक दलसँग निकट व्यक्तिलाई योग्यता नपुगे पनि जिम्मेवारी दिएको विद्यार्थी नेता श्रेष्ठले आरोप लगाएका छन् । ‘अयोग्य व्यक्तिलाई क्याम्पस प्रमुखजस्तो गरिमामय पदमा राजनीतिक भागबण्डाको माध्यम बनाइनु विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्नु हो,’ उनले भने ।
पहिले नियुक्ति, उधारोमा योग्यता
विवादलाई थप चर्काएको अर्को आरोप पनि बाहिरिएको छ । ‘दुई वर्षभित्र आवश्यक योग्यता पूरा गर्ने’ सहमतिका आधारमा नियुक्ति गरिएको चर्चा चल्न थालेपछि स्थानीयहरूले सञ्चालक समितिको उछितो काढ्न थालेका छन् ।
चर्चामा ल्याइएअनुसार नवनियुक्त क्याम्पस प्रमुख श्रेष्ठलाई दुई वर्षभित्र सो पदका लागि आवश्यक शैक्षिक प्रमाणपत्र बुझाउने शर्तमा नियुक्ति दिइएको हो । ‘यदि यो आरोप सत्य हो भने भविष्यमा योग्यता पूरा गर्ने वाचाका आधारमा आजै जिम्मेवारी दिन मिल्छ ?’ भन्ने प्रश्न उठाइएको छ । उदाहरण दिँदै स्थानीले भोलिका दिनमा चिकित्सक बन्ने विद्यार्थीलाई ‘दुई वर्षपछि एमबीबीएस पास गर्छु’ भन्दै अस्पतालको निर्देशक बनाउन पनि सकिने तर्क व्यंग्यका रूपमा सामाजिक सञ्जालमा उठाइएको छ ।
क्याम्पसको तर्क : बाध्यता र आर्थिक दूरावस्था
यसअघिका क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगालले छ महिनाअघि राजीनामा दिएपछि राजेन्द्रलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको थियो । त्यसपछि करिब एक महिनाअघि उनलाई स्थायी रूपमा क्याम्पस प्रमुख नियुक्त गरियो ।
क्याम्पस प्रशासनको दाबी अनुसार अनिश्चित र बढ्दो आर्थिक भारका कारण बाहिरबाट नयाँ क्याम्पस प्रमुख ल्याउन सम्भव नभएकाले मितव्ययिता, व्यवहारिकता र विगतको प्रचलनलाई आधार बनाएर यो निर्णय गरिएको हो।
यता विद्यार्थीहरू भने यस्ता तर्क अर्थहीन भएको बताउँछन्। ‘आर्थिक अभावले विश्वविद्यालयको नियमावली नै परिवर्तन गर्न खोज्नु नियमावलीकै धज्जी उडाउनु हो,’ पूर्व स्ववियु अध्यक्ष मिलन लामाले भने।
त्रिभुवन विश्वविद्यालयको शिक्षक नियुक्तिको सिफारिससम्बन्धी विनियम, २०७५ अनुसार शिक्षण सेवाको आन्तरिक प्रतियोगिताद्वारा नियुक्त हुने पदमा उम्मेदवार हुनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था परिच्छेद–५ को बुँदा नं. ९ मा उल्लेख छ । तर, नियुक्त राजेन्द्र श्रेष्ठले भने तृतीय श्रेणीमा उत्तीर्ण गरेको भन्ने आरोप व्यापक बनाइएको छ ।
क्याम्पसले श्रेष्ठको शैक्षिक योग्यता पनि नखुलाएकाले उक्त आरोप भाइरल बनेको हो । नियुक्ति प्रक्रिया पारदर्शी र योग्य व्यक्तिलाई मात्र क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने विद्यार्थीहरुको माग देखिन्छ ।
उनीहरूको मागबारे न क्याम्पस प्रशासन बोल्न सकेको छ, न सञ्चालक समिति नै। सार्वजनिक रूपमा उठाइएका आरोपहरू गलत भए क्याम्पस प्रशासन र सञ्चालक समितिले प्रमाणसहित आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।
जन आस्थाबाट
प्रतिक्रिया दिनुहोस्