साउन १३, चौतारा (सिन्धुपाल्चोक) । कुनै समय जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा काम गराउन आउने नागरिकहरूले ढिलासुस्ती र अनावश्यक दुःख व्यहोर्नुपरेको व्यापक गुनासो सुनिन्थ्यो ।

सार्वजनिक सेवा प्रवाहमा देखिने यस्ता झन्झट र नागरिकका असन्तुष्टिलाई सम्बोधन गर्दै कार्यालयले आफ्नो कार्यशैलीमा व्यापक सुधार ल्याएको छ । अहिले सिन्धुपाल्चोक प्रशासनले सेवा प्रवाहलाई चुस्त, दुरुस्त र छिटो छरितो बनाउने कार्यलाई तीव्रता दिएको छ ।
सिन्धुपाल्चोक छोटो अवधिमै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा भइरहने जिल्लाका रूपमा चिनिन्छ । तर, पछिल्लो समय प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जिम्मेवारी सम्हालेयता यहाँको सेवा प्रवाह नागरिकमैत्री र द्रुत गतिमा अघि बढेको छ । विगतमा नागरिकहरू फरक-फरक सेवा लिन फरक-फरक कोठामा धाउनुपर्ने बाध्यता थियो । अहिले भने सम्पूर्ण सेवा एकै स्थानबाट प्रवाह हुन थालेको छ ।

आवश्यक प्रमाण र प्रक्रिया पूरा गरेर आउने नागरिकले कुनै पनि सास्ती वा हैरानी खेप्न नपरोस् भनेर ‘एकीकृत सेवा प्रणाली’ अवलम्बन गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । ‘हामीले सुरुमै कागजात पेस गरेपछि टोकन दिने र टोकन नम्बर अनुसार पालैपालो सेवा लिने वातावरण बनाएका छौँ,’ प्रजिअ घिमिरेले भने, ‘नागरिकले फाइल बोकेर कोठा–कोठा धाउनुपर्दैन । कर्मचारी आफैँले प्रक्रिया अगाडि बढाउँछन् । कागजात नपुगेकाहरूको हकमा सुरुमै जानकारी गराएर थप प्रमाण ल्याउन आग्रह गरिन्छ ।’ एक वर्षको सेवा विवरण सार्वजनिकजिल्ला प्रशासन कार्यालयले सम्भवतः पहिलो पटक एक आर्थिक वर्षभरि प्रवाह गरेका सेवाहरूको वार्षिक सूची सञ्चारकर्मीमाझ सार्वजनिक गरेको छ ।

उक्त विवरण प्रस्तुत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी (बायोमेट्रिक तथा वितरण) र राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक तथा वितरण) को प्रगति विवरण सार्वजनिक गरेका थिए । निःशुल्क अनलाइन आवेदन र सहजकर्ताको व्यवस्थानागरिकको प्रशासनिक खर्च कम गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले एक जना सहजकर्ताको व्यवस्था गरेको छ । ती सहजकर्तामार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेखन र आवश्यक कागजातको फोटोकपी गर्ने सेवा निःशुल्क उपलब्ध गराइएको छ । यस सुविधाबाट हालसम्म ८ हजार ७ सय ७५ जना नागरिक लाभान्वित भइसकेका छन्, जसले गर्दा उनीहरू महँगो शुल्क तिर्नुपर्ने बाध्यताबाट जोगिएका छन् ।

गुणस्तरमा सरोकारवालाको ध्यानाकर्षणप्रशासनको यस सकारात्मक कदमप्रति नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले खुसी व्यक्त गरेका छन् । कार्यालयको सेवा प्रवाह नागरिकमैत्री बनेको प्रशंसा गर्दै उनले एउटा प्राविधिक समस्यातर्फ प्रजिअको ध्यानाकर्षण गराए । दंगालका अनुसार, नागरिकता प्रमाणपत्रमा प्रिन्ट चाँडै उड्ने र प्लास्टिकमा टाँसिने समस्याका कारण प्रतिलिपि लिनेको सङ्ख्या बढेकाले नागरिकताको भौतिक गुणस्तर सुधार्न आवश्यक रहेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएको विवरण अनुसार आ.व. २०८२÷०८३ मा चौतारा नगरपालिकाको सहयोगमा सञ्चालित निशुल्क नागरिक सेवामार्फत, राष्ट्रिय परिचयपत्र र पासपोर्टको अनलाइन फारम, कार्यालयको सेवासंग सम्वन्धित निवेदन र फाटोकपी सेवामा ८ हजार ७ सय ७५ जनाले सेवा पाएका छन् ।
सिन्धुज्वालाबाट
प्रतिक्रिया दिनुहोस्