२०८३ श्रावण १२

रक्त व्यवस्थापनमा राज्यको उदासीनता कहिलेसम्म ?

सन्दर्भ : राष्ट्रिय रक्त सञ्चार दिवस

  • रगत र रक्ततत्वको आपूर्ति सुनिश्चित गर्नु सरकारको दायित्व भए पनि स्वयंसेवी रक्तदाताबाट मात्र यो क्षेत्र धानिएको छ

जुन १४ विश्व रक्तदाता दिवस संसारभर एकसाथ मानाएपछि हामी आज राष्ट्रिय रक्त सञ्चार सेवाको ६०औँ वार्षिकोत्सव मनाउँदै छौँ । ६ दशकभन्दा लामो समय भइसके पनि यस विषयमा राज्य अझै उदासीन देखिन्छ । यो क्षेत्रमा स्वयंसेवी रक्तदाताको विकल्प छैन । आम स्वयंसेवी रक्तदाताले रक्तदानको मर्म र आवश्यकताप्रतिको समर्पणभावले मात्र यो सेवा सम्भव हुँदै आइरहेको छ । रक्त व्यवस्थापनमा राज्यले देखाएको गैरजिम्मेवारीले यो क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव नपर्ला भन्न सकिन्न ।

नीति र व्यवहारमा मेल हुन सकेन भने सेवा प्रदायक र सेवाग्राहीबिच उत्पन्न हुने नकारात्मक द्वन्द्वको प्रभावले समस्त रक्त व्यवस्थापनलाई नै दीर्घकालीन असर पार्न सक्छ । देशभित्र सञ्चालित रक्त व्यवस्थापन सही नीतिमा चलिरहेको छैन । रगत संकलनदेखि प्रयोगशाला प्रशोधन र वितरणसम्म आइपुग्दा देखिएका त्रुटिपूर्ण गतिविधि सच्याउन अति जरुरी छ । तर, सम्बन्धित निकाय बेवास्ता गरेर बसिरहेको अवस्था छ । रक्त व्यवस्थापनमा राज्यको यो स्तरको उदासीनता दुःखद छ ।

१२ साउन ०२३ देखि आजसम्म आइपुग्दा पूर्ण रूपमा पेसेबर रक्तदातालाई विस्थापित गराई स्वयंसेवी रक्तदाताबाट मात्र रक्त संकलन गरिँदै आएको छ । रक्त सञ्चार सेवारम्भको वर्ष दिनमा जम्मा १५७ युनिट रगत संकलन गरी सेवा प्रदान गरिएको थियो भने अहिले यो क्षेत्रमा लाखौँलाखको संख्यामा रगत संकलन गरी आवश्यक मात्रामा रगत र रक्ततत्वहरूको वितरण गरिन्छ ।

‘रगत र नगद’ कहिल्यै पनि आपसमा जोडिनु हुँदैन । तर, हाम्रो देशमा भने रगतलाई नगदसँग जोडिएको अवस्था छ । रगत परीक्षण शुल्क वा लागत खर्चका नाममै किन नहोस्, यो वा त्यो बहानामा आर्थिक चलखेल भइरहेकै छ । यसरी रक्तदाताले निःशुल्क दानमा दिएको रगत र त्यसबाट तयार पारिएका रक्ततत्व सेवाग्राहीसम्म पनि निःशुल्क नै उपलब्ध गराउनुपर्नेमा चर्को मूल्यमा बिक्रीवितरण भइरहेको छ । के यो राज्यको लाचारीको पराकाष्ठा होइन ?

स्वयंसेवी रक्तदाताबाट गरिने रक्तदानले लाखौँलाख मानिसको जीवन जोगिएको छ । यसो भन्दैमा जोखिमपूर्ण व्यवहार वा कुलतमा परेकाबाट गरिने रक्तदानले रक्तदानको मर्ममाथि नै प्रहार हुन जान्छ । तसर्थ, अहिलेको अवस्थामा नियमित रूपमा गरिने स्वेच्छिक अवैतनिक रक्तदाताबाट सुरक्षित रगत संकलन गर्न सकिनेमा विश्वास लिन सकिन्छ । सबैभन्दा सुरक्षित र स्वस्थ भनेकै कम जोखिममा रहेको स्वेच्छिक अवैतनिक रक्तदाताकै रगत हो । अबको समयमा रगत आपूर्तिमा स्वेच्छिक अवैतनिक रक्तदातालाई नै प्रोत्साहित गर्नुको विकल्प छैन । राज्यले यसतर्फ अविलम्ब ध्यान पुर्‍याउनु जरुरी छ । रक्त सञ्चार सेवालाई नेपाल सरकारले स्वास्थ्य सेवाको अति महत्वपूर्ण पाटोका रूपमा स्विकार्दै आएको भनिए पनि व्यवहारमा त्यो लागू भएको देखिन्न । आफ्ना नागरिकलाई आवश्यकताअनुरूप रगत र रक्ततत्वहरूको आपूर्ति सुनिश्चित गर्नु नेपाल सरकारको दायित्व हुनुपर्नेमा केवल स्वयंसेवी रक्तदाताबाट स्वस्फुर्त गरिएको रक्तदानले मात्र यो क्षेत्र धानिएको छ ।

नेपाल सरकारले राष्ट्रिय रक्त सञ्चार नीति र निर्देशिका जारी गरी व्यवस्थित गर्नुपर्नेमा झन् अस्तव्यस्त अवस्था सिर्जना गरिएको छ । निःशुल्क शब्दकै उपहास हुने गरी निजी क्षेत्रलाई समेत व्यापारिक प्रयोजनको मनसायबाट प्रवेश गर्न दिइएको अवस्था छ ।

देशको जेठो अस्पताल वीर अस्पतालको प्याथोलोजी विभागबाट सुरु गरिएको रक्त सञ्चार सेवा नेपाल रेडक्रस सोसाइटीबाट ‘लक्ष्मी ब्लड बैंकका नाममा सुरु भई हाल नेपाल रेडक्रस सोसाइटीअन्तर्गत देशका ७३ जिल्लाको १०५ स्थानबाट सेवा प्रवाह भइरहेको छ ।

२०५० सालमा राष्ट्रिय रक्त सञ्चार सेवा नीति पहिलोपटक तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको थियो । यसलाई दुईपटक संशोधनसमेत गरिसकिएको छ । ०७१ सालको नीतिले निजी क्षेत्रलाई पनि सहभागी गराउँदै स्वयंसेवी रक्तदाताको रगतलाई व्यापार गर्ने वस्तुका रूपमा प्रस्तुत गरिरहेको छ ।

यति लामो समयसम्म सेवा प्रदान गर्दै आएको अवस्थामा भएका कमी–कमजोरीलाई सुधार गर्न छाडेर झन् डावाडोलको स्थितिमा पुर्‍याइएको छ । अनि कसरी हुन्छ सुधार ? रक्त संकलन र प्राविधिक परीक्षणपश्चात् सेवाग्राहीलाई वितरण गर्ने जिम्मा केवल सरकारको मात्रै हो । विकल्पमा ७७ वटै जिल्लामा स्वयंसेवीको सञ्जाल विस्तारसँगै सेवामा संलग्न नेपाल रेडक्रस सोसाइटीको मात्र हुन सक्छ ।

नयाँ–नयाँ प्रविधिको विकास भइरहेको वर्तमान अवस्थामा हाम्रो देशको रक्त सञ्चार सेवामा समयानुसार नयाँ–नयाँ प्रविधि भिœयाउन सकिएको छैन । जसका कारण रक्तजन्य रोगहरूले एक व्यक्तिबाट अर्को व्यक्तिलाई सहजै संक्रमित नबनाउलान् भन्न सकिन्न । हामीले समयलाई पछ्याउन सक्यौँ भने मात्र समयसापेक्ष सेवा प्रदान गर्न सक्छौँ ।

स्वयंसेवी रक्तदाता आफूले दान गरेको आफ्नो शरीरको रगत गुणस्तरीय परीक्षणपश्चात् सेवाग्राहीलाई उपलब्ध गराउन सकेमा मात्र आफू पनि स्वस्थ रहेको स्वयंसेवी रक्तदाताले अनुभूति गर्न पाउँछन् । स्वयंसेवी रक्तदाताको संख्या र प्रविधिको विकास भएअनुसार सेवा प्रवाहमा भने सन्तोष लिने ठाउँ छैन । यसमा सरकारी निकायको हदैसम्मका कमी–कमजोरी उदांगिएको छ ।

(कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस्