२०८० चैत्र १६

पुतली बाजेका पदचापहरु

सुरेन्द्र नेपाल श्रेष्ठ –  पिटरले पाँच महिना अगाडी आफ्नो मामा नाता पर्ने कोलिन स्मिथलाइ  भेटेर आए पछि नेपाल र नेपालीका बारे सबै संग गरेका बखानहरू सुन्दा नेपाली हु भन्ने थप गर्ब गरेको छु। करिब पाँच बर्ष अगाडी काममा मेनेजरको रुपमा भेट भएका पिटरले शुरुमा नै तिमि कुन देशबाट आएको भनेर प्रश्न गरे। मैले नेपाल भने। सामान्यत गोराहरु गफिन थाले पछि मज्जाले नै कुरा गर्न थाल्छन। उनले यहि क्रममा आफ्नो नजिकको नाता पर्ने एकजना लामो समय देखि नेपालमा नै रहेको तर सम्पर्क नभएको बताए। थप कुरा हुदै जाँदा संयोगले मैले नेपालमा रहेका केहि विदेशीहरु बारे प्राप्त युट्युब भिडियोमा हेरेको पुतली बाजे पो उसको आफन्त रहेछ। उनीहरु बिचको नाता पहिल्याउन मलाइ धेरै मेहेनत गर्न पर्यो। शुरुमा त् कजन भनेकोले र उमेर पनि हाराहारिकै भएकोले काका मामाका छोराहरु दाजु भाइ होलान भन्ठाने।

मलाइ यो खासै खोजि नीति गर्न पर्ने बिषय लागेन।मेरो दाइ डाक्टर आनन्दसंग पिटरको पोखरामा भेट भएर फर्के पछि दाइले पटक पटक पिटर र कलिनको नाता के हो भन्ने जिज्ञासा राखेकोले उनलाई फेरि सोध्न बाध्य भइयो। उनले पनि कलम कापी लिएर बुझाउन थाल्यो।पिटरको आमा र कलिनको बाजे बज्यै एउटै, बाबुहरु दाजु भाइ रहेछन। उसले माइ ओन स्टेप कजन भनि रह्यो मेरो हिसाबमा उनको मामा पर्ने देखे। हामि बीच एउटा कुरामा सहमति भयो यी दुइ एकै पुस्ताका हैनन।म बेला बखत खाना बनाएर काममा सबैलाई खुवाउने पनि गर्दछु। फरक खाना सबैलाई मिठो लाग्ने नै भयो।नेपालमा निर्मल स्वामीले पिटरलाइ नेवारी रेस्टुरेन्टमा लगेर केहि खानाहरु चखाएका रहेछन।मैले दाइलाई पनि बाहिर हैन घरमा नै पारिबारिक माहोलमा खाना खुवाउन भनेको थिए। यहा आए पछि उसले मलाइ आज सम्म किन मम नखुवाएको पो भन्न थाल्यो। मैले मिठो लाग्यो त् भनेको मिठो मात्रै हैन सारै मिठो लागेको रहेछ। अब दुइ महिना पछि उनि कामबाट निवृत्त हुदैछन एक दिन सबैलाई मम पार्टी गर्दिन्छु भनेर चित्त बुझाएको छु।

कलिनलाइ नेपालमा पुतली बाजे भनेर बढी चिनिने रहेछ। जीवनका अधिकांश उमेर नेपालमा पाइने बिभिन्न प्रकारका पुतलीहरु सम्बन्धि अध्ययन अध्यापन गरेर बिताएका कलिन अन्तिम स्वाश पोखरामा नै लिने र पार्थिब शरीर जलाएर बाँकी रहेको खरानी सेती नदीमा बगाउन पाँउ भन्ने उसकोएक मात्र इक्ष्या रहेछ। इशाई धर्मका कट्टर अनुयायी भए पनि आफ्नो शरिर जलाएर धुँवा बनाउने निर्णय चाही उनले मरे पछि पनि किन उर्बर भुमि दुरुपयोग गर्ने भन्ने रहेछ।उनमा रहेको अर्को मुख्य इक्ष्या चाँही नेपाली भएर मर्न पाँउ भन्ने रहेछ। यसको लागि लामो समय सन् नब्बे देखि नै बिभिन्न प्रकारका प्रयासहरु पनि गरेका रहेछन। आफुले पढाएको बिद्यार्थी बाबुराम भट्टराई प्रधान मन्त्रि हुँदा आफ्नो माग अबश्य पनि पुरा हुने विश्वाशकासाथ् भेटघाट गरेर निबेदन पनि दिएका रहेछन। खै किन कसरि हो उनले नेपाली नागरिकता पाउन सकेका थिएनन। मलाइ यो कुरा थाहा भए पछि एक प्रकारको बेचैनी महशुश हुन् थाल्यो। हामि नेपाली लगायत विश्वका जो कोहि पनि यो देशमा आएर कानुनी रुपमा बसोबास गरेर आबश्यक कानुनी आधार देखाउन सके यहाको नागरिक हुन् पाउछन।

तर एक जना बेलायति जीबन भर नेपालमा बसेर नेपाली भएर मर्छु भन्न किन नपाइने ? कलिनले नेपालमा आफ्नो जीबन मात्र बिताएका छैनन नेपालको शैक्षिक इतिहासमा गण्डगी बोर्डिंग स्कुल देखि गोरखाको लुइँटेल स्कुल लगायत पृथ्बी नारायण ,काठमाण्डौ,  त्रिभुबन विश्व बिद्यालयमा समेत बहुमुल्य योगदान पुर्याएका छन्। नेपालको डाँडाकाँडा भिर पखेरा पुगेर पांच सय भन्दा बढी प्रजातिका पुतलीहरु संकलन गरेर छुट्टै संग्रहालय खोलेका छन्।  पुतलीको माध्यमबाट नेपाललाइ विश्व सामु परिचय गराएका छन्। तर उनले किन नेपाली हुन् पाएनन ? हामि नेपालको नागरिकता निरन्तरता हुनु पर्छ भनेर माग गरि रहेकाछौ तर एक जना व्यक्ति बेलायति नागरिकता त्याग गरेर नेपाली नागरिक बन्छु भन्दा त्रिपन्न बर्ष सम्म पनि किन पाउदैन? यो बिषयले मलाइ गिज्याइ रह्यो। त्यसैले मैले मन मनै केहि गर्नु पर्छ भनेर प्रयासहरु गरे।

मेरा मित्र गैर आबासिय नेपाली संघका पूर्व सल्लाहाकार चन्द्र बहादुर रोकाहाजीको बसोबास पोखरा भन्ने थाहा थियो। मैले सविस्तार कुरा राखे पछि कलिन संग नजिक रहेका र आबश्यक पर्दा सहयोग गर्ने सुरेन्द्र परियार संग सम्पर्क भयो। संयोगले त्यति बेला अर्का गैर आबासिय नेपाली संघ जापानका सक्रिय साथी कपिल देब थापा पनि नेपालमा नै रहेको जानकारी भयो। वहासंग कुरा भए पछि  म पोखरा छिट्टै जादैछु  कलिन संग भेट्छु, सबै कुरा बुझेर सम्पर्क गर्छु भन्नु भयो। तात्कालिन गृह मन्त्रि बादल मार्फत कुरा अगाडी बढाउन पाए यो काम त्यति असम्भब हुन्न भन्ने लागेर मित्र डा. प्रेम आले संग सम्पर्क गरे। त्यति बेला वहा पनि काठमाण्डौमा नै भएकोले सजिलो भयो। कपिल थापाजीलाइ गृह मन्त्रि सम्म पुग्ने माध्यम बने पछि यो कामले तिब्रता पायो। कपिल जी  केहि दिन पछाडी भाउजु सरस्वती थापा संग कलिनको बस्ने कटेरोमा पुगे पछि फोन गर्नु भयो। कलिनको अबस्था र बसाइ बारे सारै नमिठो अनुभब गर्नु भएको रहेछ।

नेपालको लागि त्यति धेरै काम गरेका अझ बेलायतबाट आएका मानिसको त्यो हालत देखेर उनको अन्तिम इक्ष्या जसरि भए पनि पुरा गर्ने अठोट लिएर खट्नु भयो। सुरेन्द्र परियारले उपलब्ध गराएको सबै कागज पत्र लिएर गृहमन्त्रीलाइ बुझाए पछि अंगिकृत नागरिकताको लागि केहि समय लाग्ने अलि बढी प्रक्रिया पुरा गर्न पर्ने तर कलिनको  स्वास्थ्य अबस्था त्यति बलियो नभएको कारण दौध धुप पनि गर्न सक्ने कुरा भएन। त्यसैले देशको लागि यति धेरै योगदान पुर्याएको व्यक्तिलाई सम्मान स्वरुप मानार्थ नागरिकता दिनु न्याय र तुरुन्तै हुने भएकोले मन्त्रि परिषद्को निर्णय अनुसार कलिन स्मिथ नेपाली हुन् सफल भएका थिए। नेपाल सरकारले प्रक्रिया पुरा गर्न स्थानीय रुपमा र  बेलायतको दुताबास मार्फत कलिन स्मिथको बारे बुझ्ने पत्राचार गर्यो। बेलायतको दुताबासबाट मलाइ सम्पर्क गरेको हुनाले मैले पिटरको इमेल ठेगाना उपलब्ध गरे पछि आबश्यक पत्राचार भयो। दुताबासले मागेको जानकारी उपलब्ध गराई सके पछि सम्पूर्ण प्रक्रिया पुरा गरि करिब चार महिना भित्र दुइ डिसेम्बर २०१९ मा उनले मानार्थ नागरिकता गृह मन्त्रालय पुगेर नै  प्राप्त गरेका थिए।

यस प्रक्रियामा बिभिन्न किसिमबाट धेरैको साथ् सहयोग मिलेको थियो। पोखरा १८ का तात्कालिन अधक्ष्य रण  बहादुर थापा , प्रजिअ चक्र बहादुर बुढा,सहायक प्रजिअ नबराज बराल ,गृह मन्त्रालय शाखा अधिकृत अरुण सापकोटा , कलिनका बिद्यार्थी बिष्णु देब पराइ र शुनिल उलकको सहयोग उल्लेख्य रह्यो। कलिन स्मिथले नागरिकता पाओस् भनी  वडा कार्यालयदेखि काठमाण्डौ गृहमन्त्रालयमा अंगीकृत नागरिकताका सबै कागजात पठाउने काम पोखरा निवासी श्री सुरेन्द्र परियारले गर्नु भएको थियो।वहाको साथमा मीन परियार सदैब सहयोगी बनि रहे। नागरिकता प्राप्तिका लागि  पृथ्वीनारायण क्याम्पस पोखरा, राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका आयोजना प्रमुख श्री राजकुमार गुरुङ, प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक श्री राजु आचार्य, तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीका स्वकीय सचिव श्री अर्जुन अधिकारीले गर्नु भएको सहयोग र भूमिका महत्वपुर्ण रह्यो।

यो बिषयमा थप चासो लिएर काम छिटो गराउन तात्कालिन गृह मन्त्री राम बहादुर थापा “बादल” का जीबन साथी सांसद नैनकला थापा शुरक्ष्या सलाहाकार इन्द्र  बहादुर राइ तथा डा.प्रेम आले  को भूमिका बिशेष थियो। यति बेला सम्म नेपालको सम्मानार्थ नागरिकता पाउने उनि तेश्रो बिदेशी हुन्। त्यस पछि सन् २०२० मा दक्षिण कोरियाका उम् होंग गिलले पाएका छन् भने यस  अगाडी सन् १९९५ मा नेपाललाई संसार सामु चिनाउने तथा नेपाल पुरा घुम्ने पहिलो बिदेशी डा टोनी हेगन र  पहिलो सगरमाथा आरोही एडमण्ड हिलारीलाइ सन् २००३ मा प्रदान गरिएको थियो।

अहिले पुतली बाजे नँया गाँउ चर्चमा जीवनका बाँकी दिनहरु बिताई रहेका छन। उमेर पनि धेरै भै सकेको तथा शारीरिक अस्वस्थताको कारण करिब चार महिना ग्रीन पाश्चर हस्पिटलमा उपचारमा रहेका थिए। उनि लामो समय देखि आफ्नै सहयोगी मीन परियारको रेखदेखमा आफ्नै सानो टहरोमा बस्दै आएका थिए। बिदेशी भएको कारण उनै  मीनको नाममा जग्गा खरिद गरि सानो बासस्थान बनाएका थिए। नजिकै मीनको परिबार पनि भएको हुदा भरथेग हुने नै भयो।पांच बर्ष अगाडी चन्द्र जी र म त्यहा पुग्दा कलिन आफ्ना दुइटा बिरालो संग सुति रहेका थिए। सकी नसकी उठेर टोपी लगाए नेपाली झण्डा सहित नेपाल लेखिएको टिशर्टमा थिए। पिटरको बारे कुरा उठाएँ  तर लामो समय भएकोले ठम्याउन सकेनन। आफ्नै दाजु चाही केहि वर्ष अगाडी छोरी संग बसाइ सरेर न्युजिल्याण्ड पुगेको बताएका थिए।

आफ्ना पुराना कामका प्रमाण स्वरुप केहि साना पुस्तकहरु,पुतलीको फोटो भएको केहि पोस्टकार्डहरु जिम्मा लगाए।सम्पर्कको लागि प्रयोग गर्ने ल्याप टप निकै पुरानो भएकोले इमेल पठाउन पनि नसकिएको कुरा बताएका थिए। यति लामो समय सम्म पनि नेपाली हुन् नपाएको र कसले बनाइ दिन्छ र ? भनेर हरेश खाइ सकेको भान उनको प्रश्तुतीमा झल्किन्थ्यो। हामि त्यहा केहि समय बसेर भारि मन सहित फर्केका थियौ। उनको अबस्था देख्दा जति सक्दॊ छिटो उसको इक्ष्या पुरा होश भन्ने लागेको थियो। बेलायत फर्के पछि पिटर लाइ सबै बताए पछि तुरुन्त एउटा ल्यापटप पठाउने ब्यबस्था भयो। दुइ जना बीच बेला बखत फोन पनि हुने गर्यो। पिटर एक पटक कलिन भेट्न नेपाल जाने योजना बनाउन थाल्यो तर कोभिद्को कारण रोकियो। अन्तत सन् २०२२ को अक्टोबर ७ देखि १६ सम्म नेपाल पुगेर आए ।कलिन र पिटर भेटेको त्यो तस्बिर देख्दा मलाइ एक प्रकारको स्वर्गीय आनन्द महशुश भएको थियो।

 आफु नेपाल पुगेर फर्के पछि कलिनले किन नेपाल बस्ने निर्णय गरे भन्ने सहज रुपमा महशुश गरेको पिटरको भनाइ रह्यो। प्राकृतिक रुपमा देश राम्रो हुनु एउटा बिषय हो तर त्यहाका मानिसहरुले विदेशीलाई देखाएको  त्यो आतिथ्य र सदभाब उनलाई अदभुत लाग्यो रे।ज कोहि पनि बिना कारण यसरि सहयोग गर्न किन अगाडी सर्छन भन्ने उसको प्रश्न थियो। जे होस् छोटो समयमा उनले नेपालको मिठो स्वाद बोकेर आएका छन्। उनको जीवनको एउटा थप रहर कलिनले गरेका कामहरु सके सम्म धेरै सामु पुस्तक मार्फत पुर्याउने रहनेछ। पुस्तकको बिमोचन गर्न फेरि एक पटक अलि लामो समय बस्ने गरि नेपाल जाने शुरमा छन्। संयोगबश कपिल देब थापा पनि नेपालमा नै भएको कारण एक दिनको खबरमा नै उपत्यकाका केहि ठाउहरु संगै घुम्ने मौका पनि मिल्यो। गत बर्ष  बेलायतबाट लान नसकेको एक झोला सामान बोकाएर पठाएकोले उक्त झोला लिने बहानामा राम प्रशाद कंडेलजीको नेपाली बाजा संग्रहालय हेर्ने अवसर पनि प्राप्त भयो।

त्यहि झोलामा भएको थोरै सामान पुर्याउन राम प्रशादजीले पिटरलाइ पनि संगै लैजाँदा  निलिमा दिदिले न्युरोडको गल्लीमा खुवाएको कफी र उसको श्रीमतीलाई पठाएको पश्मिनाको सलले त झन् तीन छक परियो भन्दै थियो।कलिन संग लामो समय सहकार्य गर्ने र संगै पुस्तक प्रकाशन गर्ने महेन्द्र सिङ्ग लिम्बुसँग गोदावरीमा बिताएको समय र उनले पुस्तकको लागि आबश्यक पुतलीका फोटोहरु उपलब्ध गराउने बचन बद्दता महत्वपुर्ण रह्यो। शुरुमा नै केहि दिन काठमाण्डौ गेस्ट हाउसमा बस्ने बन्दोबस्त मिलाएका रहेछन।पोखरामा केहि रात बस्ने होटल पनि उसैले खोजेका थिए। बेलायत फर्किनु अगाडिको एक रात सन् २०१९ मा यहाको  हाउस अफ लर्डसमा भएको कार्यक्रममा भेटेका अन्जान बगालेजीले हेरी रहेका पुरानो नाम चलेको हिमालयन होटलमा शुपथ मुल्यमा ब्यबस्था गरियो। त्यहाको आतिथ्यले झन् चकित खान पुगेका रहेछन।

उनलाई सबै भन्दा अचम्म चाही शहरमा यत्र तत्र भेटिने टेलिफोनको गुजिल्टिएको तारको पोल रहेछ। त्यहाका टेलिफोन इन्जिनियरहरु पक्कै पनि अति चलाख हुन् पर्छ भन्दै थियो। अर्को गजब चाही ट्याक्सी भनेर बोलाएको पठाओ मोटरब्याक देखेर छक्क परेछ। त्यो सवार शायद जीन्दगीमा कहिल्यै नभुल्ने बताएका थिए। यस कार्यमा पहिला देखि नै सक्रिय रहनु भएका सुरेन्द्र परियार तथा वहा संगै रहनु हुने मिन परियार अहिले पनि कलिनका सबै भन्दा नजिकका सहयोगी हुन्। यस पटक पिटरको  पोखरा भ्रमणको शुरु देखि अन्त्य सम्म आफ्नो अति व्यस्तता बीच पनि समय मिलाउनु हुने वहाहरु लगायत मेरो दाज्यु डाक्टर आनन्द श्रेष्ठ र परिवारलाई पिटरले सम्झी रहने छन्।  ।

सानै देखि पढाइमा बिशेषत: हिसाब र बिज्ञानमा अति तेज कलिन आफ्नो मामाको पुतली संकलन गर्ने शौख बाट प्रभावित भएका थिए। कार्ल मार्क्सको समाधि स्थल नजिकै हाइगेटमा सन् १९३६ मा जन्मेका कलिन स्मिथ सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका थिए । त्यति खेर उनि लिभरपुलबाट पानीजहाजमा भारत हुदै स्थलमार्ग नेपाल पुगेका थिए।

उनी मिसन मार्फत पोखरा, गोरखा र काठमाडौंमा उनले शिक्षण गरिरहँदा पुतलीबारे अनुसन्धान एवं संग्रह गर्थे।सन् १९७३ देखि त्रिभुवन विश्वविद्यालय काठमाडौंमा प्रकृति विज्ञान संग्रहालयको लागि स्मिथले एक दशक पुतली संग्रहको काम गरे। राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराले सन् १९८६ देखि व्यवस्थापन गर्दै आइरहेको अन्नपूर्ण प्राकृतिक विज्ञान संग्रहालयमा हाल ५८७ प्रजातिका पुतली रहेको छ भने नेपालमा ८५० प्रजातिका पुतलीहरू पाइन्छन भन्ने उहाँको अनुमान रहेको छ ।आफु पछि सबै काम गर्ने गरि उनले सुरेन्द्र परियारलाई तयार पारे। अहिने सुरेन्द्रले नै यो संग्रहालयको देखभाल गर्दैछन।

उनि पछिल्लो पटक बेलायत सन् २००६ मा आएका थिए। उनले आफ्नो आमा जीवित छउन्जेल सम्म नियमित रुपमा पत्र लेखेर पठाउने गर्दथे।पत्रमा उनले नेपाल, नेपाली र पुतली बारे बिभिन्न ढंगले बर्णन गरेको हुनु पर्दछ।आमाको मृत्यु पछि न्युजिल्याण्ड बसाइ सरेका दाइले ति सबै संग्रहहरु अहिले पिटरलाइ जिम्मा  लगाएका छन्। पिटरले कलिन बारे कसरि पुस्तक प्रकाशन गर्लान ? त्यो अबश्य पनि सबैको चासोको बिषय हुनेछ। आशा गरौ हाल ८७ बर्षीय कलिनले आफु बारे लेखेको पुस्तक देख्न पाउने छन्।उनको दिर्घायुको कामना।

प्रतिक्रिया दिनुहोस्