चौतारा | चौतारा साँगाचोकगढी नगरपालिका डिजिटल नेपालको अभियानलाई आत्मसात् गर्दै नदीजन्य पदार्थ (गिट्टी, बालुवा लगायत) को राजस्व संकलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने कार्यको सुरुवात गरेको छ ।
नगरपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको नदीजन्य पदार्थको राजस्व संकलनलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन चालु आर्थिक वर्षदेखि चारवटा राजस्व संकलन केन्द्रमा सूत्र प्रणाली मार्फत डिजिटल सेवा सञ्चालनमा ल्याइएको हो ।
यस कार्यका लागि नगरपालिकाले करिब ५ लाख रुपैयाँ बजेट विनियोजन गरि प्रत्येक राजस्व संकलन केन्द्रमा सीसीटीभी क्यामेरा, प्रिन्टर, इन्भर्टर तथा ब्याट्री जडान गरी डिजिटल प्रणालीमार्फत राजस्व संकलन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगर उपप्रमुख सीता थापाले प्रविधिको प्रयोगले नगरपालिकाको सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने बताइन् । उनले डिजिटल प्रणालीले राजस्व संकलन प्रक्रियालाई पारदर्शी बनाउनुका साथै सुशासन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । “प्रविधिमैत्री सेवा आजको आवश्यकता हो । यस प्रणालीले अनियमितता नियन्त्रण गर्दै नागरिक र नगरपालिकाबीचको विश्वास अझ बलियो बनाउनेछ,” उनले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले डिजिटल राजस्व प्रणालीले हरेक कारोबारलाई अभिलेखीकरण गर्ने भएकाले राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने बताए । उनका अनुसार सीसीटीभी निगरानी, डिजिटल रसिद र वास्तविक समयमै अभिलेख रहने व्यवस्थाले संकलन प्रक्रियालाई थप विश्वसनीय, पारदर्शी र उत्तरदायी बनाउनेछ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले यो कदम खोलालाई डिजिटल बनाउदै नगरपालिका भित्र सेवा प्रवाहमा सुधार र सुशासनको लागि प्रविधिको प्रयोगका लागि महत्त्वपूर्ण कदम रहेको बताए ।
नगरपालिकाले आगामी दिनमा अन्य सेवा प्रवाहलाई समेत क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै सूचना प्रविधिमैत्री स्थानीय सरकार निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्