सुरेश कसजू चौतारा। चौतारा साँगाचोकगढी नगरपालिकाको रोक्का टोलमा तीन वर्षदेखि क्रमागत रूपमा सञ्चालन हुँदै आएको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजना सम्पन्न भएपछि करिब १४० घरधुरीमा ‘एक घर, एक धारा’मार्फत स्वच्छ खानेपानी उपलब्ध हुने अपेक्षा गरिएको छ। नगरपालिकाका अनुसार ‘रोक्का टोल खानेपानी योजना’को लागत अनुमान २ करोड ३५ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको छ। निर्माण कम्पनीसँग १ करोड ५५ लाख ५७ हजार १ सय ९२ रुपैयाँमा सम्झौता भएको हो, जुन लागत अनुमानभन्दा करिब ३४ प्रतिशत कम हो। योजनाअन्तर्गत खानेपानी ट्याङ्की निर्माण, लिफ्ट पम्प खरिद तथा जडान, मुख्य तथा शाखा पाइपलाइन विस्तार र ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन भइरहेको छ। आयोजना सम्पन्न भएपछि वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीय बासिन्दाले नियमित रूपमा सुरक्षित खानेपानी पाउने नगरपालिकाको विश्वास छ। स्थानीयवासीका अनुसार सुख्खायाममा खानेपानीका लागि लामो दूरीसम्म पुग्नुपर्ने बाध्यता थियो। आयोजना सम्पन्न भएपछि दैनिक जीवन सहज हुने मात्र नभई सरसफाइ तथा जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। नगरपालिकाले खानेपानीलाई आधारभूत नागरिक अधिकारका रूपमा लिँदै विभिन्न वडामा खानेपानी पूर्वाधार विस्तार गरिरहेको जनाएको छ। रोक्का टोल आयोजना पनि सोही अभियानअन्तर्गतको महत्वपूर्ण योजना हो। प्राविधिकहरूका अनुसार आयोजनामा गुणस्तरीय सामग्री प्रयोग गरी दीर्घकालीन रूपमा सञ्चालन गर्न मिल्ने संरचना निर्माण भइरहेको छ। लिफ्ट प्रणालीमार्फत पानी वितरण गरिने भएकाले उच्च स्थानमा रहेका बस्तीसमेत लाभान्वित हुनेछन्। नगरपालिकाले निर्माण कार्य समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। आयोजना पूरा भएपछि सुरक्षित खानेपानीको पहुँच विस्तार हुनुका साथै स्थानीयको जीवनस्तर सुधारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्