२०८१ चैत्र ११
                           

गाउँलेको मायाले २५ वर्षदेखि अध्यक्ष

मेलम्ची । नौ महिनाको बाल्यावस्थामा पोलियो रोगले ग्रसित पासाङ तेम्बा लामा अहिले ५९ वर्षका भए । पोलियोका कारण खुट्टा लुला छन् । हिँडडुल गर्न कठिन पर्छ उनलाई । यद्यपि, काममा भने सधैँ जागरुक छन् ।

हेलम्बु गाउँपालिकाको मेलम्चीघ्याङ निवासी पासाङ तेम्बा समूदायका लागि उदाहरणीय व्यक्ति हुन् । उनी हालसम्म अविवाहित छन् । एक्लो जीवन बिताइरहेका लामा सामाजिक काममा भने सबैलाई प्रेरणा दिइरहेका छन् । हेलम्बुमा रहेको मेलम्ची घ्याङ माध्यमिक विद्यालय जिल्लाको एक नमूना विद्यालय हो । पासाङ तेम्बा शारीरिक रुपमा कमजोर भएपनि मानसिक रुपमा सक्षम भएकोले सबैलाई शिक्षा प्रदान गर्छन् । उनी २५ वर्षदेखि मेलम्ची घ्याङ माविको अध्यक्ष छन् ।

२०५१ बाट सुरु भएको विद्यालयको सम्पूर्ण व्यवस्थापन गर्दै आएका उनले ०५५ बाट औपचारिक रुपमै समुदायको समर्थनमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । ‘म बूढो भएँ अरुले नै जिम्मेवारी सम्हाले हुन्छ भनेर गुठीयारसँग पटकपटक कुरा राखेको हुँ । तर, स्थानीय दाजुभाइले मलाई छोडेनन्,’ लामाले भने, ‘अब चाहिँ विस्तारै जिम्मेवारी त्याग्छु ।’

विभिन्न दाता ल्याएर विद्यालयलाई नमूना बनाएकोले गाउँले दाजुभाइले सम्मानस्वरुप अध्यक्ष पद दिएको उनले सुनाए । बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख चिनिया लामाले विद्यालयको जग्गा गुठीको भएको भन्दै पटकपटक खारेज गर्न अदालतमा मुद्दा दिए पनि शिक्षा हासिल गर्ने पवित्र मन्दिर भएकोले सर्वोच्चबाट मुद्दा जितेको लामाले बताए । अहिले मेलम्ची घ्याङ मावि सामुदायिक, स्वायत्त र नमूना बनेको उनले प्रष्ट्याए ।

एक सय ६० घरधुरी आवद्ध मेलम्ची घ्याङ गुठीको कार्यबाहक अध्यक्षसमेत रहेका लामाले विद्यालयलाई जिल्लाभर चिनाएका हुन् । विद्यालयमा हाल चार सय विद्यार्थी अध्ययन गर्छन् । सिन्धुपाल्चोकबाहेक अन्य थुप्रै जिल्लाका विद्यार्थी पनि सो विद्यालयमा पढ्छन् । एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने मेलम्ची घ्याङ माविलाई यहाँसम्म ल्याउन अध्यक्ष लामा र प्रधानाध्यापक पूर्ण गौतमको योगदान रहेको छ । गौतम पनि २५ वर्षदेखि प्रधानाध्यापक छन् । हेलम्बुका कान्छाबाबु शेर्पा म्यानचेष्टर युनिभर्सिटीबाट सर्जिकल डाक्टर भएर अमेरिकामै काम गर्छन । धेरै जना डाक्टर र इन्जिनियर भइसकेका छन् । उनीहरुले यही विद्यालयबाट एसएलसी गरेका हुन् ।

विद्यालयलाई कम्युनिटी एक्सन नेपाल युके, केटाकेटी संस्था बेल्जियम र कारितास नेपाल स्वीट्जरल्याण्डले सहयोग गरिरहेको छ । लामाकै पहलमा दाताहरु विद्यालय आएका थिए ।

लामा आफै पनि शिक्षक

विद्यालय व्यवस्थापनको अध्यक्ष लामाले बृद्धबृद्धा पढ्ने विद्यालय पनि स्थापना गरेका छन् । जहाँ उनी आफै बिहान १० देखि दिउँसो चार बजेसम्म पढाउँछन् । खुट्टा लुला भएकोले उनी बसेरै पढाउँछन् ।

बृद्धबृद्धालाई पढाउन उनले शान्ति विद्यालय स्थापना गरेका छन् । शान्ति विद्यालयमा ४० वर्ष कटेका दुई सय पढ्न आउँछन् । अन्य चार शिक्षकलाई पनि उनले शान्ति विद्यालयमा नियुक्त गरेका छन् । सिन्धुपाल्चोकको हेलम्बुमा एक र बौद्धको जोरपाटीमा तीन शिक्षकले बृद्धबृद्धालाई पढाउँछन् । ०५९ मा स्थापना भएको शान्ति विद्यालयमा गुम्बा शिक्षा प्रदान गरिन्छ । ‘मानव आचरणसम्बन्धी बुद्ध शिक्षा प्रदान गरिन्छ,’ लामाले भने । नेपाली र तिब्बती भाषामा पढाइ हुने गरेको छ । हालसम्म एक लाख बृद्धबृद्धालाई शिक्षा प्रदान गरेर प्रमाणपत्र दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्