चौतारा। चौतारा साँगाचोकगढी नगरपालिकाले धार्मिक तथा ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोड्ने उद्देश्यसहित गौरती–भिमेश्वर क्षेत्रको पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। करिब २० लाख रुपैयाँ लागत अनुमान गरिएको यो योजना अन्तर्गत पर्यटक आकर्षित गर्ने विभिन्न संरचना निर्माण भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार ‘पर्यटन क्षेत्र प्रवर्द्धनका लागि पुरानो बजार गौरती–भिमेश्वर क्षेत्र पूर्वाधार निर्माण’ शीर्षकको योजनाको लागत अनुमान १९ लाख ९९ हजार ३९५ रुपैयाँ रहेको छ। निर्माण कम्पनीसँग १५ लाख ७८ हजार ६८९ रुपैयाँमा सम्झौता भएको हो, जुन लागत अनुमानभन्दा २१ प्रतिशत कम हो। योजनाअन्तर्गत गौरती–भिमेश्वर क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउन विभिन्न अक्षर (साइनेज), प्लम वाल तथा सुरक्षा रेलिङ निर्माण गरिएको छ। यी संरचनाले क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै पर्यटकको आवागमनलाई सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ। नगरपालिकाले पछिल्ला वर्षहरूमा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोड्दै स्थानीय आर्थिक गतिविधि बढाउने नीति लिएको छ। सोही नीतिअनुसार गौरती–भिमेश्वर क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले यो योजना अघि बढाइएको हो। स्थानीयवासीका अनुसार पूर्वाधार निर्माणपछि क्षेत्रको स्वरूप परिवर्तन हुँदै गएको छ। व्यवस्थित संरचना निर्माणसँगै धार्मिक भ्रमणमा आउने श्रद्धालु तथा आन्तरिक पर्यटकलाई सहज हुने विश्वास गरिएको छ। नगरपालिकाका प्राविधिकहरूका अनुसार निर्माण कार्य गुणस्तरीय रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि पुरानो बजार क्षेत्रको आकर्षण बढ्ने, धार्मिक पर्यटन प्रवर्द्धन हुने तथा स्थानीय व्यवसायले समेत प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ। नगरपालिकाले आगामी दिनमा गौरती–भिमेश्वर क्षेत्रलाई थप व्यवस्थित बनाउन सूचना बोर्ड, विश्रामस्थल, पदमार्ग र अन्य पर्यटनमैत्री पूर्वाधार विस्तार गर्ने योजना समेत अघि बढाएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्