२०८३ असार ८

लगातार आर्थिक जटिलताले चोैतारा मिनी रंगशाला परियोजना अल्झिँदै

चौतारा, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जिल्ला सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रंगशालाको बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल नेतृत्वको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको छ ।
मन्त्री नेपालसँगै मन्त्रालयका सचिव, सामाजिक विकास कार्यालयका प्रमुख तथा अन्य सरोकारवाला अधिकारीहरू सहभागी टोलीले रंगशालाको निर्माण प्रगति, बाँकी रहेका कार्य, निर्माणका क्रममा देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरेको थियो ।
२०७६ सालमा निर्माण प्रारम्भ भएको उक्त मिनी रंगशालाको प्रारम्भिक ठेक्का सुनकोशी गिरी जेभी कन्स्ट्रक्सन, सातदोबाटो-ललितपुरले प्राप्त गरेको थियो । निर्धारित अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि दुई पटकसम्म म्याद थप गरिए पनि अपेक्षित प्रगति हासिल नभएपछि मुख्य कम्पनी सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले २०८१ साल जेठ महिनादेखि निर्माण कार्यको जिम्मेवारी सम्हाल्दै कामलाई अघि बढाएको हो ।


निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला मन्त्रिपरिषद्को १३औँ संशोधनपछि म्याद थपको व्यवस्था नहुँदा गत असोज महिनादेखि काम प्रभावित भएको थियो । पछि सार्वजनिक खरिद नियमावलीको १४औँ संशोधनमार्फत विशेष व्यवस्था अनुसार म्याद थप गरिएसँगै निर्माण कार्य पुनः सञ्चालनमा आएको हो ।
निर्माण व्यवसायी तथा सुनकोशी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि जे.बी. लिम्बूका अनुसार प्रदेश सरकारबाट मूल्य समायोजन बापतको रकम प्राप्त हुन ढिलाइ हुँदा फ्लडलाइट जडान लगायतका केही अन्तिम चरणको कार्य प्रभावित भएका छन् । उनले कम्पनीले तीव्र गतिमा निर्माण कार्य अघि बढाइरहेको भए पनि भुक्तानी प्रक्रियामा देखिएको जटिलताले परियोजना सम्पन्न गर्न चुनौती थपिएको बताए ।


अनुगमनका क्रममा मन्त्री नेपालले खेल पूर्वाधार विकास प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइन् । उनले देखिएका समस्या समाधानका लागि मन्त्रालय आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिबद्ध रहेको बताइन् ।
“यो रंगशाला सिन्धुपाल्चोकका खेलाडीहरूको मात्र नभई समग्र जिल्लाको खेलकुद विकाससँग जोडिएको महत्वपूर्ण परियोजना हो । बाँकी कामलाई तीव्रता दिई छिटो सम्पन्न गर्न आवश्यक सहयोग र समन्वय प्रदेश सरकारका तर्फबाट हुनेछ,” मन्त्री नेपालको भनाइ थियो ।
लामो समयदेखि आधुनिक खेल पूर्वाधारको प्रतीक्षामा रहेका स्थानीय खेलाडी तथा खेलप्रेमीहरूले रंगशाला निर्माण सम्पन्न भएसँगै जिल्लामा खेल गतिविधि विस्तार हुने र राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्