चौतारा, सिन्धुपाल्चोक। सिन्धु कला मन्दिरको आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा बालबालिकाहरूमा रहेको सांगीतिक प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले नगरस्तरीय गायन प्रतियोगिता सम्पन्न भएको छ ।

नगरभित्रका माध्यमिक विद्यालयहरूमध्ये १४ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा इर्खु माध्यमिक विद्यालयकी सुनिता तामाङ प्रथम स्थान हासिल गर्न सफल भइन् । त्यसैगरी, दिनेश रामजी बहुप्राविधिक शिक्षालयकी जयन्ती नेपाल दोस्रो स्थानमा रहिन् । कडा प्रतिस्पर्धा र उत्कृष्ट गायन प्रस्तुति दिँदै गोल्मादेवी माध्यमिक विद्यालयका अर्पण तामाङ र सेतीदेवी माध्यमिक विद्यालय, स्याउलेकी क्रष्टिना मगर समान अंक प्राप्त गर्दै संयुक्त रूपमा तृतीय स्थान हासिल गर्न सफल भए ।

प्रतियोगितामा लोकप्रिय गायक रूपक डोटेल को विशेष सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चक र मनोरञ्जनपूर्ण बनाएको थियो । साथै स्थानीय कलाकारहरूको विविध सांगीतिक प्रस्तुतिले कार्यक्रमको आकर्षण अझ बढाएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका-५ का वडा सदस्य रामबहादुर घलेले बालबालिकाहरूमा लुकेर रहेका प्रतिभालाई उजागर गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताउँदै कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

त्यसैगरी, नगर उपप्रमुख सीता थापा ले बालबालिकाहरूको प्रतिभा पहिचान र विकासका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै शिक्षासँगै सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिमा सहभागिता बढाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गरिन् ।कृष्ण रत्नगंगा माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय कला-साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमले बाल गायक,गायिकाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने सशक्त मञ्च प्रदान गरेको आयोजकको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्