२०८३ जेष्ठ २३

पाँचपोखरीमा सांसद दुलालको जनसंवाद: पाँचपोखरी (मेलम्ची तिपेनी भोतांग) सडकलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

तिपेनी/ प्रतिनिधिसभा सदस्य माननीय युवराज दुलाल “शरद”ले पाँचपोखरी थाङपाल गाउँपालिकाका विभिन्न वडामा पुगी मतदातासँग धन्यवाद तथा जनसंवाद कार्यक्रम सञ्चालन गरेका छन्। उक्त कार्यक्रममा दुलालले स्थानीय बासिन्दासंग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझावहरू संकलन गरे।

बागमती प्रदेशकै कम विकसित ग्रामीण पालिकामध्येको पाँचपोखरी थाङपालमा सडक पहुँचको अभाव प्रमुख चुनौतीका रूपमा स्थापित छ। जनसंवादमा सहभागी स्थानीयवासीले यातायात सुविधाको अभावले स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा प्रत्यक्ष प्रतिकूल असर परिरहेको बताएका थिए।

स्थानीयको गुनासोप्रति प्रतिक्रिया दिँदै सांसद दुलालले पाँचपोखरी (मेलम्ची तिपेनी भोतांग)सडकलाई क्षेत्रको विकासको आधारभूत पूर्वाधारका रूपमा अघि बढाइएको जानकारी दिए। करिब ३० करोड रुपैयाँ लागत अनुमान रहेको उक्त सडकको निर्माण आफ्नो पहलमा प्रारम्भ भएको स्मरण गराउँदै उनले निर्माण कार्यलाई थप तीव्रता दिई निर्धारित समय सिमा भित्र सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे।

“पाँचपोखरीको विकासको ढोका सडकबाटै खुल्छ,” उनले भने।

निर्वाचनका क्रममा व्यक्त गरिएका प्रतिबद्धताहरूको स्मरण गराउँदै दुलालले पाँचपोखरी क्षेत्रलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजना पुनः दोहोर्‍याए। “यहाँको प्राकृतिक सौन्दर्य अपार छ, तर सडक पहुँचबिना पर्यटन विकास सम्भव छैन। त्यसैले पहिलो प्राथमिकता सडक नै हो,” उनले स्पष्ट पारे।

स्थानीय बासिन्दाले सडक निर्माण पूर्णता पश्चात् पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारीका अवसरहरू उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा व्यक्त गरेका छन्। कार्यक्रमका क्रममा उठेका विषयवस्तुहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयनमा लैजाने आफ्नो प्रतिबद्धता दुलालले दोहोर्‍याए।

प्रतिक्रिया दिनुहोस्