सिन्धुपाल्चोक — विगतमा पटक–पटक विपद्को मार खेप्दै आएको सिन्धुपाल्चोकमा यसपटक “विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड लाई व्यवहारमै उतार्ने उद्देश्यसहित स्थानीय तहका जनप्रतिनिधि । र कर्मचारीहरूले तयारीलाई थप मजबुत बनाउन जोड दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुँदै विपद् आउनुअघि नै आवश्यक पूर्वतयारी, स्रोत व्यवस्थापन र समन्वयलाई प्रभावकारी बनाउने विषयमा खुला छलफल गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रका उपसचिव निमेशराज गौतमले विपद् व्यवस्थापन केवल घटनापछि गरिने प्रतिक्रिया मात्र नभई, जोखिम पहिचान र पूर्वतयारीकै आधारमा प्रभावकारी बन्ने बताउँदै जोखिम नक्सांकन, खोज तथा उद्धार प्रणाली र राहत वितरणको वैज्ञानिक व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए ।अन्तरक्रियामा सहभागी जनप्रतिनिधि र पालिकाका कर्मचारीहरूले व्यवहारिक समस्या र चुनौतीहरू प्रस्तुत गर्दै विपद् पूर्वतयारीसम्बन्धी तालिम अझ व्यावहारिक र स्थानीय आवश्यकतामुखी हुनुपर्ने धारणा राखे । साथै, पुनर्निर्माणका लागि उपलब्ध गराइने अनुदानमा ढिलाइ हुँदा प्रभावित समुदाय थप समस्यामा पर्ने उल्लेख गर्दै अनुदान प्रक्रिया छिटो र सहज बनाउन माग गरेका थिए ।

उनीहरूले आगामी वर्षका लागि आवश्यक राहत सामग्री समयमै खरिद तथा भण्डारण गर्नुपर्ने, स्थानीय तहको क्षमताअनुसार स्रोतसाधन सुनिश्चित गर्नुपर्ने र विपद् व्यवस्थापनमा सबै तहबीच समन्वय अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
सिन्धुपाल्चोकजस्तो जोखिमयुक्त जिल्लामा यस्ता अन्तरक्रियाले नीति निर्माणलाई व्यवहारमा जोड्ने र विपद्को क्षति न्यूनीकरणमा ठोस सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्